(Sunday , 15 March,2026)

नेप्से दोहोरो अंकले बढ्यो

mountainejournal.com

mountainejournal.com


काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६ दशमलव ९७ अङ्कले वृद्धि भएर १९०२ दशमलव २८ अङ्कमा बन्द भएको छ । गतसोमबारदेखि लगातार ४ कारोबार दिन घटेको नेप्से साताको दोस्रो दिनमा भने दोहोरो अङ्कले बढेको हो ।बैंकिङ बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक ० दशमलव ५८ प्रतिशतले गिरावट भएको छ ।

राष्ट्र बैंकले बैंकहरूले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैंकहरूले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैंकका लगानीकर्ता निराश बनेका छन् । 
कोभिड–१९ को समयमा भन्दा बैंकहरूको लाभांश घटेका कारण पनि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैंकिङ उपसूचक नै गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । 
सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
 सोमबार कारोबार भएकामध्ये नबिल बैंकको २१ करोड ३२ लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा कुमारी बैंकको संस्थापक शेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ ।

यस्तै, शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २०६ कम्पनीको शेयर कारोबार हुँदा १५८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ४१ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको शेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले बढेको छ ।


यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९ दशमलव ९३ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५ दशमलव ७१ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५  दशमवल ७१ प्रतिशतले गिरावट भएको छ । यस्तै, आइतबार मात्रै ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको शेयर मूल्य पनि ३ दशमलव ६६ प्रतिशतले गिरावट भएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal