पोखरा– पोखराको फेवातालसहित पूर्वी भागमा प्याराग्लाइडिङ उडान अनुमतिले व्यवसायी उत्साहित भएका छन् । सराङकोटदेखि पश्चिमतर्फ मान्द्रेढुंगाबाट उडान स्थानान्तरण भएसँगै पोखराको खपैदीबाट सरेर पामे अवतरण गर्ने स्थान सरेपछि यो व्यवसाय प्रभावित भएको थियो ।
अहिले पूर्वी भागमा समय बढेर सरेपछि प्याराग्लाइडिङ पहिलाकै अवस्थामा फर्किनेमा प्याराग्लाइडिङ कम्पनी तथा प्याराग्लाइडिङ पाइलटहरू उत्साहित भएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान हुँदै आएको स्थानदेखि करिब पाँच किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा उडानको क्षेत्र निर्धारण गरिएको थियो । अवतरण स्थल भने पोखरा २३ को पामेमा पुर्याइएको थियो ।
सोही कारण प्याराग्लाइडिङ उडान गर्नेको संख्या घटेको थियो । जसले गर्दा यो व्यवसाय संकटमा पुगेको थियो । नेपाल हवाई खेलकुद संस्था (ना) को पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उक्त अनुमति दिएसँगै प्याराग्लाइडिङमा डेढ घण्टा समय थप भएको हो । खपैदीबाट अवतरण गर्ने कार्य सुरु भएको नाका अध्यक्ष अनिल केसीले बताए ।
पुरानै ठाउँबाट प्याराग्लाइडिङ अवतरण र उडानको क्षेत्रसमेत केही विस्तार भएकोेले यसले पोखरामा आउने पर्यटकलाई प्याराग्लाइडिङ आकर्षण बढाउने उनले बताए । केसीले भने,‘पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण गरिन्थ्यो । जुन समयमा एकै दिनमा हजारभन्दा बढी प्याराग्लाइडिङ उडान हुने गरेको थियो । हाल त्यो घटेर मुस्किलले एक सय जनामा झरेको छ ।’
सराङकोटबाट प्याराग्लाइडिङ पश्चिमतर्फ सरेसँगै फेवातालमाथिको आकाशमा र तालकै किनारामा समेत अवतरण गर्न नपाएपछि पोखरामा प्याराग्लाइडिङ गर्नेको आकर्षण घटेको केसीले बताए । पोखरामा प्याराग्लाइडिङ स्थान्तरण हुँदा ६२ वटा कम्पनीमध्ये हाल १० कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् ।
यसैबीच एक कार्यक्रममा मेयर धनराज आचार्यले पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखराको प्याराग्लाइडिङ पहिलाकै ठाउँबाट अवतरण गर्ने भएकोले यसले पर्यटकहरूलाई थप आकर्षण गर्ने दाबी गरे । पोखरामा अब केही समय पश्चात सोलो प्याराग्लाइडिङ समेत सञ्चालन हुने उनले बताए । पोखरामा केही समय पश्चात अन्तर्राष्ट्रिय स्तरकै प्याराग्लाइडिङ प्रतियोगिता हुने मेयर आचार्यले जिकिर गरे ।
पोखरामा हिजोआज हरेक दिनजसो विभिन्न खेलकुदका गतिविधि हुने दाबी गर्दै पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक लक्ष्य पूरा हुने मेयर आचार्यले दाबी गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले पोखराको दिगो पर्यटनको लागि क्यानसँगको सहकार्यमा हाल पुरानै स्थानबाट प्याराग्लाइडिङ अवतरण गर्ने अनुमति दिइएको बताए ।
यसको सुरक्षामा ख्याल गर्दै हरेक कम्पनी र पाइलटहरू गम्भीर भएर पर्यटकहरूलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दै प्याराग्लाइडिङ गर्न उनले आग्रह गरे । कम्पनीहरूलाई क्यानले दिएको अवसरलाई उचित ढंगले सुरक्षाको प्रत्याभूति दिँदै सदुपयोग गर्न पनि उनले सुझाव दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा सोलो प्याराग्लाइडिङ खुला गर्न माग गरे । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले आउँदो वर्षमा केही बजेटसहित नयाँ कार्यक्रम ल्याउने बताए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले पोखराको सराङकोट विश्वकै ५ उत्कृष्ट गन्तव्यमा पर्ने दाबी गरे । पोखरा पर्यटनको हब भएको जनाउँदै पोखरासहितका डाँडाहरूमा पर्यटन आकर्षण बढेको उनको भनाइ थियो ।
प्रतिक्रिया