काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न मन्त्रालयका सचिव, सह–सचिवलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री पुनले निर्देशन दिएका हुन् । उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताए । अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने उनको भनाइ थियो ।
मन्त्री पुनले विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनु पर्छ । ‘खर्च गर्न टाइट गरिएका कारण राजश्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’ पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे । राजश्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए ।
‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ’, मन्त्री पुनले भने, ‘राज्यले पक्रिएर थुनेर मात्र हुँदैन । प्रेरित गराएर कानून कार्यान्वयन गराऔं ।’ फरक प्रसंगमा मन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिए । ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविही हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’
यसैगरी उनले नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको बताए । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नगर्न उनले निर्देशन दिए ।
प्रतिक्रिया