(Thursday , 16 April,2026)

भ्याट छुट खारेज हुँदा गलैँचा उद्योगी मर्कामा

mountainejournal.com

mountainejournal.com

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत गलैँचा उद्योगमा दिदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरको  छुट हटाउँदा गलैँचा उद्योग मर्कामा परेका छन् । २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि नै यस उद्योगले भ्याट छुट प्राप्त गर्दै आएको थियो । आगामी आवको बजेटमार्फत मुल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गरी सरकारले उद्योगलाई दिए उक्त सूचीबाट हटाएको छ । यो सँगै बजेट घोषणाकै दिनदेखि तयारी गलैँचामा १३ प्रतिशत कर कार्यान्वयन सुरु भइसकेको छ ।

सरकारले गलैंँचा उद्योग दिएको सुविधा खारेज गर्दा २ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैँचा उद्योग संकटमा पर्ने भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।उच्च मूल्य अभिवृद्धि र स्वदेशी जनशक्ति प्रयोग हुने भएकोले विगतदेखि नै यो क्षेत्रले राज्यको संरक्षण प्राप्त गर्दै आएको थियो अर्कोतर्फ, नेपालको स्रोतबाट नेपालमै उत्पादन भइ निकासी हुँदै आएका वस्तुमा अरु छुटपछिको आयमा लाग्ने करमा अतिरिक्त ५० प्रतिशत छुट हुने व्यवस्था पनि यसपटकको बजेटले हटाइदिएको छ । 

यो व्यवस्था हुँदा गलैँचा उद्योग नै सबैभन्दा बढी लाभान्वित हुँदै आएको थियो । तर, आयकर ऐनको उक्त दफा संशोधन गर्दै सरकारले उत्पादनमूलक उद्योगको हकमा उक्त सुविधा हटाइदिएको छ । यसको सट्टा सफ्टवेयर प्रोग्रामिङ जस्ता सेवा निर्यातबाट हुने आम्दानीमा यो सुविधा थप गरेको छ . नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष ई. तेन्जिङ शेर्पा आर्थिक ऐनको यी व्यवस्थाहरुले लागत र प्रक्रियाको दृष्टिकोणबाट व्यवसायीलाई असर पुग्ने बताउँछन् ।

भ्याटमा दर्ता नभएका घरेलु तथा साना उद्योगहरु त यही कारण बन्द हुनुपर्ने अवस्थामा पुग्ने उनको भनाइ छ । यो क्षेत्रमा अहिले पनि ५० प्रतिशत भन्दा बढी व्यवसायी घरेलु तथा साना उद्योग अन्तर्गतका छन् । उपत्यका बाहिरका विभिन्न ग्रामीण भेगमा रहेर उनीहरुले गलैँचा उत्पादनसम्बन्धी काम गर्दै आएका छन् । खासगरी विपन्न क्षेत्रका महिला, दलित, अपांगहरु समेत यो क्षेत्रमा आवद्ध भइ काम गरिरहेका छन् । यी उत्पादनहरुमा भ्याट लाग्दा बिलबिजकको झन्झट  अध्यक्ष शेर्पा बताउँछन् ।

‘गलैँचा उत्पादन हुन एउटै वस्तु ४÷५ पटक काठमाडौंदेखि गाउँ आवतजावत गर्नुपर्छ । भ्याट लगाउँदा प्रत्येक ढुवानीमा बिलबिजक खोजिन्छ, यी सबै प्रक्रिया पूरा गर्न उनीहरुले सक्नुहुन्न,’ अध्यक्ष शेर्पा भने , ‘भ्याट लगाएर सबैलाई करको दायरामा ल्याउनु राम्रै कुरा हो ।  तर यसले उद्योग नै संकटमा पर्ने अवस्थामा राज्यले सच्याउनुपर्छ ।’५० लाखभन्दा कम कारोबार हुने उत्पादनमूलक उद्योगको हकमा सरकारले भ्याटमा दर्ता अनिवार्य गरेको छैन । तर, त्यसरी भ्याटमा दर्ता नहुने कम्पनीले कच्चा पदार्थ खरिदमा तिरेको भ्याट फिर्ता नपाउने भएकोले उनीहरुको लागत १३ प्रतिशतले बढ्ने अवस्था छ । 

यसले ठूला व्यवसायीसँग साना व्यवसायीको प्रतिस्पर्धी क्षमता स्वतः कम हुने अवस्था रहेको शेर्पाको भनाइ छ । यसबाट विपन्न र अत्यावश्यक वर्गले रोजगारीको अवसर गुमाउन सक्ने अवस्था रहेको शेर्पा बताउँछन् ।  सरकारले गलैँचा उद्योगलाई दिने  १२ अर्ब भ्याट छुट खारेज गर्दा सरकारको आम्दानी नबढन् उनले बताए । निर्यातजन्य उद्योगमा मूल्य अभिवृद्धि कर फिर्ता गर्ने व्यवस्थाका कारण यस्तो कर व्यवसायीलाई फिर्ता गर्नै पर्ने हुन्छ । 
त्यसैले यसले झन्झट मात्रै निम्त्याउने संघका अध्यक्ष शेर्पाको भनाइ छ । तर, सरकारले समयमै कर फिर्ता नगर्ने प्रवृत्ति रहेकोले व्यवसायीले लामो समय लगानी होल्ड गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

‘भ्याट फिर्ता गर्नुपर्ने भएकोले सरकारले उठाएको रकम दायित्वमै जाने हो, यसलाई आम्दानी देखाएर सरकारले खर्च गर्न पाउने होइन,’ अध्यक्ष शेर्पा भन्छन्, ‘तर, यसका लागि व्यवसायीले चाहिँ लगानी गर्नुपर्छ । सरकारले भ्याट छुट गर्ने भने पनि कहिले गर्ने टुंगो नभएकोले थप लगानी गर्नैपर्छ । त्यसैले यो प्रावधानले कसैको फाइदा गर्दैन ।’आफूले यसबारे सम्बन्धित निकायमा पटकपटक भने पनि सकारात्मक जवाफ नपाएको भन्दै व्यवसायीहरु चिन्तित छन् ।

उनीहरुले अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव, अर्थ मन्त्रालयका राजश्व महाशाखा प्रमुख तथा आन्तरिक राजश्व विभागका महानिर्देशकसँग छलफल गरिसकेका छन् । तर, सकारात्मक जवाफ पाउन नसकेको उनीहरुको गुनासो छ ।

अध्यक्ष शर्पाका अनुसार अहिले गलैँचा उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब २ लाख श्रमिकले रोजगारी पाइरहेको संघको अनुमान छ । ७० प्रतिशत भन्दा धेरै मूल्य अभिवृद्धि हुँदै आएको यो क्षेत्रले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै नेपालले १० अर्ब ६२ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात गरेको थियो । निर्यात अघिल्लो आर्थिक वर्षको भन्दा ३३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षमा यस्तो वृद्धि २५ प्रतिशतको हाराहारीमा रहेको अध्यक्ष शेर्पा बताउँछन् ।

कच्चा पदार्थको लागत र ढुवानी र श्रमिकको ज्यालादर महँगो भएका कारण अहिले नेपाली गलैँचा उद्योग भारत तथा पाकिस्तानको बजारभन्दा करिब ३० प्रतिशत भन्दा महँगो लागतमा उत्पादन भइरहेको संघका प्रमुख कार्यकारी अधिकृत अमृत गुरुङको भनाइ छ । भूपरिवेष्टित र अति कम विकसित राष्ट्र भएका कारण नेपाली गलैँचाले कर छुट प्राप्त गरेकोले अहिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छ । यस्तो अवस्थामा भ्याट र आयकर छुट खारेजीले ठूलो असर  गन्ने उनको बताए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal