काठमाडौं । संकटगास्त मध्यपूर्वका १३ श्रम गन्तव्यबाट स्वदेश फर्कन चाहने नेपाली कामदारलाई साउदी अरब हुँदै नेपाल आउने विकल्प खुला भएको छ । मध्यपूर्वका कतिपय देशमा व्यावसायिक उडान न्यून सञ्चालन भएका र केही देशमा पूर्ण रुपमा उडान नभएका कारण सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई साउदी अरब हुँदै आउने कूटनीतिक व्यवस्था गरेको हो ।
करार सम्झौता सकिएर स्वदेश फर्कने योजना बनाइरहेका नेपाली कामदार तथा अन्य नेपाली पेशाकर्मी विगत १० दिनदेखि खाडीका विभिन्न मुलुकमा अड्किएर बसेका छन् । अति जरूरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लान सहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पश्चिम एसिया क्षेत्रका केही स्थानबाट सीमित रूपमा हवाई उडान सञ्चालन भइरहेका छन् । मन्त्रालयले नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको जनाएको छ । इच्छुक नेपाली नागरिकहरूले हाल उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्ने गरी नेपाल सरकारले कूटनीतिक पहल गरेको छ । पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५७ हजार १०० नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । साउदी अरब बाहेकका संकटग्रस्त १२ श्रम गन्तव्यमा १३ लाखभन्दा बढी नेपाली रहेका छन् ।
युद्ध चर्किंदै गएको अवस्थामा सरकारले सो क्षेत्रमा रहेका नेपालीको सुरक्षा तथा आपतकालीन उद्धारको लागि विभिन्न नियोग तथा अन्तरराष्ट्रिय निकायसँग समन्वय गरिरहेको जनाएको छ । सरकारले अहिलेसम्म ती क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेको बताउँदै आएको छ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीलाई स्वदेश फर्कनुपर्ने अवस्था आउन सक्ने अनुमानसहित आवश्यक पर्ने कागजात आफूसँग राख्न र सो क्षेत्रमा रहेका १० वटा नेपाली नियोगको सम्पर्कमा रहन पटक पटक एडभाइजरी जारी गरिसकेको छ ।
मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी नेपाली यूएईमा ७ लाख रहेका छन् । यसैगरी क्षेत्रीय हिसाबले सबैभन्दा बढी जोखिममा रहेको इजरायलमा ६ हजार ५ सय नेपाली छन् । हाल द्वन्द्वग्रस्त देश इरानमा रहेका ६ जना सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । उनीहरु परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहेको जनाइएको छ ।
इजरायलमा रहेका ६ हजार ५ सयमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम, हाइफाजस्ता जोखिमपूर्ण क्षेत्रमा कार्यरत रहेका छन् । यसरी नै इजिप्टमा रहेका ५०० मध्ये मेडिकल विद्यार्थी, अलअजहर विश्वविद्यालयमा इस्लाम, अरबी भाषा अध्ययनरत रहेका र केही घरेलु काममा रहेको जनाइएको छ । ओमानमा रहेका २५ हजारमध्ये ८० प्रतिशत बढी महिला घरेलु कामदारको रुपमा रहेका छन् । यसरी नै कतारमा रहेका ३ लाख ५७ हजार ९१३ जना सरकारी तथा अर्धसरकारी क्षेत्र, निजी कम्पनी तथा व्यक्तिगत स्पोन्सरमा काम गरिरहेका छन् ।
बहराइनमा २७ हजार ७ कामदार भिसा र ९०६ पारिवारिक तथा भिजिट भिसामा रहेका छन् । साउदी अरबमा रहेका ३ लाख ८४ हजार ८६५ मध्ये महिला ३ हजार ५४१ र पुरुष ३ लाख ८० हजार ९९९ पुरुष रहेका छन् । यीमध्ये केही मात्र घरेलु कामदार रहेका छन् ।
युद्धग्रस्त मुलुकमा कति छन् नेपाली ?
यूएई ७ लाख
साउदी अरब ३ लाख ८४ हजार
कतार ३ लाख ५७ हजार
कुवेत १ लाख ७५ हजार
बहराइन २८ हजार
ओमान २५ हजार
इजरायल ६ हजार ५ सय
इजिप्ट ५००
इरान ६ जना
प्रतिक्रिया