काठमाडौं । गत २६ अगस्टमा रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट १ लाख ५७ हजार ५० जना महिला तथा बालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीपछि महिला तथा बालिकामाथि हिंसा, शोषण, खाद्यान्न तथा स्वास्थ्य सेवामा पहुँचको जोखिम थप बढेको संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनले जनाएको छ।
बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको तथा करिब १ हजार जना अझै बेपत्ता रहेको जनाइएको छ। त्यस्तै, करिब १० हजार घर बाढीले बगाएको र महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ।
खोज तथा उद्धार कार्य जारी रहेकाले विपद्को वास्तविक क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको यूएन वुमनले जनाएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित परिवारमा अहिले खानेपानी र खाद्यान्नको अभाव देखिएको छ। स्वास्थ्य तथा संरक्षण सेवामा अवरोधसँगै महिला तथा बालिकामाथि हिंसा, मानव बेचबिखन तथा शोषणको जोखिमसमेत बढेको छ।
नेपालका लागि यूएन वुमनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले विपद्का बेला महिला तथा बालिकामाथि रहेका विद्यमान जोखिम झनै बढ्ने बताएकी छन्।
उनका अनुसार स्रोतसाधन सीमित हुँदा महिला तथा बालिकाले खाद्यान्न र औषधिमा समेत असमान पहुँचको सामना गर्नुपर्ने अवस्था आउँछ। विगतका विपद्का अनुभवले समेत महिलाको मृत्युको जोखिम पुरुषको तुलनामा बढी हुनसक्ने देखाएको उनले बताएकी छन्।
विपद्पछि महिलाको अवैतनिक हेरचाहसम्बन्धी जिम्मेवारी समेत बढ्ने गरेको छ। परिवारका बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीको हेरचाहसँगै खानेपानी र अन्य अत्यावश्यक सामग्री जुटाउने जिम्मेवारी पनि महिलामाथि बढी पर्ने गरेको यूएन वुमनले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा सहायता प्राप्त गर्न महिलाले सूचना र सेवामा पहुँचसम्बन्धी चुनौतीसमेत सामना गरिरहेका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा करिब तीनमध्ये एक महिला निरक्षर रहेको अनुमान गरिएको छ। यसले राहतसम्बन्धी सूचना बुझ्न, आवश्यक दर्ता प्रक्रिया पूरा गर्न तथा सरकारी वा मानवीय सहायता स्वतन्त्र रूपमा प्राप्त गर्न कठिनाइ उत्पन्न गर्न सक्ने जनाइएको छ।
बागमती प्रदेशमा तीनमध्ये एक घरपरिवार महिलाको नेतृत्वमा रहेको र त्यसमध्ये करिब एक तिहाइ परिवार पहिले नै दबाबमा रहेको विप्रेषणमा निर्भर रहेको यूएन वुमनले जनाएको छ।
बाढी प्रभावित समुदायमा तत्काल खाद्यान्न सहायता उपलब्ध गराउन यूएन वुमनले ‘कम्युनिटी किचेन’ पहलका लागि स्रोत परिचालन गरिरहेको छ।
महिलाको नेतृत्वमा सञ्चालन हुने यस पहलले प्रभावित परिवारलाई तत्काल खाना उपलब्ध गराउनुका साथै महिलाको नेतृत्व विकास, जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्याउने लक्ष्य राखेको छ।
यूएन वुमनले महिला तथा बालिकाले राहत र पुनःस्थापनाका कार्यक्रममा समान रूपमा सहभागी हुन सक्ने वातावरण निर्माण गर्न काम गरिरहेको जनाएको छ। महिलालाई जीविकोपार्जन सहयोग उपलब्ध गराउने, हेरचाहको अवैतनिक बोझ घटाउने तथा कागजात, सम्पत्तिको स्वामित्व, भाषा र आवागमनसँग सम्बन्धित अवरोध हटाउने प्रयाससमेत भइरहेको छ।
बाढी प्रभावित महिला तथा बालिकाका लागि आवश्यक सहायता र संरक्षण सुनिश्चित गर्न यूएन वुमनले २० लाख अमेरिकी डलर सहयोगको अपिल गरेको छ।
विशेषगरी विस्थापित, हिंसा, मानव बेचबिखन तथा शोषणको उच्च जोखिममा रहेका महिला तथा बालिकासम्म राहत र संरक्षण पुर्याउन तत्काल थप स्रोत आवश्यक रहेको यूएन वुमनले जनाएको छ।
“जोखिममा रहेका र आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका महिला तथा बालिकासम्म स्रोत पुर्याउन हामीलाई तत्काल सहयोग आवश्यक छ,” यूएन वुमनकी प्रतिनिधि फर्नान्डेज–पाचेकोले भनेकी छन्।
उनका अनुसार महिला तथा बालिकाको आवश्यकतालाई केन्द्रमा राखेर गरिने राहत तथा पुनःस्थापनाको प्रयासले थप क्षति रोक्नुका साथै उनीहरूलाई सुरक्षित, सम्मानजनक र आत्मनिर्भर रूपमा पुनःस्थापित हुन सहयोग गर्नेछ।
स्रोत : यूएन वुमन/फोटो क्याप्सन : २७ अगस्ट २०२६ मा नुवाकोटमा देखिएको बाढीपछिको अवस्था। तस्बिर : UN Women/Srijana Bhatta
प्रतिक्रिया