(Thursday , 21 May,2026)

प्रधानमन्त्रीको साथले डीडीसी उत्पादनको बिक्री ३ सय प्रतिशतसम्म बढ्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बिक्री अचानक बढेको छ ।

डीडीसीको उत्पादन याक चिज खाँदै गरेको फोटो प्रधानमन्त्री बालेन शाहले शनिबार सामाजिक सञ्जालमा पोष्ट गरेपछि डीडीसीका उत्पादनको बिक्री बढेको हो । प्रधानमन्त्री शाहले चिज खाएको फोटो सामाजिक सञ्चालमा राखेपछि डीडीसीको बिक्री २ देखि ३ सय प्रतिशतले बढेको संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको सक्रियता र सञ्चारमाध्यममा आएका समाचारका कारण डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण एकै पटक उच्चदरले बढेको छ । शनिबारयता डीडीसीका बिक्री काउन्टरहरुमा २ सयदेखि ३ सय प्रतिशतसम्म बिक्री बढेको दाबी उनको छ । पाण्डेका अनुसार पहिले एउटा काउन्टरबाट दैनिक ५० प्याकेटमात्र दूध बिक्री हुने गरेकोमा अहिले सोही काउन्टरबाट २ सय प्याकेटसम्म बिक्री हुन थालेको छ ।

विगतमा व्यवस्थापकीय कमजोरी र थपिँदै गएको वित्तीय भारका कारण संस्थान हाल करिब २ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । संस्थानको यो ओरालो यात्रालाई रोकेर पुनः व्यावसायिक सफलतातर्फ लैजान नयाँ कार्ययोजनाका साथ काम अघि बढाएको उनले बताए ।
महाप्रबन्धक पाण्डेका अनुसार गत आर्थिक वर्षमा मात्रै संस्थानले करिब ४० करोड रुपैयाँ घाटा बेहोरेको छ । उनका अनुसार सबैभन्दा जटिल समस्या भनेको दुग्ध उत्पादक किसानहरूको भुक्तानी हो । ‘हाल संस्थानले ४ महिनाको करिब ५० करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ । विगतका कमजोरीले गर्दा अहिले असहज अवस्था आएको हो, तर यसलाई सुधार्नु हाम्रो दायित्व हो,’ पाण्डेले कारोबारसँग भने ।

उनका अनुसार हाल डीडीसीले देशभरबाट दैनिक करिब ८० देखि ९० हजार लिटर दूध संकलन गरी प्रशोधन र बिक्री गर्दै आएको छ । बीचमा संकलनको परिमाण केही घटेको भए पनि आगामी असार मसान्तसम्ममा यसलाई बढाएर दैनिक १ लाख लिटर पुर्‍याउने लक्ष्य राखिएको महाप्रबन्धक डा. पाण्डेले जानकारी दिए । उनका अनुसार डीडीसीसँग अहिले ४ सय ५० टन धुलो दूध र ३ सय टन बटर मौज्दात छ । यसैगरी, ७ देखि ८ टन पनीर स्टकमा छ ।

बजारमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न डीडीसीले अब प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमा आमूल परिवर्तन गर्ने योजना बनाएको उनले बताए । पुराना भइसकेका मेसिनरी र भौतिक संरचनालाई परिवर्तन गरी गुणस्तरमा कुनै सम्झौता नगर्ने महाप्रबन्धक पाण्डेको भनाइ छ । संस्थानको आर्थिक भार कम गर्ने योजना अनुसार कर्मचारीहरुले पाउँदै आएको दूध र दहीको अतिरिक्त सुविधा जेठ १ देखि पूर्ण रूपमा कटौती गरिएको छ । यो निर्णयबाट संस्थानलाई वार्षिक ३ करोड रुपैयाँ बचत हुने पाण्डेले जानकारी दिए ।

बजार पहुँच बढाउन डीडीसीले आगामी असार मसान्तभित्र देशभर ५० वटा नयाँ बिक्री काउन्टर थप्ने तयारी गरेको छ । उनका अनुसार यी काउन्टरहरू विभिन्न कर्पोरेट हाउस र सरकारी निकायहरूसँगको समन्वयमा सञ्चालन गरिने छन् । स्थानीय तह र ठूला व्यावसायिक संस्थाहरूसँग मिलेर डीडीसीका उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्‍याउन नयाँ ‘सप्लाई चेन’ निर्माण गर्ने तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीज्यूको यो सहयोगबाट हामी अहिले निकै उत्साहित छौं । उपभोक्ताको विश्वास र शुभचिन्तकहरुको साथले डीडीसीलाई फेरि प्रतिस्पर्धात्मक र सबल संस्था बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं,’ महाप्रबन्धक पाण्डेले भने । अब ऋण लिएरै भए पनि पूर्वाधार सुधार गर्ने र किसानको विश्वास जित्ने बाटोमा संस्थान अघि बढेको उनको भनाइ छ । काराेबारबाट सभार 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal