(Monday , 22 June,2026)

धान उत्पादन भण्डारमै राेपाइँ कम

संवाददाता

संवाददाता

काठमाडाैँ । मुलुकको कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा ओगट्ने मधेश प्रदेशमा यो वर्ष ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । अन्नको भण्डारण मानिने क्षेत्रमा नै धान रोपाइँ कम भएपछि यो वर्ष खाद्य अभाव हुने संकेत देखिएको छ ।

गत वर्ष सोही अवधिमा मधेश प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष मधेशमा पानी कम परेका कारण धान रोपाइँको क्षेत्रफल घट्न पुगेको हो । यो साउन २६ सम्म मधेश प्रदेशमा जम्मा ६८ प्रतिशतमात्र धान रोपाइँ भएको हो । यो गत वर्षको तुलनामा २५ प्रतिशत कम हो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्र ४ लाख १ हजार ६ सय ५० हेक्टर जमिन छ । यसमध्ये अहिलेसम्म २ लाख ७१  हजार  हेक्टरमा मात्र रोपाइँ भएको छ । यो वर्षका लागि करिब–करिब धान रोपाइँ सकिएको छ । आगामी दिनमा छिटफुटमात्र रोपाइँ हुनेछ ।

मधेश प्रदेशबाहेक देशभरको हिसाब गर्दा पनि समग्रमै धान रोपाइँ कम भएको छ । कृषि विभागका अनुसार साउन २६ सम्ममा देशभर धान रोपाइँ ८७ प्रतिशतमात्र भएको छ । यो गत वर्षको भन्दा १० प्रतिशत कम हो । गत वर्ष ९४ प्रतिशत धान रोपाइँ भएको थियो ।

मनसुन सुरु हुन ढिलो भएका कारण गत वर्षभन्दा धान रोपाइँ घटेको विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिए । यस पटक मधेश प्रदेशमा अन्य प्रदेशको भन्दा ढिला मनसुन सुरु भएको हुँदा धान रोपाइँ पनि कम भएको उनले बताए । रोपाइँ क्षेत्रफल पनि घटेको देखिएकाले धान उत्पादनमा पनि कमी आउने आउन सक्ने उनले बताए । उनका अनुसार साउन पहिलो सातापछि रोपेको धानको उत्पादन नै कम हुन्छ । बिउ बूढो भसकेको हुँदा तुलनात्मक रुपमा उत्पादन कम हुने उनको भनाइ छ । उत्पादन कति घट्छ भन्ने अहिले नै यकिनका साथ भन्न नसकिने तर गत वर्षको भन्दा रोपाइँ पनि कम भएको हुँदा उत्पादन घट्ने सम्भावना देखिएको उनले बताए ।

कृषि विभागका अनुसार मुलुकभर १४ लाख ८८ हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन २६ सम्म रोपाइँ ८४ प्रतिशत भएको हो । क्षेत्रफलका आधारमा हेर्दा देशभर १२ लाख ६१ हजार हेक्टरमा रोपाइँ भएको छ । समग्रमा हेर्दा यो वर्ष गत वर्षको तुलनामा ७ प्रतिशत कम रोपाइँ भएको छ ।

धेरैजसो खेतीयोग्य जमिनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्ने बाध्यताका कारण यसपटक मनसुन ढिला सुरु भएको हुँदा धान रोपाइँ समग्रमै कम भएको विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिए । यसपटक गाईगोरुमा देखिएको लम्पी स्कीन रोगका कारण पनि धान रोपाइँमा प्रभाव गरेको उनले बताए । साउन २६ सम्मको तथ्यांकअनुसार सबैभन्दा कम मधेश प्रदेशमा र धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ ।

विभागका अनुसार साउन २६ सम्ममा सुदूपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा सशप्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७७ हजार हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १ लाख ७६ हजारमा भइसकेको छ ।

कर्णाली प्रदेशमा ९८ प्रतिशतमात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा ४५ हजार ३८७ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये ४४ हजार ५०५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी लुम्बिनीमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९० प्रतिशत धान रोपाइँ भएको थियो । यो प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ८८ हजार हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांक छ ।
यसैगरी गण्डकीमा ९३ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९७ हजार ८५१ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ९० हजार ९३६ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो ।

बागमतीमा ८८ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख १३ हजार ५२३ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ९० हजार ९४६ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशमा ९४ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ९४ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ३ लाख ४० हजार ८२९ हेक्टर हो, जसमध्ये ३ लाख २० हजार २०७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal