(Wednesday , 02 September,2026)

कृष्णभीर पहिरोमा ग्याबियन वालमाथिबाट सवारी चलाउने

mountainejournal.com

mountainejournal.com

 काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारले ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना निर्माण गर्ने भएको छ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले विपद् प्रभावित क्षेत्र तथा राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न तत्काल वैकल्पिक संरचना निर्माण अघि बढाउने निर्णय गरेको हो। बैठकले कृष्णभीरको हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न सकिने गरी आवश्यक संरचना निर्माण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

सडकमा ट्र्याक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ निर्माण तथा हिलसाइडबाट बोल्डर तल खसाल्ने कार्यसमेत अघि बढाइने भएको छ। यसबाट पहिरो प्रभावित क्षेत्रमा सडक सञ्चालनका लागि आवश्यक ठाउँ व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि भने विभिन्न प्राविधिक विकल्पको अध्ययन गरिने भएको छ। सडक विभागले टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे आवश्यक अध्ययन गर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावनाबारे तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ।

उक्त प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीबीच समझदारीपत्र (एमओयू) गर्ने तयारीसमेत गरिएको मन्त्रालयले जनाएको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक क्षेत्रसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले कृष्णभीरमा सडक अवरुद्ध हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्ने गरेको छ। त्यसैले तत्काल सडक सञ्चालनसँगै दीर्घकालीन र सुरक्षित वैकल्पिक मार्ग निर्माणमा समेत जोड दिइएको मन्त्रालयले जनाएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal