(Wednesday , 08 July,2026)

३२ प्रतिशत पुग्यो धान रोपाइँ

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म मुलुकभरमा गरी धान रोपाइँ ३२ प्रतिशत पुगेको छ । देशभरमा अहिले कुल धानखेती हुने जमिन १३ लाख ८२ हजार २ सय ६२ हेक्टर छ । यसमध्ये ४ लाख ४३ हजार ५ सय ९५ हेक्टरमा रोपाइँ भएको हो । सात प्रदेशमध्ये अहिलेसम्म सबैभन्दा धेरै सुदूपश्चिम र गण्डकी प्रदेशमा रोपाइँ भएको छ भने सबैभन्दा कम मधेश र कोशी प्रदेशमा भएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांकअनुसार असार २२ सम्म उक्त क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । गत वर्षभन्दा अहिले कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यो समयमा कुल खेतीयोग्य जमिनको ४५ प्रतिशत रोपाइँ सकिएको थियो । गतभन्दा यस पटक १३ प्रतिशत बिन्दुले धान रोपाइँमा कमी आएको हो ।

मुलुकमा धानखेतीका लागि प्राप्त सिँचाइ सुविधा छैन । किसानलाई आकासे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । यो वर्षको मनसुन समयमै सुरु भए पनि जलवायु परिवर्तनको प्रभावले सक्रिय हुन सकेको छैन । वर्षे पानी नहुँदा धान रोपाइँमा कमी आएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिए । ‘यो वर्ष समयमा मनसुन भित्रिसकेको छ तर, अझै मनसुन सक्रिय हुन सकेको छैन,’ प्रमुख देवकोटाले सोमबार कारोबारसँग भने, ‘यसअघिका वर्षहरुमा यो बेलासम्म पश्चिमी क्षेत्रमा धेरै धान रोपाइँ हुन्थ्यो । यो पटक वर्षा कम हुँदा पश्चिम क्षेत्रमा पनि धान रोपाइँमा कमी देखिएको छ ।’

उनका अनुसार यो बेलासम्म अन्नको भण्डार मानिने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । मधेशमा धेरै क्षेत्रमा धानखेती हुने भए पनि मनसुन सक्रिय नहुँदा रोपाइँ हुन नसकेको उनको भनाइ छ । समयमा धान रोपाइँ हुन सकेन भने यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने उनले बताए । हुन त तराई मधेशमा रोपाइँको अझै समय छ । साउन १५ सम्ममा रोपाइँ गरे पनि उत्पादनमा धेरै असर पर्दैन ।

कृषि विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले अहिलेसम्मको धान रोपाइँको तथ्यांक हेर्दा उत्पादन घट्न सक्ने जोखिम देखिएको बताए । तर, साउन १५ सम्म तराई क्षेत्रमा रोपाइँ हुने हुुँदा त्यसबेलाको विवरण नआउँदासम्म उत्पादनमा कति कमी आउँछ भनेर यकिन गर्न नसकिने उनले बताए ।
धान उत्पादन घट्दा मुलुकको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पर्छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ठूलो योगदान छ । रेग्मीले भने, ‘धान उत्पादन कम हुँदा कृषिमा मात्र आश्रित किसान परिवारको आयस्रोत घट्छ । यसले हाम्रो खाद्य सुरक्षामा पनि प्रत्यक्ष असर पार्छ । धान उत्पादनको सबैभन्दा ठूलो हिस्सा ओगट्ने मधेश र कोशी प्रदेशमा रोपाइँ कम हुँदा अर्थतन्त्रमा असर पर्ने सम्भावना रहन्छ ।’

मन्त्रालयका अनुसार अहिलेसम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष करिब चार प्रतिशतले धान उत्पादन घट्ने अनुमान छ । यो वर्ष ५७ लाख ५ हजार १ सय २६ टन धान उत्पादन हुने प्रक्षेपण छ । गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको थियो ।

नेपालका कुल ४१ लाख ३१ हजार कृषक घरपरिवार मध्ये २७ लाख ६५ हजार घरधुरीले धानखेती गर्छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानले मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको योगदान पुर्‍याउँदै आएको छ ।

कुन प्रदेशमा कति धान रोपाइँ ?
सुदूपश्चिम प्रदेशमा ५७.९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यो बेला ८२.८ प्रतिशत भएको थियो । गण्डकीमा ४१ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो समयमा ५५.९ प्रतिशत भएको थियो । यस्तै कर्णालीमा ४०.५ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष ७१.७ प्रतिशत थियो ।

मधेशमा १५.६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष पनि २५.१ प्रतिशत थियो । यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको २९.५ प्रतिशत भएको थियो । यसैगरी लुम्बिनीमा ३७.३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष ५२.१ प्रतिशत सकिएको थियो । बागमती प्रदेशमा असार २२ सम्म कुल खेतियोग्य जमिनको ३३.२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ५१.९ प्रतिशत धान रोपाइँ भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal