(Friday , 20 February,2026)

टी–ट्वान्टी विश्वकप २०२६

वानखेडेमा नेपालको विश्वकप उतारचढाव

mountainejournal.com

mountainejournal.com

मुम्बई — सायद नेपालले इटालीविरुद्ध राम्रो खेल्न सकेको भए ? यो नेपाली क्रिकेटमा जहिले पनि प्रश्नका रूपमा रहनेछ । जति जति बेला मेन्स टी–ट्वान्टी विश्वकप २०२६ बारे चर्चा गर्नेछौं, नेपालले डेब्यु गरिरहेको इटालीविरुद्ध आत्मसमर्पण नै गर्ने खालको प्रदर्शक किन गरेको थियो भन्ने प्रश्न उठ्ने नै छ । नेपाली क्रिकेट इतिहासमै इटालीविरुद्धको त्यो १० विकेटको हारको चोट निको हुने छैन्, बरु नेपाली खेलाडीलाई त्यसमा आफ्नो प्रदर्शनलाई लिएर पछुतो रहनेछ ।

कप्तान रोहित पौडेलले पनि दोहराएर भनेका छन्, ‘असाध्यै खराब प्रदर्शन रह्यो, त्यो दिन ।’ अहिले यस विश्वकपमा नेपालको यात्रा टुंगिसकेको स्थितिमा फर्केदा हेर्दा जो कोहीलाई लाग्न सक्छ, सायद इटालीलाई त्यो दिन उल्टै हराएको भए, साँच्चै नेपालको सुपर एटको सम्भावना त हुँदो थियो । खेलमा ‘यदी’ र ‘तर’ भन्ने हुन्न नै । आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि शानदार ७ विकेटको जित निकालेपछि नेपालको त्यो अर्को चरण पुग्ने सम्भावनाबारे सोच्न सकिंदो भने रहेछ ।

यस्तोमा अर्को महत्त्वपूर्ण प्रश्न, यो विश्वकपमा नेपालको प्रदर्शनले कस्तो ‘लिगेसी’ छाड्ने छ त ? जति जति बेला हामी नेपालले सहभागीता जनाएको सन् २०१४ को टी–ट्वान्टी विश्वकपबारे चर्चा गर्छौ, त्यति बेला भन्ने गर्छौ, यसमा गरिएको प्रदर्शनले त्यसपछिको पुस्तालाई क्रिकेटमा लाग्न प्रेरित गरेको थियो । के यसपल्टको विश्वकप प्रदर्शन अबको नयाँ पुस्तालाई यस्तै प्रेरणाको काम गर्नेछ त ? उत्तर हो, हो नै । सायद गर्नेछ । तर काम भने धेरै गर्नु पर्नेछ ।
क्रिकेट मात्र के र, विश्व खेलकुदमा सफलताको ठ्याक्कै यही सूत्र भनेको कहिल्यै हुन्न, न त थियो, न त हुनेछ । हो, सफलतासम्म पुग्ने बाटो भने हुन्छ । त्यो बाटो हो, मिहिनेत । नेपाली टिमका अस्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लले यहाँनिर ठीक विश्लेषण गरेका छन् । उनको भनाई हो, ढिलो चाँडो हामी लामो ढाँचाको क्रिकेटमा नगएर सुखै छैन् । यसलाई लिएर कुराकानी त भइरहेको छ, तर यसमा समय र लगानी दुवै चाहिन्छ, पर्याप्त माक्रामा ।

टी–ट्वान्टी त्रिकेट अलिकति रमाइलो गर्ने खालकै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार आयोजनाले त्यसबाट फाइदा पनि हुनेछ । तर, जति बेलासम्म नेपाली घरेलु क्रिकेटलाई अझ धेरै सुदृढ बनाइन्न, दुई अथवा त्यो भन्दा बढीको क्रिकेट खेलिन्न, २० ओभरको क्रिकेटमै मात्र अभ्यस्त भएर राम्रो नतिजा पनि आउन्न । ल भन्छन्, ‘यही त हो, वास्तविकता ।’ क्रिकेटमा कोही पनि खेलाडीलाई मजुबत बनाउने भनेकै यस्तै धेरै दिन खेलिने क्रिकेटले हो ।

त्यसैले यसपल्टको विश्वकपमा नेपालको प्रदर्शनलाई लिएर विश्लेषण गर्दा निस्कने निचोड हो, घरेलु क्रिकेटलाई अझ राम्रो बनाऔं । यति भन्दा भन्दै भारतीय क्रिकेटको ‘आइकोनिक’ स्टेडियम वानखेडेमा नेपालको प्रदर्शन असाध्यै खराव रह्यो भन्ने पनि होइन् । खासमा यो प्रदर्शन उतारचढवापूर्ण रह्यो । नेपाली टिमका केही राम्रा पक्ष पनि रहे । अन्त्यमा स्कटल्यान्डलाई हराएर पनि कम्तीमा ‘फिल गुड फ्याक्टर’ तयार भएको छ । नेपालले १२ वर्षपछि विश्वकपमा हात परेको जित आफैमा ठूलो पनि थियो ।


नेपाल सम्मिलित समूह ‘सी’ आफैमा गाह्रो थियो, किनभने यसमा दुई यस्ता टिम थिए, जसले दुई दुई पल्ट यो विश्वकप जितिसकेको थियो । फेरि इंग्ल्यान्ड र वेस्ट इन्डिज यस विश्वकपमा राम्रो खेलिरहेकै टिम हुन्, अझ यसपल्ट पनि सम्भावित च्याम्पियन । त्यसमध्ये इंग्ल्यान्डविरुद्धको चार रनको हार नेपालका लागि मन दुख्ने खालकै थियो, असाध्यै राम्रो खेलेर पनि जितसम्म पुग्न नसकेको खेल । अन्त्यमा जितको निकै नजिक, तर अन्त्यमा यो कति धेरै टाढा भन्ने अनुभव दिलाउने खेल ।

तर यही खेलले विश्व क्रिकेटमा केही बहस भने निम्त्याएको छ, के टेस्ट र एसोसियट देशबीचको खेल अन्तर कम भएको हो त ? नेपाल जस्तो विश्व क्रिकेटमा उदयमान देशविरुद्ध कम खेलेर अथवा खेल्दै नखेलेर ठूला टेस्ट मान्यता टिमले अन्याय त गरिरहेका छैनन् ? भारत, इंग्ल्यान्ड र अस्ट्रेलिया जस्तो देश नेपाल आएर खेल्नु पर्दैन त ? नेपाली समर्थक जस्तो अरू कोसँग छ र ? यस्तै ठूल ठूला बहस त्यति बेला तासको पत्ति जस्तै ढलेको थियो, जति बेला नेपाल इटालीको हातबाट पराजित भयो ।


सायद वेस्ट इन्डिजविरुद्धको खेलमा पनि नेपालको प्रदर्शन सक्दो रहेन् । स्कटल्यान्डविरुद्धको जितका एक नायक सोमपाल कामीले भने जस्तै, सायद नेपालले यस विश्वकपमा आफूले सक्दो खेल्न पनि कतै चुक्यो कि ? अथवा भनौं, नेपाल यो भन्दा पनि राम्रो खेल्न सक्षम थियो, तर सकेन कि ? हो पनि । विश्वकप जस्तो प्रतियोगितामा दीपेन्द्रसिंह ऐरीले लगातार दुई अर्धशतक बनाउने थिएनन् । यी दीपेन्द्र विश्वस्तरीय खेलाडी हुन्, अहिले सबैले यही भनिरहेका छन् ।

नेपाल मात्र होइन्, यो विश्वकपको समूह चरणबाटै बाहिरिनेमा अस्ट्रेलिया पनि रह्यो । अस्ट्रेलिया त्यही टिम हो, जसले यो विश्वकप जित्ने छ भनिएको थियो । तर यही टिमको प्रदर्शन खराब रह्यो । यस्तो अस्ट्रेलियाली मिडियाले भनिसकेको छ, अब टिम घर फर्कने छ र कहाँ कस्तो भयो भनेर गहन अध्ययन हुनेछ । त्यसपछि भविष्यको बाटो तय हुनेछ । यो त च्याम्पियन हुने बानी परेको अस्ट्रेलियाको कुरा । नेपाली क्रिकेटले गर्नुपर्ने पनि यही हो ।

नेपाली टिमका खास खास खेलाडीमा अनुशासनको कमी छ, केहीको ‘एटिच्युड’ हेरिनक्नु छ देखि कतै नेपाली खेलाडीमा सिक्ने क्षमतामै कमी छैन् भन्ने विश्लेषण पनि आइरहेका छन् । यसमा सुधार त चाहिन्छ नै, मूल कुरा घुमाइफिराइ त्यहीं पुग्छ । नेपाली क्रिकेटले चाँडै गर्नु पर्ने काम भनेकै घरेलु क्रिकेटलाई सुदृढ बनाउने नै हो, त्यो भनेको प्रथम श्रेणी क्रिकेट जत्तिको ढाँचाको स्थापना । यो खेललाई माया गरौं, समर्थन गरौं, सहयोग गरौं, अनि लगानी पनि गरौं । योजना पनि त बनाऔं । प्रतिफल आउने नै छ । कान्तिपुरबाट साभार 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal