(Thursday , 05 March,2026)

महानगरको बजेट आगामी आर्थिक २०८०।०८१

काठमाडौँ महानगरको बजेट २५ अर्ब ५४ करोड

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । काठमाडौं महानगरपालिकाले १८ वटा नारा सहित आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट तर्जुमा गरेको छ । आइतबार नगरसभाको १३ औँ बैठकमा उपप्रमुख सुनिता डंगोलले “गरीखाने शिक्षा, महानगरको इच्छा” लगायतका १६ नारा सहितको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरेकी हुन् । काठमाडौं महानगरले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिदै बजेट प्रस्तुत गरेको छ । 
 

महानगरले बजेटको स्रोत र आन्दानीमा  सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ  र आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ हुने उल्लेख गरेको छ । महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन गरेको  छ । 

वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरपालिकाले “गरीखाने शिक्षा,महानगरको इच्छा” योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवर्द्धनका लागि ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड रुपैयाँ नगर अस्पतालका लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न ३० करोड रुपैयाँ  छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको उपप्रमुख डंगोलले बजेट मार्फत जानकारी गराइन् । महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन  गरेको छ । 

यस्तैले, आगामी  आर्थिक वर्षको बजेटमा महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड रुपैयाँ विनियोजन गरेको छु । सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न .६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा महानगरले गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
 

यस्तै महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न  १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ  ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ । “धुलो रहित काठमाडौं” योजनालाई कार्यान्वयन लागि १ अर्ब रुपैयाा विनियोजन गरेको छ । यस्तै पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ । 
 

काठमाडाैँ महानगरपालीका आगामी बजेट नाराहरु 

“गरीखाने शिक्षा, महानगरको इच्छा”
“सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा”
“सुलभ फार्मेशी”को स्वर्णिम 
“स्वच्छ भान्छा” 
“धुलो रहित काठमाडौं”
“सुन्दर महानगर योजना”
“उज्यालो शहर, मेरो महानगर”
युवा जनशक्तीलाई “श्रम बैंक” 
“न्याय चौतारी” 
“डुवान समाधान”
“सुशासनको लागि अनलाइन सेवा”
“साथी महानगर”
“मेरो रहर, हरित सहर” 
“महानगरले देख्छ”
“एक टोल, एक खेलकुद पुर्वाधार”
“एक वडा, एक नमुना उद्यम कार्यक्रम”

महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले संचालित “सुन्दर महानगर योजना” अन्तर्गत  २५ करोड रुपैयाँ विनियोजन छ । “उज्यालो शहर, मेरो महानगर”  कार्यक्रम कार्यान्वयनका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरको सार्वजनिक पुर्वाधार निर्माण तथा सुधार तर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित कुल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ  बजेट विनियोजन गरेको छ । यस्तै सम्पदा एवं पर्यटन कार्यक्रमको लागि कुल २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । 

 वातावरण व्यवस्थापन क्षेत्रका विकास र विस्तारका विभिन्न कार्यक्रमका लागि  २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेटमा पैदलयात्रीहरुलाई सहज आवागमन एवं सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्न १० करोड रुपैयाँ  विनियोजन गरेको छ ।

महानगरले कृषि तथा पशुपंक्षी महानगरवासीलाई अर्गानिक तरकारी, फलफुल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा “एग्रोपुलिङ” कार्यक्रमको लागि  १ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै विपद व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम तथा उपकरणहरु खरिद गर्न ३ करोड ५० लाख  रुपैयाँ  विनियोजन गरेको छ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा वर्षात्को समयमा हुने डुवान न्यूनिकरणको लागि “डुवान समाधान” स्वर्णिम कार्यक्रमका लागि ४ करोड रुपैयाँ छुट्याएको छ ।  महानगरको शहरी व्यवस्थापनका सम्बन्धी विषयको अध्ययन र अनुसन्धान गर्न  ५ करोड बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाको २० वर्षे रणनीतिक योजना “मिसन २१००” तर्जुमा गर्नको लागि  १ करोड रुपैयाँ बजेटमा उल्लेख छ । अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई महानगरको गौरवको योजनाको रुपमा आत्मसात्गरि “सुशासनको लागि अनलाइन सेवा” योजनालाई १५ करोड रुपैयाँ बजेट खर्च गर्ने उल्लेख छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal