(Thursday , 16 April,2026)

आक्रमणमा परेका उद्योगी तथा व्यवसायीको सन्देश- थाक्ने छैनौँ, अझै सशक्त भएर अगाडि बढ्छौँ

mountainejournal.com

mountainejournal.com

काठमाडौं । ‘जेन जी’ आन्दोलनकारीको आक्रमणमा परेको निजी क्षेत्रले आफूहरू थप सशक्त भएर अगाडी बढ्ने प्रतिक्रिया दिएको छ । आन्दोलनमा उद्योगी तथा व्यवसायीका घर र व्यवसायहरू तोडफोड, लुटपाट र आगजनीको घटनामा परे पनि निजी क्षेत्रले हार नमान्ने सन्देश दिएका हुन् ।

भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिए पनि अझै आशा नहराएको जनाएको छ । जेनजी आन्दोलनमा आन्दोलनकारीले देशभरका विभिन्न ठाउँमा रहेका भाटभटेनीमा आगजनी, तोडफोड र लुटपाट मच्चाउँदा अर्बौँको क्षति भएको छ ।

व्यवसायी मीन बहादुर गुरुङले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको भाटभटेनीहरू अब पुन सञ्चालन हुन्छ हुँदैन भन्ने संशय उत्पन्न भइरहेको बेला सुपरमार्केटले अझै आशा बाँकी रहेको सन्देश दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्रान्चमा सामान चोरी, लुटपाट, आगजनीको भिडियो राख्दै सबैको साथले उठ्ने साहस दिइरहेको उल्लेख गरेको छ । पसलहरू ध्वस्त भए पनि सबैको साथले अझ माथि उठ्न मजबुत महसुस गरिरहेको बताएका छन् ।

अहिले जलेका भाटभटेनीमा हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेको,आँसु पुसिरहेकाले फेरि आफूहरूलाई उठ्न शक्ति दिइरहेको बताएको छ । भाटभटेनी फेरि उभिने आशा राखेको छ । सबैको साथले भविष्यलाई अझ उज्ज्वल बनाउने भाटभटेनीले जनाएको छ ।

सामाजिक सञ्जालमा लेख्दै भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईँहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाट–भटेनी फेरि उभिनेछ । तपाईँहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौँ ।’   

जेनजीको आन्दोलनको नाममा देशभर रहेका १२ वटा भाटभटेनीमाथि आगजनी गरेर पूर्ण रूपमा नष्ट भएको छ भने हजारौँले रोजगारी गुमाएका छन् । केहीले यही मौकामा भाटभटेनीबाट सामानहरू चोरेका समेत छन् ।

जेन जी आन्दोलनकारीहरूले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाको निजी निवासमा समेत आक्रमण गरे । उनको सितापाइलामा रहेको घरमा  तोडफोड, लुटपाट र आगजनी गरिएको छ । जहाँ उनको घर आंशिक रूपमा जलेको छ भने करिब आधा दर्जन गाडी पूर्ण रूपमा जलेका छन्  ।

जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भए पनि निराश वा विचलित नभएको उनले स्पष्ट पारेका छन् । गोल्छाले अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

आगोले ध्वस्त आफ्नो संरचनाको तस्बिर राख्दै उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको घर र गाडीको शेरुममा प्रदर्शनकारीहरूले आक्रमण गरे । पोखरामा रहेको उनको घरमा प्रदर्शनकारीहरूले आगजनी गर्दा घरमात्रै पूर्णरुपमा नष्ट भएन, त्यहाँ काम गर्ने एक महिला कामदारको समेत जलेर मृत्यु भयो ।

सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ । घटना हुनु केही क्षणअघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना व्यहोर्नु परेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा मान्छे छन् भन्ने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेन जीले गरेका हुन् वा त्यहाँ भित्र अरू नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ती क्रूर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओढेर उम्किन नपाउन ।’

आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नभएको उनले बताएका छन् । आफूले १७ वर्षको उमेरदेखि गरेको मेहनतलाई आन्दोलनकारीहरूले छिनभरमै खरानी बनाइदिएको गुनासो गरेका छन् ।

आफू बस्ने घर अफिस जलाइँदा मन पनि जलेको बताउँदै थापाले भनेका छन्, ‘जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन् । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ । मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एक छिनमा सबै खरानी बनाइदिए ।’

