काठमाडौँ । गत २३ भदौको आन्दोलन र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको झन्डै साढे ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । साढे २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा गत सातासम्म साढे ४ अर्ब रुपैयाँ बराबर भुक्तानी भएकाे हाे ।
यही १७ मंसिरसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।
यो रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । भुक्तानी रकम कुल दाबीको करिब १८.७० प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय वटा दाबी परेका छन् ।
गत सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । यो बिमामा ७ सय १० वटा दाबीमा १९ अर्ब ८८ लाखको माग दाबी परेको छ ।सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।
ठेकेदार तथा इन्जिनियरिङ बिमामा ६ करोड ८१ लाख, पारवहन बिमामा ६६ लाख र अन्य बिमामा ४९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।
प्रतिक्रिया