(Wednesday , 10 December,2025)

अस्पतालमै छन् जेन-जी आन्दोलनका ११ घाइते

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको प्लास्टिक सर्जरी वार्डमा ४८ वर्षीया गीता साह जलनको पीडाले छट्पटाइरहेकी थिइन् । उनलाई अस्पताल ल्याएको डेढ महिना बित्यो, घाउ निको हुँदै गए पनि घटनाको ट्रमाले बिथोल्न छाडेको छैन । 


जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनी कोटेश्वरस्थित आफ्नो पसलमा सटर लगाएर प्रदर्शन हेर्न चोकमा निस्किएकी थिइन् । सुरुमा त अवस्था सामान्य नै थियो । तर बिस्तारै बढेको भयावह स्थितिले नमीठो दुर्घटना निम्त्यायो । प्रदर्शनकारीले प्रहरीलाई मरणासन्न हुने गरी कुटिरहेका थिए । उनी ती प्रहरीलाई बचाउन अगाडि गइन् र प्रदर्शनकारीलाई अनुरोध गरिन् । तर प्रदर्शनकारीले प्रहार गरेको एसिड उनको शरीरमा पर्‍यो । गीताको दाहिने हात, खुट्टा र पेट जल्यो ।

अहिले पनि त्यो क्षण सम्झँदा गीतालाई कहाली लाग्छ । ‘प्रहरी चौकीनिर प्रदर्शन हेर्न निस्किएकी थिएँ । तीन–चार जना प्रहरी भाइहरू चौकी माथि थिए । अरू भागिसकेका थिए,’ उनी सम्झिन्छिन्, ‘आन्दोलनकारीबाट जोगिन प्रहरीले दुई राउन्ड गोली फायर गरे, त्यसपछि आन्दोलनकारीले चौकीमा आगो लगाए । प्रदर्शनकारीले लगाएको आगो माथिसम्म फैलिन थाल्यो । प्रहरीहरू बार्दलीबाट भाग्न खोज्दै थिए । प्रदर्शनकारीले उनीहरूलाई छतमै पुगेर कुटे र घिसारेर सडकमा ल्याए ।’

मरणासन्न हुने गरी कुटिएका प्रहरीलाई देखेर उनी हताश भइन् । प्रदर्शनकारीलाई अनुरोध गरिन्, ‘बाबुहरू, होस् अब नकुट । छाडिदेऊ । प्रहरी भाइले पनि बाँच्छु कि भन्ने लागेर होला, मेरो खुट्टा समात्दै भने– आमा मलाई बचाउनुस् ।’ उनी घटनाको वर्णन गर्छिन्, ‘एक प्रदर्शनकारीले मलाई आन्टी तपाईं यहाँबाट निस्किनु त भनेर कराए ।’ गीताले फेरि अनुनय गर्दै भनिन्, ‘छाडिदिनु न बाबु अब भयो ।’

प्रदर्शनकारीले भने, ‘अरूको छोरालाई मार्दा माया लागेन, उसलाई मार्दा माया लाग्यो ?’ गीताले थपिन्, ‘सबैको ज्यान उही त हो नि ।’ यही बीचमा प्रदर्शनकारीले फालेको एसिड गीताको शरीरमा लाग्यो । दाहिने हात बल्न थाल्यो । उनले अतालिँदै लुगा फुकालिन् । त्यति बेला पनि ती प्रहरी गीताको खुट्टा समात्दै बचाउन आग्रह गरिरहेका थिए । तर, त्यति बेला गीताकै ज्यानको टुंगो नहुने भइसकेको थियो । खुट्टा र पेट हुँदै गीताको शरीरमा जलन बढ्दै गयो । त्यही बेला स्कुटरमा छोराको साथी आइपुगेछन् । उनले गीतालाई कान्तिपुर हस्पिटल लगे । त्यहाँ पनि आगलागीको जोखिम देखेपछि केएमसी अस्पताल ल्याइपुर्‍याए । उनलाई सुरुमा आईसीयूमा दुई साता राखियो ।

गीताका २६ वर्षीय छोरा राहुल त्यो दिन सम्झन्छन्, ‘म पनि बानेश्वरमा आन्दोलनमा थिएँ । ममीले आन्दोलनमा नजा भन्नुभएको थियो । पछि कल गरेर चाँडो आइज भनिरहनुभएको थियो । केही समयपछि ड्याडीले कल गरेर ममीको खुट्टामा आगो लाग्यो भन्नुभयो । पछि हस्पिटलमा ममीको अवस्था देख्दा सम्हालिनै सकिनँ ।’

गीतालाई पहिल्यैदेखि आगोको ट्रमा थियो । उनी खाना बनाउँदा ग्यासको रेगुलेटर खोल्न र बन्द गर्न पनि छोरालाई अह्राउँथिन् । ‘झन् अहिले आगो लाग्दा त साह्रै गाह्रो भयो । सुरु सुरुमा एक्लै बर्बराउने हुनुभएको थियो । बिस्तारै कम हुँदै गयो,’ राहुल भन्छन् ।

अस्पतालमा बसिरहँदा राहुललाई बेलाबेलामा चिन्ता लाग्छ । ‘सधैं हाम्रो ख्याल गर्ने ममीलाई नै यस्तो भएको छ । गाह्रो हुने रहेछ,’ उनी भन्छन् । आफ्नी आमालाई यस्तो अवस्था गराउने मान्छेसँग राहुललाई निकै आक्रोश छ । ‘मैले प्रहरीलाई पनि भनिरहेको छु । त्यो एसिड प्रहार गर्ने मान्छे कुनै हालतमा पक्राउ पर्नुपर्छ,’ राहुल पीडासहितको लवजमा भन्छन् ।

केएमसी एचसीयू वार्डमा उपचाररत काभ्रे बेथानचोकका २७ वर्षीय कमल घिमिरे यतिका दिनसम्म पनि अझै तंग्रिन सकेका छैनन् । आइतबार मात्र काका प्राणनाथ घिमिरेलाई उनले आन्दोलनमा घटना हुँदाको क्षणबारे केही खुलाएका थिए, ‘म भिडियो खिच्दै थिएँ । त्यो दृश्य भिडियोमा पनि हुनुपर्छ । अचानक मलाई गोली लाग्यो ।’

कमलको भक्तपुरको राधेराधेमा गाई फार्म थियो । २३ गते बिहान डेरी गएर उनी फार्मतिर फर्केनन् । सिधै आन्दोलनमा हिँडे । आन्दोलनमा उनको देब्रे कोखा गोलीले छेड्यो । गोलीले फोक्सोलाई पनि ड्यामेज गरेको छ । ‘यतिका दिनपछि हिजो केही बोलेको थियो, आज फेरि बोल्न सकिरहेको छैन,’ काका प्राणनाथ चिन्तित सुनिन्छन् । घरको खम्बा थिए कमल । उनी नै घाइते भएर ढलेपछि बा र आमा गलेका छन् । ‘दाइ र भाउजू नै अस्पताल आउँदा बेहोस हुनुभयो । त्यसकारण पहिलो दिनदेखि नै कुरुवा मै बसिरहेको छु,’ उनी भन्छन् ।

यतिका दिनसम्म पनि सरकारका तर्फबाट कोही नआएको गुनासो काका प्राणनाथको छ । ‘हाम्रै छोराहरूको रगतमा टेकेर प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्की अरू ठाउँ पुग्नुभयो । तर यहाँ आएर हामीलाई सान्त्वना दिन भ्याउनु भएन,’ उनको गुनासो छ, ‘अनि अहिलेसम्म आन्दोलनको बेला गोली हान्नेहरूलाई सरकारले पक्राउ गरेको छैन । के कुराले अड्काइरहेको छ ?’

ललितपुरको सातदोबाटोस्थित बीएन्डबी अस्पतालमा उपचाररत २९ वर्षीय रवि भण्डारी केमएसी अस्पतालबाटै रिफर भएका हुन् । उनी अहिले भताभुंग भइरहेको घर व्यवहार सम्झेर चिन्तित बनिरहेका छन् । रविको घर सिन्धुली, टीकाथली बस्थे । पाँच वर्षअघि कतारको वैदेशिक रोजगारबाट फर्केपछि पठाओ चलाउँदै आएका थिए । त्यही पैसाबाट घरको ऋण तिर्थे, भाइ पढाउँथे । तर जेन–जी आन्दोलनमा गोली लागेपछि उनी विचलित बनिरहेका छन् ।

२३ भदौमा उनी आन्दोलनमा निस्किएनन् । बरु भाइ गएका थिए । साथीसँगै आन्दोलनमा गएका भाइ साथी गुमाएर घर फर्किए । त्यही आक्रोशले रवि भोलिपल्ट आन्दोलनमा हिँडे । ‘महाराजगन्जमा थियौं । गोंगबुतर्फबाट अर्को समूह प्रहरी चौकी जलाउँदै आएको रहेछ । म पनि अरूसँगै अगाडि बढ्दै थिएँ । भाटभटेनीको अगाडि मेरो देब्रे खुट्टाको गोलीगाँठानिर गोली लाग्यो,’ उनी सम्झिन्छन् । रवि जेन–जी आन्दोलनबाट बनेको सरकारले अब घाइतेको उपचार मात्र हैन, रोजगारीको पनि ग्यारेन्टी गर्नुपर्ने बताउँछन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत विक्रम लम्काहाकी दिदी सरिता राना भाइ निको हुने प्रार्थना हरेक दिन गर्छिन् । २४ भदौको प्रदर्शनका क्रममा साँझ ७ बजे जावलाखेलमा विक्रमलाई गोली लागेको थियो । ‘दाहिने खुट्टामा गोली लागेको थियो । अहिले सातौं पटक प्लास्टिक सर्जरी भइरहेको छ । घरमा आमा र भाइको अवस्थाले धेरै चिन्तामा छन्,’ सरिता भन्छिन् । विक्रम होटलमा कुक थिए । ‘घरको सबै व्यवहार धानिरहेको भाइले अब काम गर्न सकेन भने ?’ सरिता सम्झेर दुःखी बन्छिन् ।

त्रिवि शिक्षण अस्पतालमै उपचाररत २३ वर्षीय सञ्जय घिसिङको दाहिने हातमा गोली लागेको छ । उनलाई पनि जावलाखेलमै गोली लागेको थियो । ‘२४ भदौको आन्दोलनमा नजा भनेको । गयो । सुरुमा साथीलाई गोली लाग्यो, बोकेर भाग्दै थियो रे । पछि उसैलाई लागेछ,’ सञ्जयकी आमा भन्छिन्, ‘अझै अपरेसन गर्न बाँकी छ । कति दिन लाग्छ थाहा छैन ।’

त्रिवि शिक्षण अस्पतालमै १८ वर्षका भकबहादुर नेपाली आईसीयूमा उपचाररत छन् । टाउकोमा गोली लागेका उनलाई केही दिनअघि पोखराबाट रिफर गरिएको थियो । ट्रमा अस्पतालको एचसीयू वार्डमा प्रकाश बोहरा र लिजा अधिकारी उपचाररत छन् । आन्दोलनको प्रतीक बनेको आइकोनिक जुत्ता आन्दोलनमा छुटेको थियो । त्यो जुत्ता प्रकाशकै थियो । प्रकाश अहिले आफूलाई एक जना शुभचिन्तकले त्यस्तै अर्को जोर जुत्ता किनिदिएकोमा खुसी व्यक्त गर्छन् । ‘आन्दोलनमा त्यो जुत्ता छुट्यो । त्यस्तै खालको जुत्ता एक जना शुभचिन्तकले मायाले किनेर ल्याइदिनुभएछ,’ प्रकाश भन्छन् ।

आन्दोलनका घाइतेहरू बिस्तारै डिस्चार्ज भइरहेका छन् । आफू अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन प्रकाशलाई । ‘अझै एउटा अपरेसन बाँकी छ भन्छन् । बेलाबेलामा दुख्छ,’ प्रकाश भन्छन् । अस्पतालमै हुँदा प्रकाशका नाममा बाहिर फेक डकुमेन्टहरू बनिरहेको सुन्दा उनी दुःखी भइरहेका छन् । ‘हामी यहाँ हरेक दिन दुखाइ खेपिरहेका छौं । बाहिर भने मेरो नाम बेचिरहेका छन्,’ उनको दुखेसो छ ।

सोही वार्डमा सारिएकी लिजा हामी पुग्दा निदाइरहेकी थिइन् । लिजा बीबीए चौथो वर्ष पास आउट हुन् । विद्यार्थीहरूको आवाज लिएर उनी २३ भदौमा सडकमा ओर्लिएकी थिइन् । दिउँसो २ बजे आमाले फोन गरेर घर बोलाइन् । उनी घर फर्कने तरखरमै थिइन् । ‘त्यही बेला अगाडिपट्टि हेलमेट लगाएकी दिदीसँग कुरा गर्दै थिएँ, कुरा गर्दागर्दै मलाई गोली लागिसकेछ,’ उनी आफूले भोगेको कहालीलाग्दो त्यो दृश्य केही साताअघिको कुराकानीमा सम्झिएकी थिइन् । गोलीले उनको कुम नै छेडेको थियो ।

जेन–जी आन्दोलनकै अर्का घाइते डडेलधुराका २२ वर्षीय मुकेश अवस्थी पनि ट्रमामै उपचाररत छन् । आन्दोलनका क्रममा देब्रे खुट्टाको घुँडामुनि गोली लागेपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । मुकेश पछिल्लो समय संसद् भवनमा सब–इन्जिनियरिङ गर्थे । सँगसँगै अस्ट्रेलिया जाने तयारीमा पनि थिए । ‘अब यस्तो हालत भइहाल्यो, जाने अवस्था नै भएन,’ मुकेशले काटिएको आफ्नै खुट्टा हेर्दै केही साताअघि भनेका थिए ।

सिन्धुपाल्चोकका २२ वर्षीय अभिषेक श्रेष्ठ पनि अहिलेसम्म ट्रमा अस्पतालमै उपचाररत छन् । उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको थियो । ‘फिलाको मासु झिकेर तल गोली लागेको ठाउँमा राखिएको छ,’ अभिषेक घाउ देखाउँदै भन्छन् । डाक्टरहरूले नजान अनुरोध गर्दागर्दै पनि उनी जेन–जी अभियन्ताको छलफल र प्रधानमन्त्री तथा राष्ट्रपतिसँगका वार्ताहरूमा गएका थिए । ‘किनकि त्यहाँ हाम्रो आवाज पनि त सुनिनुपर्छ । सहिद परिवारका आवाज पनि सुनिनुपर्छ भनेर हो । मेरो सहभागिताको त्यहाँ अर्थ हुन सक्छ,’ उनी भन्छन् । त्यसरी जाँदा उनको खुट्टामा इन्फेक्सन भएछ ।

बा–आमाले नजान बिन्ती गर्दागर्दै पनि अभिषेक सडकमा निस्किएका थिए । आन्दोलन हुनुभन्दा तीन दिनअघिसम्म पनि उनलाई जेन–जी भन्ने शब्द थाहा थिएन । ‘२ दिनअघि मात्र शब्दको अर्थ बुझें । हाम्रो आन्दोलन हो जानुपर्छ भनेर उनी निस्किए । गोली लाग्यो,’ उनी भन्छन् ।

अभिषेक अहिले अस्पतालमा कानुन र संविधानका पुस्तक पढेर समय बिताइरहेका छन् । ‘हामी जेरो पोलिटिक्सबाट आएका मान्छेलाई पुस्तक पढेर धेरै आइडिया हुँदो रहेछ । अहिले अनुभूत गरिरहेको छु,’ अभिषेक भन्छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जेन–जी आन्दोलनका घाइतेमध्ये अंकित चौलागाईं हालसम्म उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर अब जेन–जी आन्दोलनका ११ घाइते उपचाररत छन् । जसमध्ये ट्रमामा ४, त्रिवि शिक्षणमा ३, केएमसीमा २, बीएन्डबीमा १ र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा १ जना उपचाररत छन् । कान्तीपुरबाट साभार

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal