काठमाडौं । निरन्तर ओरालो लागेको सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार गत असोज ३१ मा प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भई तल झरेको सुन फेरि उकालो लागेको हो ।
असोज ३१ पछि निरन्तर ओरालो लाग्दै कात्तिक १२ गतेपछि फेरि सुनको मूल्य निरन्तर उकालो लागेको महासंघको तथ्यांक छ । असोज ३१ मा २ लाख ५८ हजारमा कारोबार भएको सुन कात्तिक १२ मा आइपुग्दा २ लाख ३६ हजार ३ सय रुपैयाँमा झरेको थियो । पछिल्लो समय फेरि निरन्तर उकालो लाग्दै मंसिर २७ गते २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार १२ दिनमा प्रतितोला २१ हजार ७ सय घटेको सुनको पछिल्लो साढे एक महिनामा २० हजार ३ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय भू–राजनीतिका कारण विश्व बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पुगेको व्यवसायीको भनाइ छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्य अमेरिकामा डोनाल्ड ट्रम्पको भन्सार नीतिका कारण विश्वमा आर्थिक द्वन्द्व बढ्नुका साथै भू–राजनीतिक द्वन्द्व बढ्दै गएकाले सुनको मूल्य फेरि उकालो लागेको बताउँछन् । उनका अनुसार ट्रम्पको भन्सार नीतिले धेरै मुलुकलाई समस्या पारेको छ । यी सबैका कारण विश्वभर नै लगानीका क्षेत्र खुम्चिएका छन् । यस्तोमा धेरै व्यक्ति र मुलुकका लागि सुन लगानी योग्य वस्तु बनेको छ । अर्कोतर्फ अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर घटाउँदै ल्याएको छ । त्यसकारण पनि पछिल्लो समय सुनको मूल्य बढ्दै गएको व्यवसायी शाक्यको भनाइ छ । उनले भने, ‘डलरको भाउ पनि घटिरहेको छ । यसकारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् ।’
यस्तै, विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले पनि सुन खरिद गर्ने प्रवृत्ति बढेकाले भाउ बढ्दै गएको छ । शाक्यका अनुसार विभिन्न अर्थशात्री, व्यवसायीहरुले २०२६ डिसेम्बरसम्म प्रतिऔंस ५ हजार अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् । प्रतिऔंस ५ हजार अमेरिकी डलर पुग्यो भने नेपाली बजारमा प्रतितोला ३ लाख रुपैयाँ पुग्ने अनुमान रहेको सुन व्यवसायी शाक्यको भनाइ छ । भू–राजनीतिका कारण विश्व अर्थतन्त्र नै अस्थिर हुँदा विश्वका लगानीकर्ता उत्पादन क्षेत्र छोडेर सुनमा लगानी गर्न थालेका कारण विश्व बजारमा सुनको माग बढेर मूल्य पनि उकालो लाग्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनचाँदीको मूल्य वृद्धि हुँदै गएको हुँदा सुनको मूल्य कति पुग्छ भनेर अनुमान गर्न नसक्ने अवस्था रहेको उनले बताए । अन्तर्राष्ट्रिय बजारको पछिल्लो अवस्थालाई हेर्दा सुनको मूल्य अझै उकालो लाग्ने अनुमान रहेको शाक्यले बताए । उनका अनुसार अहिले अर्थविद्हरुले सुनको मूल्य प्रतिऔंस ५ हजार डलर पुग्ने अनुमान गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा पर्ने गर्छ ।
निरन्तर सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा सुनको कारोबार सन्तोषजनक नरहेको व्यवसायी बताउँछन् । व्यवसायी शाक्यका अनुसार विगतमा सिजनको समयमा दैनिक ३५ देखि ४० किलो बिक्री हुने सुन अहिले २० किलो समेत बिक्री हुन मुस्कल छ ।
प्रतिक्रिया