(Sunday , 15 March,2026)

ग्यास आपुर्ति असहज हुँदा आजदेखि आधा सिलिण्डर बिक्रि

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।नेपाल आयल निगमले आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास बेच्ने भएको छ । उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भण्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो । 

निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको छ । प्रतिसिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्रीवितरण गर्ने निर्णय पनि गरिएको निगमले जनाएको छ । यसअघि प्रतिसिलिन्डर १४.२ केजी हुन्थ्यो । यसको मूल्य १ हजार ९ सय १० रुपैयाँ पर्थ्यो ।

‘नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

तर निगमले भने जस्तो पश्चिम एसियामा युद्ध जारी भएपछि नेपालमा ग्यास भण्डारणको प्रवृत्ति बढ्दै गएको भने होइन । दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको उच्च माग देखिएको समेत विज्ञप्तिमा उल्लेख छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअगावै पनि पेट्रोल पम्पमा लाइन बस्ने क्रम सुरु भइसकेको थियो ।

आमनिर्वाचनमा सीमा नाका बन्द हुने र मूल्यवृद्धि हुने डरले उपभोक्ताले ग्यास ‘स्टक’ गर्न थालेका थिए । अहिले पनि सोही प्रवृत्ति दोहोरिएको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट बताउँछन् । ‘पहिला निर्वाचनका समयमा मूल्य बढ्छ भन्ने डरले स्टक गर्न थालियो, अहिले पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी राख्न थाले,’ उनले भने ।

उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न ७.१ केजीको ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरिएको निगमको भनाइ छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ ।

निगमले देशभरका ६० ग्यास उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराइरहेको छ । अहिले मासिक रूपमा भारतबाट ५० हजार ३ सय टन ग्यास आउने गरेको छ । अघिपछि दैनिक औसतमा ९५ बुलेट (ग्यास बोक्ने ट्यांकर) भारतबाट आउने गर्थे । निर्वाचनअघि निर्वाचनलाई नै दृष्टिगत गर्दै दिनहुँ औसतमा १ सय १२ बुलेट आइरहेका थिए । अहिले १ सय ५ देखि १ सय १० वटासम्म बुलेट आउने गरेका छन् ।

भारतले अहिलेसम्म नियमित रूपमै ग्यास दिइरहेको भट्टको दाबी छ । भारतमै पनि पश्चिम एसियाको द्वन्द्वका कारण ग्यासको मूल्य बढेको र केही स्थानमा अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत सरकारले ग्यासको प्रशोधन बढाउन र आन्तरिक वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल प्रशोधन गर्ने कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन र अतिरिक्त उत्पादनलाई घरेलु (देशभित्र) प्रयोगमा लगाउन निर्देशन दिएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal