(Thursday , 07 May,2026)

सुनको मूल्य निरन्तर उकालो लाग्दै,एक वर्षमै प्रतितोला ५४ हजार बढ्याे

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । पछिल्लो समय सुन दैनिक उकालो लागि रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार पछिल्लो एक वर्षमा मात्र सुन प्रतितोला ५४ हजार रुपैयाँले बढेको छ । गत कार्तिक १४ गते सुन प्रतितोला १ लाख १६ हजारमा कारोबार भएको थियो । यो वर्षको सोही दिन सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँ ७ सय रुपैयाँमा कारोबार भएको छ । 

गत वर्षको तुलनामा यो ५४ हजार रुपैयाँ बढी हो । महासंघको तथ्यांक अनुसार यो चालु आर्थिक वर्ष साउनदेखि कार्तिक १४ सम्मको सुनको मूल्यलाई केराउँदा करिब चार महिनाको अन्तरालमा २७ हजार ९ सय रुपैयाँ बढेको छ । चालु आर्थिक वर्ष २०८१ को साउन १ गते १  लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । अहिले कार्तिक १४ सम्म आइपुग्दा सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँ पुगेको छ । यो मूल्य भन्दा सुन अझै बढ्ने व्यवसायीहरु बताउँछन् । 

रुस र युक्रेनबीचको युद्ध पछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए । पछिल्लो समय इजरायल–हमास युद्धले गर्दा थप सुनको मूल्य वृद्धि हुँदैन गएको उनको भनाइ छ । यसैगरी उनले सुनको मूल्य वृद्धि हुनको कारण अमेरिकी डलरको मूल्य मजबुत हुने पनि रहेको बताए । रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अन्य क्षेत्रमा लगानी छोडेर सुन लगानी गर्न थालेपछि विश्व बजारमा मूल्य बढेको हो । अहिले सुनको मूल्य वृद्धि हुनुपर्ने अन्य कारण नभएको उनले बताए ।

शाक्यले भने, ‘पछिल्लो समय सुनको मूल्य जसरी बढ्दै गएको छ, रोकिने अवस्था छैन । सुनको मूल्य अझै बढ्न छ ।  यो आर्थिक वर्षमै करिब २ लाख रुपैयाँसम्म पुग्ने अवस्था देखिएको छ । अमेरिक चीन बीचको व्यापार युद्ध लगायतका कारणले तत्काल सुनको मूल्य स्थिर रहने अवस्था नरहेको शाक्यको भनाइ छ । युुद्धका कारण लगानीकर्ताले औद्योगिक र व्यापारिक क्षेत्रमा असुरक्षित ठानेर सुनमा लगानी गर्दा अन्तर्राष्ट्रिय बजारमा माग निकै बढेको छ । 

विश्वका ठूला बैंकले समेत सुनमा लगानी गरिरहेका छन् ।’ विश्व बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारसमेत निकै घटेको छ । उनले भने,‘ सुनको मूल्य बढ्न पछिल्लो समय सुनको कारोबार शुन्य जस्तै देखिएको छ । धनतेरसको दिनमा भने ५० किलो सुन विक्री भएको छ । मूल्य बढ्दा शुन्य जस्तै कारोबार थियो । मंगलबार धनतेरस भएको हुँदा एकैदिन ५० किलो सुन बिक्री भएको हो । विगतलाई हेर्दा यो पनि कम नै हो । विगतका वर्षमा धनतेरसको दिन ७०÷८० किलो विक्री हुने गरेको शाक्यको भनाइ छ । 

यसैगरी हिरा सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले पछिल्लो समय निरन्तर सुनको मूल्यवृद्धि हुनुको कारण रुस, युक्रेन, गाजा र इजरायलमा भइरहेको युद्ध, अमेरिक र चिनबीचको व्यापारिक युद्धका कारणले नै मूल्य निरन्तर उकालो लाग्दै गएको जानकारी दिए । युद्धका कारण अन्य औद्योगिक क्षेत्र लगानी गर्दा असुरक्षित हुने देखेपछि लगानीकर्ता सुनमा बढी आकर्षित हुँदा सुनको माग तिब्र बढेको उनको भनाइ । पछिल्लो समय डलरको मजबुत हुँदै जानु लगायतका कारणले सनुको मूल्य उकालो लाग्दो गएको व्यवसायी शाक्यले जानकारी दिए । व्यवसायी शाक्यले भने,‘ सुन अझै बढ्नेछ । हालको मूल्य स्थिर रहने अवस्था छैन ।

पछिल्लो एउटा अनुमानले २०२५ सम्ममा सुन ३ हजार डलर पुग्ने देखिएको छ । यो नेपाली करिब १ लाख ८५ हजार रुपैयाँ हुन जान्छ । यो भन्दा अघि २०२४ सम्म २५ सय डलर पुग्ने अनुमान गरेको थियो । आज २७ सय ८० डलरमा कारोबार भएको छ ।’ उनले भने,‘ पछिल्लो समय आन्तर्राष्ट्रिय तहमा भौगोलिक राजनीतिक अशान्तिले गर्दा अन्य क्षेत्रमा व्यवसाय गर्ने लगानीकर्ताले सुनमा नै बढी लगानी गर्ने थालेको हुँदा सुनको मूल्य वढ्ने जाने शाक्यको भनाइ छ । 

पछिल्लो समय निरन्तर सुनको मूल्य वृद्धि हुँदा स्थानिय बजारमा सुनको कारोबार नै शुन्य भएको उनले बताए । विगतमा दैनिक ३० देखि ३५ किलो भन्दा बढी कारोबार हुने सुन अहिले दिनको १० किलो पनि विक्री हुन मुस्किल पर्ने गरेको उनको भनाइ छ ।  मंगलबार धनतेरस भएको हुँदा एकैदिन ५० किलो सुन र १२ सय किलो चाँदाी विक्री भएको उनले जानकारी दिए । उनका अनुसार विगतमा सोही दिन सुन ७५ देखि ८५ किलो बिक्री हुने र चाँदी २५ देखि ३० हजार किलो बिक्री हुँन्थ्यो । सुनको मूल्य बढ्दो कारोबार धेरै कम हुँदै गएको शाक्यले जानकारी दिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal