काठमाडौं– अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्ने क्षेत्रमध्ये एक धानको उत्पादन यस वर्ष घट्ने देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षका तुलनामा चालु आवमा करिब चार प्रतिशतले धानको उत्पादन घट्ने देखिएको हो । यो वर्ष ५७ लाख ५ हजार १ सय २६ टन धान उत्पादन हुने मन्त्रालयको प्रक्षेपण छ । गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ४.२० प्रतिशतले कमी आउने अनुमान गरिएको हो ।
यो वर्ष धान उत्पादन घट्नुमा बाली लगाएको क्षेत्रफल, उत्पादकत्व र मौसम प्रमुख कारण देखिएका छन् । गत वर्षका तुलनामा यो वर्ष ३.८ प्रतिशतले धान लगाएको क्षेत्रफलमा कमी आएको छ । गत आवमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । चालु आवमा १३ लाख ७६ हजार ८ सय ७२ हेक्टरमा धान रोपिएको अनुमान गरिएको छ ।
यसैगरी गत आवका तुलनामा यो वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । गत वर्ष ४.१९ टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यो वर्ष ४.१४ टन प्रतिहेक्टर हुने अनुमान गरिएको छ । चालु आवमा देखिएको मौसमको प्रभावले पनि धान उत्पादनमा कमी ल्याउन सहयोग गरेको छ । यो वर्ष धान रोपाइँ गर्ने मुख्य मौसममा पानी नपरी खडेरी परेको थियो । पछि फेरि बाढी र पहिरोका कारण पनि धान बालीलाई असर पारेको थियो ।
मन्त्रालयका प्रवक्ता जानुका पण्डितले पछिल्लो समय बदलिँदो जलवायु परिवर्तनसँगै धान बालीको समयमा भएको सुक्खापन, बेमौसमी बाढीपहिरोका कारणले पनि यो वर्ष धान उत्पादनमा कमी आएको जानकारी दिइन् । यस्तै, धान बालीको क्षेत्रफलमा कमी र पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरुको विदेशप्रतिको आकर्षणले पनि उत्पादनमा असर परेको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय फलफूल तथा नगदे बालीको क्षेत्रफलमा वृद्धि भएको छ । तराई एवं शहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा भने केही कमी आएको छ । यसैगरी मधेश प्रदेशमा धान लगाउने समयमा परेको खडेरीका कारण रोपाइँ हुने क्षेत्रफलमा कमी आएको छ । उन्नत बिउबिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ । धानबालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आवमा समग्र धान उत्पादनमा कमी आएको प्रवक्ता पण्डितको भनाइ छ ।
कृषि मन्त्रालयका अनुसार धान बालीको तथ्यांक अनुमान गर्दा सातवटै प्रदेशका कृषि विषय क्षेत्राधिकार भएका प्रदेश मन्त्रालयबाट प्राप्त तथ्यांकलाई आधार लिइएको छ । धानबाली भित्र्याइएको क्षेत्रफलको अनुमान गर्दा अघिल्ला आवहरुको क्षेत्रफल सम्बन्धी तथ्यांक, रोपाइँको आँकडा, सिँचाइ क्षेत्रफलमा भएको परिवर्तन, किसानसँगको अन्तरक्रिया र जमिनको अन्य प्रयोगमा भएको परिवर्तनलाई आधार बनाएको छ । उत्पादकत्व अनुमान गर्दा कृषि कार्यालय-कृषि ज्ञान केन्द्र, स्थानीय तह एवं राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मार्फत गरिएका बाली कटानीका तथ्यांक समेतलाई आधार मानेको छ ।
मन्त्रालयका अनुसार मनसुन सकिएपछि गत असोजमा आएको बेमौसमी वर्षाका कारण १० हजार ८ सय ४० हेक्टर धानखेती गरिएको क्षेत्रफल प्रभावित भएको थियो । यसका कारण करिब २७ हजार ७ सय ५९ मन धान उत्पादनमा कमी भई ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको थियो । सबैभन्दा बढी क्षति नवलपुर जिल्लामा करिब ४ हजार ४८५ हेक्टर क्षेत्रफलमा भएको थियो । सबैभन्दा कम चितवनमा ०.०६ हेक्टर क्षेत्रफलमा भएको थियो । त्यसैगरी उत्पादनको दृष्टिले सबैभन्दा बढी क्षति रौतहट जिल्लामा ७ हजार ९५२ टन भएको थियो ।
यसैगरी धानको स्थानीय बजार मूल्यअनुसार आर्थिक नोक्सानी सबैभन्दा बढी रौतहटमा २३ करोड ८५ लाख ७२ हजार बराबरको आर्थिक नोक्सानी भएको छ भने सबैभन्दा कम तेह्रथुम जिल्लामा १ लाख १४ हजारको भएको थियो ।
प्रतिक्रिया