काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (चैत मसान्त) सम्म सरकारको राजस्व असुली ६ प्रतिशत हाराहारीले बढेको छ । गत वर्ष चैतसम्म उठेको राजस्वको तुलनामा यो चैतसम्मको वृद्धिदर ६ प्रतिशतमात्र हो ।
अर्थ मन्त्रालयका अनुसार गत आवको चैतसम्ममा ८ खर्ब ४१ खर्ब १३ करोड रुपैयाँ राजस्व उठेको थियो । यो वर्ष सोही अवधिमा ८ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको हो । सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चैतसम्म वार्षिक लक्ष्यको ६०.२४ प्रतिशतमात्र हासिल भएको छ ।
पूर्व अर्थमन्त्री रामेश्वर खनालले बजेटमा राखिएको लक्ष्यअनुसार राजस्व असुली हुने अवस्था नदेखेपछि अर्धवार्षिक समीक्षामार्फत यसको लक्ष्य १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारेका थिए । अहिलेसम्मको राजस्व असुली हेर्दा संशोधित राजस्व पनि उठ्ने अवस्था देखिँदैन । संशोधित राजस्व भेटाउन सरकारले अबको तीन महिनामा करिब ४ खर्ब ७ अर्ब संकलन गर्नुपर्छ ।
अहिलेसम्म कर राजस्व ७ खर्ब ९८ अर्ब ७७ करोड संकलन भएको छ । गत वर्ष सोही अवधिमा ७ खर्ब ४४ अर्ब १४ करोड संकलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ७.३४ प्रतिशतले बढी हो ।
चैतसम्ममा ८७ अर्ब ५१ करोड गैरकर राजस्व संकलन भएको छ । यो गत वर्षको तुलनामा ०.३२ प्रतिशतको झिनो वृद्धि हो । गत वर्ष चैतसम्म ८७ अर्ब २४ करोड गैरकर संकलन भएको थियो ।
भ्याट
राजस्वमा ठूलो हिस्सा ओगट्ने मूल्य अभिवृद्धि कर (भ्याट) चैतसम्म २ खर्ब ६१ अर्ब ४२ करोड संकलन भएको छ । यो गत वर्ष २ खर्ब ३९ अर्ब ८७ करोड उठेको थियो । गत वर्षभन्दा अहिले भ्याट असुलीमा ८.९८ प्रतिशतको वृद्धि भएको छ ।
आयकर
मन्त्रालयका अनुसार आयकरतर्फ गत वर्ष २ खर्ब १३ अर्ब ६१ करोड संकलन भएकोमा यस वर्ष २ खर्ब १५ अर्ब ९१ करोड असुली भएको छ । यो १.०८ प्रतिशतको मात्र वृद्धि हो । ४ खर्ब ७ अर्ब ३ करोडको वार्षिक लक्ष्य राखिएको आयकरमा चैतसम्म ५३.०४ प्रतिशतमात्र संकलन भएको छ ।
भन्सार महसुल
वैदेशिक व्यापारमा आधारित भन्सार महसुल १ खर्ब ७८ अर्ब ५७ करोड संकलन भएको छ । यो गत वर्षको भन्दा ९.०९ प्रतिशतले धेरै हो । गत वर्ष १ खर्ब ६३ अर्ब ६९ करोड संकलन भएको थियो ।
अन्तःशुल्क
चालु आवमा अन्तःशुल्कतर्फ भने उत्साहजनक वृद्धि देखिएको छ । गत वर्ष १ खर्ब २३ अर्ब ९८ करोड अन्तःशुल्क संकलन भएकोमा यो वर्ष ११.४७ प्रतिशतले बढेको छ । चैतसम्ममा १ खर्ब ३८ अर्ब २१ करोड अन्तःशुल्क उठेको हो ।
शिक्षा सेवा शुल्क र अन्य
चालु आवको चैतसम्ममा यो शीर्षकमा सबैभन्दा उच्च ५६.६६ प्रतिशतको वृद्धि भएको छ । अहिलेसम्म शिक्षा सेवा शुल्क र अन्य गरी ४ अर्ब ६७ करोड संकलन भएको छ । गत वर्ष सोही अवधिमा २ खर्ब ९८ करोडमात्र संकलन भएको थियो ।
मन्त्रालयका अनुसार भन्सार विभागका लागि वार्षिक ५ खर्ब ८८ अर्ब २५ करोडको लक्ष्य दिइएकामा चैतसम्म ३ खर्ब ६८ अर्ब ७४ करोड अर्थात् ६२.६८ प्रतिशत संकलन गरेको छ । यो गत वर्षको ३ खर्ब ३५ अर्ब १७ करोडको तुलनामा १०.०२ प्रतिशतको वृद्धि हो ।
यस्तै, आन्तरिक राजस्व विभागलाई ७ खर्ब ३७ अर्ब ३३ करोडको लक्ष्य दिएकामा चैतसम्ममा ४ खर्ब ३० अर्ब ३ करोड संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ५८.३२ प्रतिशतमात्र हो ।
यसैगरी सरकारले विविध प्राप्तितर्फ ५ अर्ब २८ करोडमात्र राजस्व उठाएको छ । गत वर्ष यस्तो राजस्व ९ अर्ब ७६ करोड संकलन भएको थियो । चालु वर्ष ४५.९२ प्रतिशतले विविध प्राप्ति घटेको छ ।
प्रतिक्रिया