(Thursday , 14 May,2026)

पाँच पूर्वअर्थमन्त्री चुनावी मैदानमा, पुनको मात्र जित

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  यही फागुन २१ मा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनमार्फत मतदाताले अधिकांश पुराना अर्थमन्त्रीलाई अस्वीकार गरेका छन् ।

मुलुकमा प्रजातन्त्र आएको साढे तीन दशकमा एक दर्जनभन्दा बढी संख्यामा अर्थमन्त्री बनेका थिए । तीमध्ये यो निर्वाचन मैदानमा पाँच जनामात्र पूर्व अर्थमन्त्रीहरु उत्रेकामा मतदाताले एक जनालाई मात्र स्वीकार गरेका छन् ।

फागुन २१ को निर्वाचनमा पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्रबहादुर कार्की र वर्षमान पुन उमेदवार थिए । यीमध्ये वर्षमान पुनले मात्र विजय प्राप्त गरेका हुन् । कार्की र महतको क्षेत्रमा आइतबार रातिसम्म मतगणना जारी छ । दुवै उम्मेदवार फराकिलो मतान्तरले पछाडि छन् ।

निर्वाचनमा विजयी हुने पुन रोल्पाबाट उम्मेदवार बनेका थिए । पुनले २७ हजार ४८० मत प्राप्त गरेका छन् । पुन विगतमा माओवादी पार्टीमा आवद्ध थिए । निर्वाचनअघि निर्माण भएको नेपाली कम्युनिष्ट पार्टीबाट पुनले उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका सुदन कुमार वलीलाई हराएका छन् । वलीले १२ हजार ८ मत ल्याए ।

यस्तै, अर्का पूर्वअर्थमन्त्री पौडेल रुपन्देही निर्वाचन क्षेत्र २ बाट उम्मेदवार थिए । निर्वाचनमा पराजित बनेका पौडेल नेकपा एमालेसँग आवद्ध छन् । पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेलले पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत पाएका थिए ।

यसअघि समानुपातिक कोटाबाट संसद् छिर्दै आएका महत पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठेका हुन् । पहिलो पटक नै महत रास्वपाका विक्रम तिमल्सेनाबाट पराजित हुने अवस्थामा पुगेका छन् ।

अर्का पूर्वअर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिएका थिए । विगतमा माओवादी पार्टीका नेताका रुपमा रहेका शर्मा अहिले प्रगतिशिल लोकतान्त्रिक पाटीसँग आवद्ध छन् । शर्मा निर्वाचनमा तेस्रो बनेका थिए । त्यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले निर्वाचन जितेका छन् ।

यस्तै अर्का पूर्व अर्थमन्त्री कार्की सुनसरी–४ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसमा आवद्ध कार्की पनि रास्वपाका दीपककुमार साहबाट पराजित हुने अवस्थामा छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि अर्थमन्त्री बन्नेहरुमा महेश आचार्य, रामशरण महत, रविन्द्रनाथ शर्मा, भरतमोहन अधिकारी, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, शंकर कोइराला, सुरेन्द्र पाण्डे, युवराज खतिवडा र रामेश्वर खनाल छन् । खनाल हालका अर्थमन्त्री हुन् ।

कार्की, आचार्य र महत नेपाली कांग्रेस पार्टीबाट अर्थमन्त्री बनेका हुन् भने अधिकारी, पौडेल, पाण्डे र खतिवडा नेकपा एमालेबाट अर्थमन्त्री बनेका थिए । यस्तै पुन, महरा र शर्मा तत्कालिन नेकपा माओवादी दलसँग आवद्ध अर्थमन्त्री हुन् । रविन्द्रनाथ शर्मा राप्रपाबाट बनेका थिए ।

यस्तै, पूर्व अर्थमन्त्रीमध्ये शंकर कोइराला र रामेश्वर खनाल गैरदलीय रुपबाट अर्थमन्त्री बनेका हुन् । कोइराला र खनाल दुवै चुनावी सरकारका अर्थमन्त्री बन्न पुगेका थिए ।

प्रजातन्त्र आएको करिब साढे तीन दशकमा २५ पटक सरकार परिवर्तन भयोे । सरकार परिवर्तन भएसँगै यिनै नेताहरु आलोपालो अर्थमन्त्री बनेका थिए । यसमध्ये विष्णु पौडेल, युवराज खतिवडा, वर्षमान पुन र रामशरण महत एकभन्दा धेरै पटक अर्थमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

पूर्व अर्थमन्त्रीमध्ये अधिकारी र शर्माको देहान्त भइसकेको छ भने रामशरणको स्वाथ्य अवस्था राम्रो छैन । यी दुई र अर्का गैरदलीय अर्थमन्त्रीहरु बाहेक लगभग अरु सबै धेरै–थोरै हिसाबमा राजनीतिमा सक्रिय छन् । तर पनि यो निर्वाचनमा उमेदवार बनेका थिएनन् । अर्थमन्त्रीका साथै एक पटक प्रधानमन्त्री पनि बनिसकेका भट्टराईले निर्वाचन लड्न गोरखामा उम्मेदवारी दिएका थिए । तर, पछि फिर्ता लिए ।

यस्तै, २०४६ पछि गिरिजाप्रसाद कोइराला सरकारको पालामा अर्थमन्त्री बनेका आचार्य पनि राजनीतिमा धेरै सक्रिय छैनन् । विभिन्न किसिमका विवादमा परेका महरा पनि पछिल्ला दिनमा राजनीतिबाट टाढा छन् । यस्तै, राजनीतिमा निकै सक्रिय रहेका पाण्डेलाई एमालेले यस पटक पनि उम्मेदवार बनाएन । एमालेका अर्का नेता खतिवडा अहिलेसम्म निर्वाचन नै नलडेर बनेका अर्थमन्त्री हुन् । एमाले अध्यक्ष केपी ओलीका विश्वासिला खतिवडा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । उनी पनि यो निर्वाचनमा उम्मेदवार थिएनन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal