(Monday , 30 March,2026)

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने कानुनी बाटो खुल्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र परनिर्भरतालाई न्यूनीकरण गर्न सरकारले महत्वपूर्ण कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले “पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२“ राजपत्रमा प्रकाशित गर्दै स्वदेशमै उत्पादित इथानोललाई पेट्रोलमा मिसाएर सवारी साधन सञ्चालन गर्ने कानुनी बाटो खुलाई दिएको  हो । 

आयात प्रतिस्थापन र स्वदेशी उद्योगको प्रवद्र्धन सरकारको यस निर्णयले वर्षेनी अर्बौँ रुपैयाँ खर्चिएर आयात गरिने पेट्रोलको परिमाणलाई करिब १० प्रतिशतसम्मले घटाउने लक्ष्य राखेको छ । यसबाट स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवद्र्धन हुने, नयाँ रोजगारीका अवसरहरू सिर्जना हुने र विदेशी मुद्राको सञ्चितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 
 

इथानोल प्रयोग हुने कच्चा पदार्थ
यस आदेशले इथानोल उत्पादनका लागि कृषिजन्य अवशेषहरूलाई मुख्य प्राथमिकता दिएको छ । चिनी उद्योगबाट निस्कने खुदो (मोलासेस), नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, र वनजन्य जैविक पदार्थ (बायोमास) लाई कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिनेछ । यसका साथै मानव उपभोगका लागि अयोग्य सडेगलेका अन्न र सिमल तरुललाई पनि उपयोग गर्न पाइने व्यवस्था गरिएको छ ।  यद्यपि, खाद्य सुरक्षालाई ध्यानमा राख्दै मानिसले खाने राम्रो खाद्यान्नलाई भने इथानोल बनाउन प्रयोग गर्न कडा रोक लगाइएको छ । 
गुणस्तर  मापदण्ड 
गुणस्तर र प्रविधिको ग्यारेन्टी इथानोल मिसाइएको पेट्रोलले सवारी साधनमा कुनै असर नगर्ने सुनिश्चित गर्न सरकारले कडा गुणस्तर मापदण्ड तोकेको छ । इथानोल उत्पादन गर्ने उद्योगले आफ्नै प्रयोगशाला निर्माण गरी अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्नेछ । नेपाल आयल निगमले पनि प्रत्येक ट्याङ्करको ब्याच परीक्षण गरेर मात्र खरिद गर्ने व्यवस्था गरेको छ ।  इथानोलको प्रकृति पानी सोस्ने र अत्यधिक प्रज्वलनशील हुने भएकाले यसको भण्डारण र ढुवानीमा विशेष सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख छ । 

निगमले उपलब्धताको आधारमा प्रति लिटर पेट्रोलमा बढीमा दश प्रतिशतसम्मको अनुपातमा इथानोल मिश्रण गर्नु पर्नेछ । यस्तै मन्त्रिपरिषद्ले पेट्रोलमा इथानोलको मिश्रणको अनुपात हेरफेर गरेमा निगमले सोही बमोजिम मिश्रण गर्नु पर्नेछ । उद्योग र निगमले प्रचलित कानून बमोजिम नेपाल गुणस्तर तथा नापतौल विभागबाट निर्धारण भए बमोजिम इथानोलको गुणस्तर कायम गर्नु पर्ने व्यवस्था गरेको छ । गुणस्तर विभागले निर्धारण गरेको गुणस्तर कायम रहेको इथानोल मात्र निगमले खरिद गरी मिश्रण गर्नु आदेशमा उल्लेख छ । यस्तै निगमलाई उपलब्ध गराउने इथानोलको गुणस्तर परीक्षण गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित उद्योगको हुनेछ । प्रयोजनको लागि उद्योगले गुणस्तर परीक्षण प्रयोगशालाको निर्माण गर्नु पर्नेछ ।
 

खरिद मूल्य निर्धारण तथा खरिद प्रक्रिया
खरिद मूल्य निर्धारण समितिको सिफारिसको आधारमा गर्नु पर्ने व्यवस्था आदेशमा गरेको छ । मन्त्रिपरिषद्ले प्रत्येक आर्थिक वर्ष शुरु हुनु अगावै इथानोलको खरिद मूल्य निर्धारण गर्नेछ । यसरी खरिद मूल्य निर्धारण हुन नसकेकोमा इथानोलको साबिकको खरिद मूल्य स्वतः कायम हुने व्यवस्था आदेशमा उल्लेख छ । निर्धारण वा कायम भएको मूल्य प्रत्येक वर्षको साउन एक गतेदेखि लागु हुनेछ । निर्धारण वा कायम भएको मूल्यमा उद्योगले निगमलाई इथानोल उपलब्ध गराउनु पर्ने व्यवस्था यसमा गरेको छ ।

निगमले इथानोल खरिदको लागि निगमको सञ्चालक समितिको स्वीकृति लिई उद्योगसँग इथानोल खरिद सम्झौता गर्नु पर्नेछ । इथानोल खरिद गर्ने प्रकृया सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको अधीनमा रही निगमको सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने व्यवस्था आदेशमा उल्लेख छ । खरिद सम्झौता बमोजिम उद्योगले निगमलाई इथानोल उपलब्ध गराउन नसकेमा वा निगमले बिना आधार र कारण उद्योगबाट इथानोल खरिद नगरेमा त्यस्तो सम्झौताको उल्लङ्घन भएको मानिने व्यवस्था छ । सम्झौता उल्लङ्घन भएमा मर्कापर्ने पक्षले क्षतिपूर्तिको लागि प्रचलित कानून बमोजिम दाबी गर्न सक्ने बताएको छ ।  

मूल्य निर्धारणका आधारहरु 
बिक्री वितरण तथा नियमनसँग सम्बन्धित प्रचलित कानूनको अधीनमा रही इथानोलको खरिद मूल्य निर्धारणका लागि सिफारिस गर्नु पर्नेछ । प्राथमिक लागत (प्राइम कस्ट), कारखाना शिरोभार लागत (फ्याक्ट्री ओभरहेड),प्रशासनिक तथा सञ्चालन खर्च (एडमिनिस्ट्रेटिभ एण्ड अपरेसनल ओभरहेड),समितिले आवश्यक ठानेका अन्य अन्य लागतका आधारमा गर्नु पर्ने व्यवस्था आदेशमा उल्लेख छ । 

किसान र उद्यमीलाई विशेष सहुलियत 

किसान र उद्यमीलाई प्रोत्साहन गर्न विशेष सहुलियतको समेत व्यवस्था गरेको छ । इथानोल उत्पादनका लागि आवश्यक मेसिनरी खरिदमा कर र महसुल छुट दिन सकिने व्यवस्था आदेशमा छ ।  साथै, कच्चा पदार्थ उत्पादन गर्ने कृषक, कृषि फर्म र सहकारीहरूलाई मल, बिउ र विद्युत महसुलमा सहुलियत प्रदान गर्न समितिले सिफारिस गर्ने व्यवस्था गरिएको छ ।  जसले ग्रामीण अर्थतन्त्रमा ठूलो टेवा पुग्ने  छ । 
 

ढुवानी र  भण्डारण
निर्धारण वा कायम भएको मूल्यमा ढुवानी भाडा थप गरी निगमको डिपोसम्म इथानोल ढुवानी गर्ने व्यवस्था सम्बन्धित उद्योगले मिलाउनु पर्ने व्यवस्था गरेको छ । तर निगमले आफ्नो ढुवानीकर्ता नियुक्त गरी उत्पादन स्थलबाट ढुवानी गर्न चाहेमा ढुवानी बापतको भाडा निगम स्वयंले व्यहोर्नु पर्नेछ । ढुवानी गर्दा इथानोलको उच्च प्रज्वलनशीलता र पानीको अवशोषण (हाइग्रोस्कोपिक) प्रकृतिलाई मध्यनजर गरी सुरक्षा मापदण्ड तथा उच्च सतर्कता अपनाई ढुवानी गर्नु पर्नेछ । मन्त्रालयले इथानोलको सुरक्षित भण्डारण, मिश्रण र ढुवानीको लागि मापदण्ड बनाई लागु गर्नु पर्ने आदेशमा उल्लेख छ । 
 

सर्त पालना 
उद्योगले उत्पादन गरेको इथानोल निगम बाहेक अन्य निकाय वा व्यक्तिलाई बिक्री वितरण गर्न पाउने छैन् । इथानोललाई पेट्रोलमा मिश्रण गर्ने बाहेक अन्य कार्यमा प्रयोग गर्न वा गराउन पाइने व्यवस्था गरेको छ । निगमले इथानोलको उत्पादन, भण्डारण र ढुवानीका बखत हुन सक्ने अपचलन तथा दुरुपयोगलाई नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नु पर्ने व्यवस्था आदेशमा उल्लेख छ ।  यसैगरी उद्योगले इथानोल उत्पादन, भण्डारण, बिक्री वितरण र ढुवानी गर्दा पालना गर्नु पर्ने सर्त तथा मापदण्ड पालना नगरेमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal