काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले रुपन्देहीको रोहिणीमा निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हस्तान्तरण गरेको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित इन्धन डिपोलाई रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा निर्माण गर्न नयाँ आधुनिक इन्धन डिपो विस्तुत परियोजना प्रतिवेदन बुधबार कन्सल्टेन्सी सेवा विभागले निगमलाई हस्तान्तरण गरेको हो ।
परियोजना प्रतिवदेन अनुसार २५ बिघा क्षेत्रफलमा निर्माण गर्न नयाँ आधुनिक इन्धन डिपो निर्माण गर्न पाँच अर्ब ७९ करोड ३० लाख (कर वाहेक) लागतमा लाग्ने जनाएको छ । निगमका अनुसार हाल भलबारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ । यसले त्यहाँको माग अनुसार एक हप्तालाई पनि धान्न पुग्दैन ।
परियोजना प्रतिवेदन अनुसार पाँच अर्ब ७९ करोड ३० लाख रुपैयाँ लागतमा नयाँ बन्ने डिपोमा ४५०० किलोलिटर क्षमताका तीनवटा डिजेलको भर्टिकल ट्यांक २ हजार १ सय किलोलिटर क्षमताका २ वटा तथा ७६० किलोलिटर क्षमताको पेट्रोल ट्याकं र ७६ किलोलिटरमा ३ वटा मट्टितेलका भर्टिकल ट्यांक रहनेछन् । यो समेत गरी डिजेल १३ हजार ५ सय किलोलिटर र पेट्रोल ४ हजार ९६० किलोलिटर र मट्टितेल २ सय २८ किलोलिटर भण्डारण क्षमता बन्नेछ ।
हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो वरिपरी साँघुरो, घनाबस्ती र पछिल्लो समय पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा नयाँ आधुनिक इन्धन डिपो निर्माण गर्ने परियोजना अघि सारेको नेपाल आयल निगम सिनामंगल हवाई इन्धन डिपोका प्रमुख तथा भण्डारण क्षमता अभिबृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । हाल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड भन्द पनि बाहिर रहेकाले ठुलो जोखिममा रहेको हुँदाले पनि नयाँ डिपो निर्माण गर्न अति आवश्यक भएको उनको भनाइ छ ।
प्रमुख यादवका अनुुसार हाल सञ्चालनमा भलबारी डिपोको सबैभन्दा ठुलो चुनौती सुरक्षाको छ । बुटवल भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घना बस्तीको बिचमा अवस्थित भएकाले यहाँबाट पेट्रोलियम जस्तो अति प्रज्वलनशील पदार्थको दैनिक कारोबार गर्नु अत्यन्तै जोखिमपूर्ण अवस्था छ । यो ठाउँमा दूई पटक आगो पनि लगानी सकेको हो । सुरक्षाको ठुलो जोखिम हुँदा स्थानीयवासीले लामो समयदेखि डिपोलाई सुरक्षित र फराकिलो स्थानमा सार्न निरन्तर खबरदारी र बिरोध गर्दै आएको प्रमुख यादवले जानकारी दिए ।
भलबारी इन्धन डिपो सुरक्षाको ठुलो जोखिम हुँदा सक्दो नयाँ नयाँ आधुनिक इन्धन डिपो निर्माण तीन वर्ष भित्र नै सक्ने गरी परियोजनाको कामलाई तीब्रगतमा अघि बढाउने उनले जानकारी दिए । उनले परियोजनाका लागि छिट्टै बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिए । उनका अनुसार डिपो निर्माण परियोजना इपिसी ओडलमा निर्माण हुनेछ । परियोजना निर्माण गर्ने समय सिमा भन्दा बढी समय लागेको लागत स्वयम ठेकेदारले व्यहोर्नु पर्नेछ ।
काठमाडौँ विश्वविद्यालयका पेट्रोलियम विज्ञ एबम् निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तार गर्ने अवस्था नरहेकाले उक्त डिपो स्थान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार भलबारीमा दुई÷तीन दिनको माग धान्ने भण्डारण छ, अहिले अमलेखगञ्जबाट भैरहवा इन्धन ढुवानी हुँदै आएको छ ।
केही कारणले राजमार्ग अवरुद्ध भएको अवस्थामा लुम्बिनी प्रदेशको आपूर्ति शृङ्खलामा प्रभाव पर्ने सक्छ । त्यसकारण पनि भण्डारण क्षमता विस्तार गर्न नयाँ डिपो निर्माण गर्ने अति आवश्यक रहेको समेत जानकारी दिए । निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माणका लागि डिपिआर तयार गर्न गत मंसिरमा काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको थियो ।
डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ बिधा पर्ती जग्गा निगमको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढेको निगमले जनाएको छ । जग्गा प्रवेश गर्ने मुलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनिजग्गा प्राप्ती ऐन, ०३४ अनुसार प्राप्ती गर्न प्रकृया थालनी भइसकेको छ । यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने प्रकृया अघि बढेको छ ।
उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ भने पर्ती जग्गा भोगचलन गरीरहनु भएका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गरेको निमगले जनाएको छ ।
प्रतिक्रिया