काठमाडौं– सरकारले मध्यपूर्व लगायतका १२ देशमा काम गर्न जानका लागि रोकिएको श्रमस्वीकृति खुला गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ देखि ती देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रमस्वीकृति दिन बन्द गरिएको थियो । सरकारले नयाँ श्रमस्वीकृति रोके पनि पुनः श्रमस्वीकृति भने जारी गर्दै आएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयबाट यी मुलुकमा जान श्रमस्वीकृति खोल्ने निर्णय गरेको हो । अब साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायल जान नेपालीले व्यक्तिगत, संस्थागत र वैधानिकीकरण गरी सबै किसिमका श्रमस्वीकृति पाउने छन् ।
वैदेशिक रोजगार विभागले सोमबार सार्वजनिक गरेको सूचना अनुसार यी १२ देशमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरण सहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरिएको हो । यस्तै, अर्को मुलुक इराकको विषयमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
यसअघि परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले मध्यपूर्वी क्षेत्रलगायतका देशमा श्रमस्वीकृति खुला गर्न सिफारिस गरेको थियो । परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ईआरटीको बैठकले यी सबै श्रम गन्तव्य मुलुक वैदेशिक रोजगारीका लागि खुला गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोही आधारमा मन्त्रालयले श्रमस्वीकृति खुला गरेको हो ।
सरकारले नयाँ श्रमस्वीकृति रोकेपछि यी मुलुकमा जाने नेपाली कामदारको संख्यामा गिरावट आएको थियो । वैदेशिक रोजगार विभागका अनुसार गत आवको तुलनामा चालु आवको फागुन र चैतमा श्रमस्वीकृति कम जारी भएको छ । गत वर्ष फागुनमा ६९ हजार श्रमस्वीकृति जारी भएकोमा यो वर्ष फागुनमा ५३ हजारमा झरेको छ । यसैगरी गत वर्ष चैतमा ७० हजार श्रमस्वीकृति जारी भएकोमा यो चैतमा ६२ हजार हाराहारी मात्र छ । यी दुई महिनामा कुल २४ हजार कम श्रमस्वीकृति जारी भएका छन् ।
चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कार्तिकमा ७३ हजार ९४ जनाले श्रमस्वीकृति पाएका थिए । यस्तै, मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जनाले श्रमस्वीकृति लिएर विदेश गएको देखिन्छ ।
गत माघमा प्रमुख ३ श्रम गन्तव्यमध्ये यूएईमा १५ हजार २ सय गएकामा फागुनमा ११ हजार ४९२ र चैतमा यो संख्या ११ हजार ४६३ मात्र देखिन्छ ।
यस्तै, कतार जान माघमा ११ हजार ३ सयले श्रमस्वीकृति लिएकोमा फागुनमा ६ हजार ७५१ र चैतमा ८ हजार ९५९ ले लिएका छन् । यसैगरी साउदी अरबमा माघमा ११ हजार १ सयले श्रमस्वीकृति लिएकोमा फागनुमा यसको आधा ६ हजार २२५ र चैतमा ८ हजार ९२० ले मात्र श्रमस्वीकृति लिएका छन् ।
प्रतिक्रिया