काठमाडौँ । धार्मिक परम्पराअनुसार फूलजन्म, मृत्यु पाठपुजादेखि लिएर घर अफिसका भवनहरु साज सजावटको लागि प्रयोग हुन्छ । पुष्प व्यवसायीका अनुसार तिहारमा काठमाडौँ उपत्यकामा मात्र करिब ४० करोड रुपैयाँ बराबरको सयपत्री र मलमलीको माला खपत हुन्छ ।
नेपाली बजारको माग अनुसार स्थानिय उत्पादन पर्याप्त नहुँदा करोडौँ मूल्यको पुष्प तथा पुष्पजन्य आयात समेत हुने गरेको छ भने केही निर्यात भएको पनि तथ्यांक छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा २ करोड १३ लाख ६० हजार रुपैयाँको पुष्पजन्य वस्तुको निर्यात छ भने १२ करोड ७० लाख ८९ हजार रुपैयाँको आयात भएको छ । विभागको तथ्यांक अनुसार १२ करोड २० लाख ८९ हजार रुपैयाँको पुष्पजन्य वस्तुको आयात हुँदा २ लाख ४९ लाख ४२ हजार रुपैयाँको फूलको बीउ बिजन आयात भएको छ । यस्तै १० करोड २१ लाख ४७ हजार रुपैयाँको फूल तथा विरुवाहरु आयात भएका छन् । निर्यातको कुरा गर्दा २ करोड १३ लाख ६० हजार रुपैयाँको पूmल तथा बिरुवाहरु मात्र निर्यात भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा धेरै फूल मालाको खपत हुन्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने एसोसिएसन नेपालको भनाइ छ । फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिए । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उनको दावी छ
मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिए । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उनले बताए ।
युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ ।
उनका अनुसार यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपैयाँसम्म रहेको छ । फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय सातै प्रदेशका मुख्य सहरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ । मुलुकभर २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । पुष्प व्यवसायी मीनबहादुर तामाङले पुष्प व्यवसायबाट राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा पुष्प खेती विस्तार हुँदै गएको जानकारी दिए ।
फ्यानका अनुसार ५२ जिल्लामा भएको पुष्प खेती भइरहेको र पुष्प क्षेत्रमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी छ । पुष्प व्यवसायमा ५३ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, बिउबिजन, ताजा कट फूल, बल्ब, ट्युबर, ट्युबर रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइबान, इजरायलबाट नेपालमा पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।
प्रतिक्रिया