(Sunday , 15 March,2026)

बामदेव गौतमकी बहिनी जग्गा भाडामा लिएर खेती गर्छिन्

mountainejournal.com

mountainejournal.com

 राजनीति गरेरै ७० वर्ष उमेर पार गरेका बामदेव गौतम अहिले एमाले एकताको पहल गर्छु भनेर बसेका छन् । उपप्रधानमन्त्री भइसकेका गौतम एमालेको उपाध्यक्ष हुन् भने उनकी श्रीमती तुलसा गौतम अहिले समानुपातिक सांसद छिन् । उनकी बहिनी माया गौतम केसी पनि कुनै समय बामदेव गौतम संगै भुमिगत राजनीतिमा सक्रिय थिइन् । पञ्चायतकालमा कम्युनिष्ट जोगाउन भुमिगत राजनीति सुरु गरेकी मायाले अन्य नेताहरुले झैं ०४६ को परिवर्तनपछि राजनीतिलाई नै करिअर बनाउन सकिनन् । अहिले उनी अन्यको जग्गा भाडामा लिएर खेतीपाती गर्दै आएकी छिन् ।

मायाकै भनाई अनुसार उनी बाल्यकालदेखि नै प्रकृतिप्रेमी थिइन् । उनलाई प्रकृतिसँग रमाउन मन पथ्र्याे । कम्युनिष्ट पार्टीमा लागेर भूमिगत राजनीति गरेकी मायाको अखिल नेपाल किसान महासंघ स्थापना गर्नमा अहं भुमिका छ । प्रङ्गारिक कृषि उत्पादन अभियान नेपाल, राष्ट्रिय महिला किसान सन्जाल नेपाल र प्राकृतिक मानव केन्द्रित अभियानको समेत नेतृत्व गरेकी छिन् । भूमिगत राजनीतिकै क्रममा २०३९ सालमा पार्टीका शीर्ष नेताहरुको सल्लाहमा अन्तरजातिय विवाह गरेकी गरिन् ।

‘म ब्राह्राणकी छोरी । श्रीमान क्षेत्री थिए । त्यही कारण परिवारले हाम्रो सम्बन्धलाई स्वीकारेन ।’ उनले भनिन् ‘पार्टीले विवाह त गरिदिए अन्तरजातीय भएकाले श्रीमानको घरपरिवारबाट साथ सहयोग केही पनि पाइनँ ।’ तीन सन्तान जन्माएकी माया बडो कष्टका साथ सन्तान हुर्काएको बताउछिन् । प्युठानमा जन्मिएकी मायाले कास्कीका युवासंग विवाह गरेकी थिइन् । सन्तानको आमा भइसक्दा समेत घरपरिवारले बेवास्ता गरेपछि निकै सास्ती भोगिन् । धन्न माइतीले साथ दिएकाले केही सहज भयो ।

तीन सन्तानको पालन पोषण गर्नुपर्ने वाध्यता, घरपरिवारको बेवास्ता । उनको स्थितीवारे जानकार थिए उनका बुबा । छोरीको दुःख सहन नसकेर उनका बुवाले ०४५ सालमा भात खाने खेत बेचेर ५० हजार रुपैयाँ दिए । बुबाले ५० हजार दिएपछि श्रीमानको घर छोडेर पोखरामा कोठा भाडा लिएर बस्न थालिन् । राजनीति गर्दाताकका उनका साथीभाइहरु सम्पर्कमै थिए । बुबाले दिएको ५० हजार लगानी गरेर पोखरामा जमिन भाडामा लिएर कृषि व्यवसाय सुरु गरिन् ।

उनको तरकारी बारीमा काक्रो, सिमी, खुर्सनी, गोल्भेडा लहलह छ अहिले । उनको मुख्य खेती गोलभेडा हो । हप्ता दिनमा आफ्नाे बारीबाट ५ सय देखि ७ सय केजी गोलभेडा बल्खु स्थित तरकारी बजारमा जाने गरेको बताइन्

सुरुमा ३ हजार कुखुराबाट कृषि व्यवसाय सुरु गरेकी थिइन् । कुखुराबाट ठिकै भैरहेको थियो । गाई पालन गरिन् र गाईबाट राम्रो आम्दानी भएपछि तरकारी खेती सुरु गरिन् । व्यवसाय संगै राजनीतिक यात्रा पनि जारी थियो । बालबच्चा हुर्कदै थिए । कृषि व्यवसाय फष्टाउदो । एकखालको रमाईलो थियो । २०५८ सालमा निकै बिरामी परिन् । उनको भनाई अनुसार उनी यस्तो विरामी परिन् झण्डैले मरिनन् । त्यो आपतको वेला पोखराका उद्योगपति हरि पाण्डेले गरेको सहयोग कहिल्यै बिर्सन्नन् । ‘म बिरामी भएर इन्तु न चिन्तु थिएँ हरि पाण्डेले दिल्लीबाट औषधी किनेर ल्याएर दिनु भयो ।’ उनले भनिन् ।

अरुलाई दुःख सुखमा जीवनसाथीले साथ दिएको देखेकी माया आफ्नो श्रीमानबाट भने कहिल्यै माया नपाएको बताउछिन् । ‘म बिरामी भएर नाजुक अवस्थामा थिएँ । कृषि व्यवसाय पनि गतिलो थिएन । पैसा पनि सकिसकेको थियो । त्यो अवस्थामा श्रीमानले म र छोरा छोरीलाई छाडेर रातको ११ बजे घर छोडेर गए ।’ आफ्नो पीडा सुनाउदै भनिन् ‘मेरा लोग्ने असाध्यै निष्ठुरी थिए हरि पाण्डे दाइले ल्याइदिनु भएको मेरो औषधी समेत मलाई खान नदिएर गाई मल खाल्डोमा फालिदिन्थे ।’
रातको ११ बजे निस्केर हिँडेको मान्छे १५/१६ दिन सम्म घर फर्केनन् । उनी श्रीमानको खोजीमा जुटिन् । ठुली छोरीले एसएलसी उत्तीर्ण गरिसकेकी थिइन् भने अरु दुइटा सानै थिए । श्रीमान बेपत्ता भएपछि तनाव झन बढ्यो । माया भन्छिन् ‘ खोज्दा खोज्दै छ महिनापछि काभ्रे भेट्यौं ।’ भेटेपछि घरमा ल्याउन निकै प्रयाश गरेपनि नसकेर यत्तिकै छाडिदिएको उनको भनाई छ ।

 

उनले विगत सम्झिदै भनिन,‘ उसको घरपरिवारले सहयोग नगर्दा त कही लागेको थिएन । तर आफु बिरामी हुँदा श्रीमानले बालबच्चा सहित छोडेर जाँदा सारै दुख लाग्यो । अहिले उनका दुई छोरीको विहे पनि भइसकेको छ भने छोरा आफ्नै खुट्टामा उभिन सक्ने भैसकेका छन् ।

मायाले ६० वर्ष उमेर पार गरिन् । दैनिकीमा कुनै फेरबदल आएको छैन । आफ्नो कृषि व्यवसायलाई निरन्तरता दिएकै छिन् । ‘कृषि नै मेरो प्रिय पेशा हो । विना काम बसेर समय कटाउन सक्दिन ।’लामो समय पोखरा कृषि व्यवसाय गरेकी मायाले २०७१ देखि ललितपुर महानरपालिका वडा नम्बर २५ मा खेती सुरु गरेकी छिन् । २० रोपनी जग्गामा खेती गरेकी माया साथीसँगको साझेदारीमा २० रोपनी जग्गामा ७८ लाख रुपैयाँ लगानी गरेको बताउछिन् ।

अहिले उनका साथीहरु लाखापाखा लागिसके एक्लै खेती गर्दैछिन् । उनको तरकारी बारीमा काक्रो, सिमी, खुर्सनी, गोल्भेडा लहलह छ अहिले । उनको मुख्य खेती गोलभेडा हो । हप्ता दिनमा आफ्नाे बारीबाट ५ सय देखि ७ सय केजी गोलभेडा बल्खु स्थित तरकारी बजारमा जाने गरेको बताइन् । गोलभेडा खेतीबाट वार्षिक ३० देखि ३५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । उनी भन्छिन् ‘मैले तरकारी व्यवसाय गरेर आफुलाई मात्र नभएर अरुलाई पनि पैसा कामाउन सिकाएकी छु ।’

व्यवसायमा सघाउन पुराउने ७ जनालाई मासिक १२ देखि १५ हजार पारिश्रमिक दिएकी छिन् । तीन दशकदेखी कृषि पेशा लागेकी मायाले अहिले बामगति प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अन्तरगतको कृषि ज्ञान केन्द्रबाट सञ्चालिनत उपत्यकामा प्राग्रांरिक खेती प्रवद्र्धन कार्यक्रम मार्फत २९ लाख २७ हजार ९१० रुपैयाँ अनुदान पाइन् । प्रतिस्पर्धामा निवेदन हाल्दा आफ्नो अर्गानिक कृषि फर्म छनोटमा परेको उनी बताउँछिन् । केन्द्रले अनुदानमा दिएको पैसा प्लास्टिक टनेल निर्माण मल्चिङ प्लास्टिक, थोपा सिंचाई सेट, ग्रीन नेट, पानी ट्याङ्ग निर्माणमा खर्च गरेको उनको भनाई छ ।

व्यवसाय राम्रो भएपनि कोरोना संक्रमणले मारको परेको अनुभव गरेकी छिन् । तरकारी खेतीमा आम्दानी जस्तै खर्च पनि राम्रो हुने उनको भनाई छ । तरकारी व्यवसाय गरेरै चार करोडको सम्पत्ति जोडेको सुनाइन् । त्यसो त उनी निती निर्माण तहमा किसानको हक अधिकारको कुरा पनि गर्छिन् ‘मैले मेरो मात्रै कुरा गरेकी छैन । कृषिमा लागेका कृषकहरुको सुरक्षाका लागि सरकारसँग वकालत पनि गरेकी छु ।’ उनले भनिन् ।

कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । रहेकाले सरकारले कृषिलाई औद्योगिक आधुनिकीकरणसँगै यान्त्रिकरणमा लगेर आर्थिक सम्बृद्धि बनाउनुपर्ने उनको भनाई छ । कृषिमा महिला सहभागिता अत्याधिक रहेकाले महिला मैत्री स्रोत साधान र नीति नियम बनाउन सरकारलाई सुझाव दिँदै आएकी छिन् ।

व्यवसायिक कृषिमा रमाउन चाहनेलाई उनको एउटै सुझाव छ ‘नबुझिकन कोही पनि नआउनु ।’ कृषि उत्पादन गर्न कृषि सम्बन्धि सिद्धान्त पनि बुझन आवश्यक रहेको उनी बताउँछिन् । उनको भनाई अनुसार कृषि उत्पादनका चार वटा सिद्धान्त छन् । स्वास्थ्य, पर्याबरण, निष्पक्ष्यता र स्याहार । यी चारवटा सिद्धान्तका आधारमा प्राङ्गारिक कृषि प्रणालि चलाउनु उनले सुझाव दिइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal