काठमाडौँ — भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा बिहीबारसम्म १२ करोड ७ लाख रुपैयाँ संकलन भएको छ ।
सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । सोही क्रममा बुधबारसम्म कोषमा ११ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ ।
बिहीबार दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । यससँगै व्यक्ति र संस्था गरेर कोषमा करिब १२ करोड ७ लाख रुपैयाँ बराबर सहयोग संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कोषमा हालसम्म सहयोग गर्नेहरूमा संस्था कम र व्यक्ति धेरै रहेका छन् । रकमका आधारमा सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्म संकलन भएको छ भने एक दर्जनभन्दा बढी व्यक्तिबाट एक रुपैयाँ प्राप्त भएको स्रोतले जनाएको छ ।
गत २३ र २४ मा तोडफोड, लुटपाट र आगजनीका क्रममा साढे ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले औंल्याएको छ ।
प्रदर्शनमा २ हजार १ सय ६८ निकाय एवं संस्था प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये २ हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ । त्यो क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाा बराबर छ ।
प्रदर्शनमा १२ हजार ६ सय ५९ सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । कुल क्षतिमध्ये सरकारी एवं सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख, निजी क्षेत्रको ३३ अर्ब ५४ करोड ८७ लाख, सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिक्रिया