काठमाडौँ । विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागीमा बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग बैंकलाई वित्तीय स्रोतको अभाव हुन नदिन विशेष जोड दिएका हुन् ।
इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो । उक्त आयोजित कार्यक्रममा सहभागी भएर अर्थमन्त्री बिहीबार स्वदेश फर्केका छन् । सहभागी बोर्डको कार्यक्रममा अर्थमन्त्री महतले विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको बताएका थिए ।
उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका थिए । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा अर्थमन्त्री महतको छ ।
न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्वपूर्ण योगदान पु¥याउन सक्ने प्रस्तुत मन्त्री महतले राखेका थिए । कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा उनले जोड दिएका थिए ।
एआइआएबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी भएका थिए । मन्त्री डा. महतले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको विषयमा फेहरिस्त प्रस्तुत गर्दै सोबाट सृजित समस्या तथा चुनौतीको बारेमा प्रकाश पारेका थिए । समस्या सृजनामा खासै भूमिका नरहेका नेपालजस्ता विकासशील मुलुको चुनौती सामनाका लागि बढी कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्रले जलवायु परिवर्तनको समस्या सम्बोधनका सम्बन्धमा गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने तर्फ उनले विशेष जोडका दिए । अर्थमन्त्री डा. महतले कार्बन व्यापारको मूल्य पुनरावलोकन गरी उचित मूल्य कायम गर्न जरुरी समेत बताए ।
प्रतिक्रिया