(Wednesday , 22 April,2026)

नौ महिनामा साढे ३२ अर्बको धानचामल आयात

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  चालू आर्थिक वर्ष २०८२÷८३ को नौ महिना (साउन–चैत)सम्म ३२ अर्ब ५१ करोड रुपैयाँको धानचामल आयात भएको छ । सोमबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको नौ महिनामा १४ खर्ब ९० अर्ब बराबरको वस्तु आयात हुँदा ३२ अर्ब ५१ करोड रुपैयाँ बराबरको ६ लाख ३८ हजार ७८७ टन धानचामल आयात भएको हो ।

गत आव २०८१÷८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० हजार ४६ टन धानचामल आयात भएको थियो । विभागको तथ्यांक अनुसार यो वर्ष परिमाणका हिसाबले समग्र धानचामलको आयातमा सामान्य घटेको देखिएको छ भने मूल्य भने बढेको छ । विभागको तथ्यांक अनुसार चालु वर्ष ९ महिनामा कच्चा धान आयातमा भने घटेको देखिन्छ ।  

गत वर्ष साउनदेखि चैतसम्म १८ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ७२ हजार २ सय १२ टन कच्चा धान आयात भएकोमा यस वर्ष घटेर १५ अर्ब ८६ करोड ६३ लाखको ४ लाख २८ हजार ३ सय ५० टनमात्र आयात भएको छ ।

यस्तै चालु वर्ष समीक्षा अवधिमा ६ अर्ब ८१ करोड ८६ लाख बराबरको ५९ हजार ८ सय १९ टन बास्मती चामल आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ अर्ब ७८ करोड ६४ लाखको ५२ हजार १ सय ९१ टन बास्मती चामल आयात भएको थियो । त्यसैगरी अन्य तयारी चामल (सेमी–मिल्ड वा ह्वाइली मिल्ड) आयात पनि उच्च रूपमा बढेको छ । गत वर्ष ८ अर्ब ७४ लाख ४० हजार रुपैयाँको १ लाख २१ हजार २ सय ८५ टन यस्तो चामल भित्रिएकोमा चालु वर्ष बढेर ९ अर्ब १३ करोड ७० लाखको १ लाख ४२ हजार २ सय २६ टन पुगेको छ ।

गत आव ९ महिनामा जम्मा ११ करोड ३८ लाख बराबरको २ सय ४६ टन धानको बिउ आयात भएकोमा चालु आव झन्डै तीन गुणाले बढेर ३८ करोड रुपैयाँको ८ सय ५१ टन पुगेको छ । यसका साथै कनिका (ब्रोकन राइस) आयात पनि करिब दोब्बरले वृद्धि भएको छ । गत वर्ष १६ करोड ९३ लाखको ४ हजार १ सय ६ टन कनिका आयात भएकोमा यस वर्ष ३० करोड ७२ लाख रुपैयाँ बराबरको ७ हजार ५ सय ३३ टन  आयात भएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal