काठमाडौँ । सरकारले २२ वर्षपछि पेट्रोलियम भण्डारण क्षमतामा वृद्धि गरेको छ । २०५८ यता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गएपनि सरकारले भण्डारण क्षमता बढाउन सकेको थिएन । सरकारले आफ्नै लगानीमा पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता विस्तार गरेका हो ।
नेपाल आयल निगमका अनुसार २०५८ सालमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाइएको थियो । त्यो समययता वार्षिक १० प्रतिशत पेट्रोलियम पदार्थको माग बढेता पनि भण्डारण क्षमता बढ्न सकेको थिएन । अहिले निगमको भण्डारण क्षमताले करिब एक सातालाई मात्र पुग्ने गर्छ । पोखरामा नयाँ १० हजार किलोलिटर क्षमताको भण्डारण क्षमता वृद्धिपछि ४० देखि ४५ दिनको माग धान्ने निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड रुपैयाँ लगानीमा ५०/५० लाख लिटर क्षमताका २ वटा डिजेल भण्डारण ट्यांकर निर्माण भएको जानकारी दिए । उनले डिजेल भण्डारणसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण गर्ने ट्यांकी समेत निर्माण गरिएको छ । निर्माण सम्पन्न भण्डारण असार २८ बाट सञ्चालनमा आउने भनेपनि उक्त कार्य रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमतीको निधन हुँदा उक्त कार्यक्रम तत्कालका लागि स्थगित भएको निगमका प्रवक्ता ठाकुरले बताए ।
निर्माण सम्पन्न भण्डारण उद्घाटन कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा गर्ने भनेपनि तत्काललाई जान नमिलेको कारण केही दिनमै नयाँ मिती तय गरी सञ्चालन ल्याउने प्रवक्ता ठाकुरले बताए । नयाँ पेट्रोलियम भण्डारण गृह पोखरास्थित निगमको प्रदेश कार्यालय परिसरमा रहेको ७७ रोपनी जमिनमा निर्माण गरिएको हो । करिब साढे २ वर्षअघि भण्डारण गृह निर्माण तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औपचारिक रूपमा शिलान्यास गरेका थिए ।
निगमको अनुसार इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको थियो । त्यतिखेर उक्त भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड रुपैयाँ लाग्ने भनिएको थियो । दुई वर्षभित्र निर्माणको काम सकिने समय अवधि निर्धारण गरिए पनि निर्माण गर्ने ठेक्का पाएको समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभी कम्पनी र पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान परियोजनाले एक वर्षभित्र सक्ने दावी गरेका थिए ।
तर, करिब साढे २ वर्षपछि भण्डारण निर्माण सम्पन्न भएको हो । निगमको अनुसार हाल पेट्रोल करिब ६ दिनलाई, डिजेल ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको हो । सोही नीतिअनुसार निगमले भण्डारण क्षमता बढाउने कार्य थालेको थियो ।
सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिन बढ्दो पेट्रोलियम मागको आवश्यकतालाई पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ । थप १० हजार किलोलिटर क्षमताको भण्डारण बढाएपछि यस क्षेत्रमा आपूर्ति व्यावस्थामा सहज हुने अपेक्षा गरिएको छ । हाल यस कार्यालयबाट कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति हुँदै आएको छ ।
गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुने गर्छ । एक दिनमा प्रदेशमा करिब ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेल ७ दिन र पेट्रोल २ दिन मात्रै धान्न सक्ने अवस्था रहेको छ ।
प्रतिक्रिया