काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहण गर्न अनुमति दिन सुरु गरेको छ । आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो ।
विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले मङ्गलबारसम्म विभिन्न पाँच वटा हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिएको जानकारी दिए । उनले सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएको बताए ।
गुरुङका अनुसार सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका लागि आठ, हिमलुङका लागि पाँच र जुगल हिमाल लागि एक जना आरोहीले अनुमति लिएका छन् । यस आरोहण अनुमतिबाट एक करोड ८२ लाख ७७ हजार ९८० रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए ।
प्रतिक्रिया