(Sunday , 19 April,2026)

चार्ल्स शोभराजलाई नेपाल प्रवेशमा प्रतिबन्ध, आजै फ्रान्स पठाइने

mountainejournal.com

mountainejournal.com

काठमाडौं । करिब २  दशकदेखि केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्कासन गरेको छ  । गृहमन्त्रालयले उनलाई आज साँझ फ्रान्स पठाउने तयारी गरेको छ ।  उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी  गृहमन्त्रालयले निष्कासन गरेको हो । 

अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार शोभराजलाई विसं २०८९ सम्म नेपाल आउन नपाउने गरी उनको देश फ्रान्स पठाउने निर्णय गरेको हो । गृहको यो निर्णयसँगै शोभराज शुक्रबार नै फ्रान्स पठाइने टुंगो लागेको हो ।


त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीले समन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको छ ।

बुधबार सर्वोच्च अदालतले शोभराजलाई जेलमुक्त गर्न निर्देशन दिएको थियो ।  सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो  ।  
उनलाई अहिले कागजी प्रक्रियाका लागि अध्यागमन विभागमा राखिएको छ ।  कागजी प्रक्रिया पूरा भएपछि अध्यागन विभागले उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट निस्कासन गर्नेछ । 


२ जनाको हत्या आरोपमा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो ।  शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 
२०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो । 

कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले २०७५ मंसिर २५ गते बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए ।  उनले आफूले ७० वर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गरेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal