(Monday , 04 May,2026)

राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक

१० वर्षमा कृषि खेती गरिएको जमिन तीन लाख सात हजार २२९ हेक्टर घट्याे

संवाददाता

संवाददाता

काठमाडौं ।  पछिल्लो १० वर्षमा कृषि खेती गरिएको जमिन तीन लाख सात हजार २२९ हेक्टर घटेको छ । तर, कृषक परिवार संख्या भने दुई लाख ९९ हजार ६९६ ले बढेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार कृषि खेती गरेको जमिन घटेका बेला परिवार संख्या उल्टै बढेको देखिएको हो । नेपालमा कृषि गरिएको जमिन २२ लाख १८ हजार ४१० हेक्टरमा झरेको छ । २०६८ को कृषि गणनाले २५ लाख २५ हजार ६३९ हेक्टर जमिनमा खेती गरिएको देखाएको थियो । पछिल्लो १० वर्षमा खेती गरिएको जमिन ३ लाख ७ हजार २२९ हेक्टर कम हो ।

यस्तै, २०६८ को तथ्यांकमा कृषिमा संलग्न परिवारको संख्या ३८ लाख ३१ हजार ९३ थियो । २०७८ मा यो संख्या ४१ लाख ३० हजार ७८९ पुगेको छ । पछिल्लो १० वर्षमा कृषि पेसामा थप २ लाख ९९ हजार ६९६ परिवार जोडिएका छन् ।

यो कृषि गणनाअनुसार देशभरका जम्मा घर–परिवारमध्ये ६२ प्रतिशत परिवार कृषि पेसामा रहेको पाइएको छ । अघिल्लो कृषि गणनाले कृषक परिवार ७१ प्रतिशत देखाएको थियो । यो गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषि गणना २०६८ मा यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४१७ र ३.२ थियो ।

सरकारले २०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको छ । २०७८ चैत १ देखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरिएको थियो । यी कार्यालयले २०७९ वैशाख ६ देखि जेठ १९ सम्म कृषि गणनाको स्थलगत तथ्यांक संकलन गरेका थिए । यो सातौं राष्ट्रिय कृषि गणना हो ।

तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यले ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ कृषि गणना भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम रायाका अनुसार विगतमा जिल्ला स्तरसम्मका कृषि तथ्यांकमात्र प्रकाशन हुन्थ्यो । यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्यांक संकलन गरी प्रकाशन गरिएको हो ।

वैज्ञानिक विधिबाट ३ लाख ३० हजार १ सय १२ कृषक परिवार छनोट गरी प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छी सम्बन्धी विस्तृत विवरण लिइएको थियो । यसका लागि ५ हजार एक सय ५० गणक, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतसहित करिब ७ हजार २ सय कर्मचारी प्रत्यक्ष र परोक्ष रुपमा परिचालित भएको प्रमुख रायाले जानकारी दिए । उनका अनुसार तथ्यांक संकलनमा मूलतः कागजी प्रश्नावली प्रयोग गरिएको थियो भने काठमाडौं, ललितपुर र भक्तपुरमा प्रविधिमा आधारित ट्याब्लेटको प्रयोग गरी तथ्यांक संकलन गरिएको थियो ।

कृषि गणनामा मूलतः संरचनागत तथ्यांक जस्तै– स्थायी र अस्थायी बाली लगाएको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाइको अवस्था, कृषि औजार र सामग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न पशुपन्छीको संख्या, गैरआवासीय भवनको प्रयोग, कृषि कामदारसम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरीपालन, पुष्प खेतीजस्ता सहायक कृषि क्रियाकलाप सम्बन्धी विवरणलाई समेटिएको छ ।

यसरी नै समयानुकूल विषयवस्तु कृषि ऋण, बीमा र अनुदानको अवस्था, कृषिमा वातावरणीय पक्ष, खाद्यान्नको पर्याप्तता, कृषि बजारसम्मको पहुँच आदिजस्ता विषयसमेत समेटेर तथ्यांक संकलन गरिएको छ । यो कृषि गणनाअनुसार कृषक परिवारले १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा पाएका छन् । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशतमा सिँचाइ सुविधा उपयोग भएको छ । तर, अघिल्लो कृषि गणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशतमात्र थियो । यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनामा यो ६५ प्रतिशत थियो ।

कृषि गणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७ हेक्टर, मकैको क्षेत्रफल ५ लाख ५९ हजार ९०९ हेक्टर र गहुँको क्षेत्रफल ६ लाख ५४ हजार १९४ हेक्टर हुन आएको देखिन्छ । अन्य बालीहरूमा कोसेदाल ९१ लाख ९९ हजार ८४४ हेक्टर, तेल बाली १ लाख ८० हजार १४१ हेक्टर, तरकारी बाली ९१ लाख सात हजार ७३३.८ हेक्टर, कन्दमुल बाली एक लाख चार हजार ७३७ हेक्टर, मसला बाली ९५ हजार ८९३ हेक्टर र नगदे बाली ४ लाख ४६ हजार ०९३ हेक्टर रहेको पाइएको छ ।
स्थायी बालीतर्फ बगैंचाको रुपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७८१ हेक्टर, केरा ७ हजार ८९८ हेक्टर, सुन्तला ६ हजार ५४५ हेक्टर, कागती २ हजार ८०६ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८० हेक्टर देखिएको छ ।

पशुपन्छीतर्फ गाईगोरुको संख्या करिब ४६ लाख, राँगाभैंसी २९ लाख, बाख्रा-खसी-बोका-च्यांग्रा १ करोड ४२ लाख, सँगुर-बंगुर-बँदेल १४ लाख र कुखुराको संख्या करिब ४ करोड ५१ लाख हुन पुगेको देखिएको छ ।

कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने अहिले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको छ । यसैगरी ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीको कुल क्षेत्रफल १० हजार ३८३ हेक्टर रहेको छ ।
कृषि गणना २०७८ अनुसार १७ हजार ५५४ कृषक परिवारले च्याउ खेती गरेका छन् । १ लाख ९६ हजार ८५४ कृषक परिवारले ५ लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ ।

१ लाख ८२ हजार ४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेका मध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९६२ (८४.४ प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन् । ३ लाख ८ हजार ५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएका मध्ये सबैभन्दा बढी १ लाख ४२ हजार ५७६ (४६.२ प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन् । यो गणनाअनुसार ९७ हजार १७४ कृषक परिवारले ४ हजार ६५९ हेक्टर जग्गामा हरितगृह टनेल पद्धतिबाट खेती गरेको पाइएको छ ।

कृषि गणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९ प्रतिशत महिला थिए भने अहिले पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको बढेर ३२.४ प्रतिशत हुन पुगेको छ । ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य देखिएको छ । अघिल्लो गणनामा यो प्रतिशत ८३.१ थियो ।

४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् । अघिल्लो कृषि गणनामा यो प्रतिशत ४० थियो । यो कृषि गणनाको प्राप्त नतिजाअनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १ करोड ९४ लाख ४७ हजार ९५५ रहेको छ । यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९ लाख चार हजार १३० (५०.९ प्रतिशत) र पुरुष ९५ लाख ४३ हजार ८२५ (४९.१ प्रतिशत) छन् ।

यो गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य रहेको देखाएको छ । अघिल्लो गणनामा यो प्रतिशत ८३.१ थियो । ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन र क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली ६ प्रतिशत र पशुपालन ३ प्रतिशत रहेको देखिन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal