काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमास (साउन–असोज) मा मुलुकको अर्थतन्त्रको आकार ३.४ प्रतिशतले बढने अनुमान गरिएको छ । यो गत वर्षको पहिलो त्रैमाससँगको तुलनामा गरिएको अनुमान हो । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनमा कुल गार्हस्थ उत्पादन (जिडिपी) आधारभूत मुल्यमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
कार्यालयले आव २०६७÷६८ लाई आधार वर्ष मानेर यो विवरण तयार गरेको हो । कार्यालयका अनुसार यो त्रैमासिकमा अर्थतन्त्रको आकार बढनुमा कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरण र पर्यटन आगमनमा भएको वृद्धिको प्रभाव हो । यसका साथै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धिले पनि अर्थतन्त्र विस्तारमा सहयोग पु¥याएको छ ।
यी क्षेत्रबाहेक यातायात क्षेत्र, स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले पनि समग्र अर्थतन्त्रलाई बढाउन सहयो गरेका हुन् ।
कार्यालयले यो अवधिमा बाढी तथा पहिरोको नकारात्मक प्रभाव परेको र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको विस्तार अझै माथि जान नपाएको जनाएको छ ।
कार्यालयका अनुसार गत आवको पहिलो तीन महिना र चालु आवको सोही अवधिमा अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान छ ।
यी १८ औद्योगिक वर्गीकरणमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४ प्रतिशत) रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर दोस्रोमा छ ।
यस्तै आवास तथा भोजन सेवा क्षेत्रको ६.३ प्रतिशत वृद्धिदर छ भने वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान छ ।
कार्यालयका अनुसार प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरु र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
समयमा मलको उपलव्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो । वर्षायामको बाढी र पहिरोले पु¥याएको क्षतीका कारणले कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको कार्यालयले जनाएको छ ।
अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको हो ।
प्रतिक्रिया