पीडादायी क्षणमा पनि थापाले सामाजिक सञ्जालमार्फत स्पष्ट सन्देश दिएका छन्– सम्पत्ति र घर गुमाउनु पीडादायी छ, तर हामी थाक्ने छैनौँ, पहिलेभन्दा अझै सशक्त भएर अगाडि बढ्नेछौँ । 

अन्य उद्योगी तथा व्यवसायीहरूले समेत विगतको योगदानलाई सम्झिँदै भविष्यप्रति दृढता व्यक्त गरेका छन् । उनीहरूले उद्यमशीलतालाई ध्वस्त पार्ने गतिविधिले देशलाई फाइदा गर्दैन, बरु हामीलाई अझै सबल बनाउँछ भन्दै सन्देश दिएका छन् ।

प्रदर्शनकारीको आक्रमणमा परेको विराटचोकको नेपालीरिका होटल पनि फेरि उठाउने प्रतिबद्धता जनाइएको छ । सञ्चालक भोलेश्वर दुलालका छोरा आकाश दुलालले सामाजिक सञ्जालमा सन्देश दिँदै भनेका छन्,-म हारेको छैन । म डगमगाएको छैन । नेपालीरिका होटलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लाउँदै फेरि म उठ्नेछु । र यसलाई पुन निर्माण गर्नेछु । फेरि यसलाई चलाउनेछु । पीएलओ ग्रुप फेरि उठ्नेछ, हिमाल जस्तै अडिग र अटल रूपमा ।’

जेन जी आन्दोलनको नाममा निजी क्षेत्रमाथि छानिछानी आक्रमण भएको छ । आन्दोलनकारीको निशानामा चौधरी ग्रुपका अध्यक्ष समेत रहेका नेपालका डलर अर्बपति विनोद चौधरी पनि परे । जसको निवासदेखि उद्योगसम्ममा तोडफोड, लुटपाट, आगजनी र आक्रमण गरियो ।

चौधरीको रवि भवनमा रहेको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । उनको घरबाट आन्दोलनकारीहरूले छानिछानी महँगा वस्तुहरू चोरी समेत भएको छ ।

आन्दोलनकारीहरू त्यतिमै रोकिएनन् । उनीहरूले उनको घरमा रहेको निजी सवारी साधनमध्ये दुई वटा सवारी त्यहाँबाट निकालेर लामपाटी चोकमा ल्याएर जलाए । बाँकी उनको घरको पार्किङमा भएको करिब ८ वटा गाडीमध्ये ६ वटा गाडीमा आगजनी गरे । जसमा दुई वटा गाडीलाई पूर्णरुपमा जलेभने अन्य आंशिकरुपमा जलेका छन् ।

प्रदर्शनकारीले सिजी, एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको उनको सतुंगलमा रहेको सिजी डिजिटल पार्कमा आगो लगाएर ध्वस्त बनाइदिए । आन्दोलनकारी त्यतिमै रोकिएनन् । उनीहरूले सिजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरुममा समेत आगजनी गरे ।

उनका भाइ वसन्त चौधरीको निजी निवासमा समेत तोडफोड गरिएको छ । ठमेलमा रहेको उनको घरमा आन्दोलनकारीहरूले तोडफोड गरेका छन् ।

आन्दोलनकारीले ठूलो निजी लगानी रहेको एनसेलमा समेत आगजनी गरे ।  अत्यावश्यक सेवा र सम्पत्तिमाथि कुनै क्षति नपुर्‍याउन आह्वान गरिरहेको एनसेलको लेनचौरमा रहेको मुख्य कार्यालयमा समेत आगजनी गरियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरि केबुलकार र मौलाकाली केबुलकारको कार्यालयमा समेत आगजनी गरिएको छ ।

काठमाडौंको नक्सालको पाँचतारे होटल ‘हिल्टन काठमाडौं’मा मंगलबारदेखि दन्किएको आगो बिहीबार दमकल प्रयोग गरेर निभाइयो । मंगलबार जेन जी आन्दोलनकारीहरूले सल्काएको आगो बुधवार साँझसम्म पूर्णरुपमा बलिरह्यो ।

नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको साढे ८ अर्ब लगानी रहेको हिल्टन होटलमा प्रदर्शनकारीहरूले मंगलबार आगो लगाउँदा भौतिक संरचना पूर्णरुपमा जलेको छ । अर्बौँ लगानी गरेर करिब १० वर्ष समय खर्चिएर बनाएको यस होटललाई जेन जी आन्दोलनकारीहरूले छिनभरमै खरानी बनाइदिएका छन् ।


लामो समय र लगानी जुटाएर शंकर ग्रुपले तयार पारेको यस होटल गत वर्ष (२०८१ साउन)मा मात्रै सञ्चालनमा आएको थियो । एक वर्ष अगाडी मात्रै सञ्चालनमा आएको होटलमा आन्दोलनकारीले छिनभरमै ध्वस्त बनाइदिएका छन् ।
आन्दोलनकारीहरूले हिल्टन होटलमा शेरबहादुर देउवा र आरजु देउवा राणाका छोरा जयविर देउवाको लगानी रहेको भन्दै आगलागी गरेको भनिएको छ । जबकि केही महिना अगाडी जयविरले लगानी गरेको भनिएर हल्ला गरिएपनि हिल्टनमा उनको लगानी नरहेको शंकर ग्रुपले विज्ञप्ति मार्फत स्पष्ट पारेको थियो ।

संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्ने हिल्टनमा स¥यो नेपालीहरूले रोजगारी पाएका थिए । अर्बौँ लगानीमा बनाइएको होटल हिल्टनमा सल्किएको आगोसँगै लगानी मात्रै खरानी भएको छैन की त्यहाँ रोजगार पाएकाहरूले समेत एकै पटक बेरोजगार भएका छन् ।

जेनजी आन्दोलनकारीले ठूला उद्यमी तथा बहुराष्ट्रिय कम्पनी र उनीहरूका निवासदेखि कार्यालयसम्म छानिछानी आक्रमण गरे । सञ्चार कार्यालयदेखि वायुसेवा कम्पनीसम्म आक्रमण हुँदा खर्बौँको क्षति भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको भाटभटेनीस्थित आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरे ।

अर्का व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटमा रहेको गोल्यान टावरमा तोडफोड र आगजनी गरिएको छ । बत्तीसपुतलीमा रहेको मारवाडी सेवा समिति टावरमा समेत आगजनी गरियो । उक्त भवनमा हिमालयन जाभा, हिमालयन बैंक थिए । त्यो पनि पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

पुरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आक्रमण गरेका प्रदर्शनकारीहरूले पर्यटन व्यवसायी राजेन्द्र बजगाईँको बालुवाटारमा रहेको वर्णवास होटलमा समेत आगजनी गरिएको छ । बजगाईँ कांग्रेसका सांसद समेत हुन् ।

पाँचतारे होटल हायातदेखि पोखराको सरोवर होटलमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । पोखराको बगैँचा रिसोर्ट र लगानीकर्ता विन्दुकुमार थापाको निवासमा आक्रमण गरिएको छ ।

आन्दोलनकारीहरूले निशानामा बैंकहरु समेत परेका छन् । त्यसबाहेक थापाथलीमा रहेको टाटा मोटर्सको शोरुममा पनि आगजनी गरिएको छ ।  सुजुकी, हुण्डाईका शोरुमहरुमा समेत जेन जी आन्दोलनकारीहरूको निशानामा परेका छन् ।

राजावादी आन्दोलनका क्रममा आक्रमण भएका मिडिया हाउसका कार्यालयहरूमा जेन जीहरुले आगजनी गरेका छन् । थापाथलीको कान्तिपुर मिडिया ग्रुप रहेको सेन्ट्रल बिजनेस पार्क, तीनकुनेमा रहेको कान्तिपुर कम्प्लेक्स, कान्तिपुर टेलिभिजनमा समेत आगजनी गरे । तीनकुनेकै अन्नपूर्ण पोष्टको कार्यालय रहेको कर्पोरेट टावरमा पनि आगजनी र लुटपाट गरेका छन् ।

अन्नपूर्ण पोष्टका सञ्चालक रामेश्वर थापाको काभ्रेमा रहेको घरमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले  सिम्रिक एयरको भवनमा समेत आगजनी गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal