काठमाडौं– चालु आर्थिक वर्षमा मुलुकको निर्यात व्यापारले इतिहास रचेको छ । यो वर्षको १० महिनामै कुल निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । दुई वर्षअघि कुल निर्यात व्यापार २ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो । यो वर्ष १० महिनामै २१७ अर्बबराबरको निर्यात पुगेको छ । बाँकी दुई महिनासहित जोड्ने हो भने यो आँकडा २५० अर्ब पुग्ने देखिन्छ ।
यो वैशाख महिनामा मात्रै ३० अर्ब रुपैयाँ हाराहारीको वस्तु निर्यात हुँदा दश महिनाको निर्यात व्यापार २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ पुगेको छ । तीन वर्षअघि १२ महिनाको व्यापारमा निर्यात व्यापारले २ खर्बको आँकडा पार गरे पनि यो वर्ष भने १० महिनामै २ खर्बभन्दा बढी निर्यात भएको हो ।
प्रतिशतका आधारमा गत वर्षको १० महिनाभन्दा चालु वर्षमा ७२.७१ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ । अघिल्लो वैशाखसम्म १ खर्ब २६ अर्बको निर्यात भएकोमा चालु वर्षमा ९१ अर्ब ७३ करोडले निर्यात बढेको छ । यसमध्ये गत वैशाखमा मात्र २९ अर्ब ७१ करोड ५९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको तथ्यांक छ ।
निर्यातमा सबैभन्दा ठूलो हिस्सा रहेको भटमासको तेल यो अवधिमा ७८ अर्ब ७५ करोड रुपैयाँबराबरको निकासी भएको छ । सोही अवधिमा १० अर्ब ९ करोड रुपैयाँबराबरको सनफ्लावर तेल निर्यात भएको विभागको तथ्यांक छ । यस्तै, ९ अर्ब ८६ करोड रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । ६ अर्ब ६६ करोड २५ लाख रुपैयाँबराबरको अलैंची निर्यात हुँदा ऊनी फेल्ट ४ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ । यो अवधिमा पाम आयल भने १ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको छ ।
व्यापार विज्ञ पुरुषोत्तम ओझाका अनुुसार निर्यात बढ्नु समग्रमा खुसीको कुरा भए पनि कत्तिको दिगो खालका वस्तु निर्यात भएका छन् त्यसमा ध्यान दिनुपर्ने हुन्छ । ‘भटमास तेल, सनफ्लावर तेलको निर्यात दिगो खालको होइन । तर गलैंचा, कफी, तयारी पोशाक, डग च्यू, प्लाइउडजस्ता वस्तु बढ्नु भने सकारात्मक हो । देशमा भ्यालु एड हुने, रोजगारी सिर्जना हुने वस्तुको निर्यात हुनु समग्र अर्थतन्त्रका लागि राम्रो हुन्छ,’ उनले भने । नेपालले जलविद्युतको क्षेत्रमा राम्रो प्रगति गरेकोले स्वदेशी उत्पादनमूलक तथा बढी विद्युत खपत गर्ने परियोजना नेपालमै सञ्चालन गरेर त्यसको लाभ वैदेशिक व्यापारबाट उठाउनुपर्ने उनको भनाइ छ ।
विभागका अनुसार यो अवधिमा आयात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वैशाखसम्म आयात १३ खर्ब ३ अर्ब रुपैयाँको भएको थियो । यस्तै, वैशाखसम्म व्यापार घाटा ६.४५ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष व्यापार घाटा ११ खर्ब ७७ अर्ब रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेर १२.८८ प्रतिशत पुगेको विभागले जनाएको छ । अघिल्लो वैशाखमा निर्यातको हिस्सा ८.८३ प्रतिशत मात्र थियो ।
आयाततर्फ पेट्रोलियम पदार्थकै हिस्सा बढी रहेको छ । विभागका अनुसार १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँको डिजेलसहित ५३ अर्ब ५ करोडको पेट्रोल तथा ५१ अर्ब ८१ करोडको एलपी ग्यास र १६ अर्ब १४ करोडको हवाई इन्धन आयात भएको छ । यसरी १० महिनामा कुल २ खर्ब २४ अर्ब ३९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २३ अर्ब रुपैयाँको विद्युतीय कार आयात भएको छ ।
भन्सार विभागका अनुसार १ सय ६३ देशसँग भएको वैदेशिक व्यापारमध्ये छिमेकी मुलुक भारतसँग व्यापार घाटा ७ खर्ब नाघेको छ । भारतबाट ८ खर्ब ८० अर्ब ५२ करोडका सामान आयात गरेको नेपालले १ खर्ब ७६ अर्ब ६ करोडको मात्र निर्यात गर्न सकेको छ । यसरी १० महिना अवधिमा नेपालको भारतसँग कुल व्यापार घाटा ७ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, अर्को छिमेकी मुलुक चीनसँगको व्यापार घाटा पनि २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । चीनबाट २ खर्ब ६६ अर्ब १४ करोड रुपैयाँको सामान आयात गरेको नेपालले चीनतर्फ भने २ अर्ब ३९ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । यस्तै, निर्यातको अर्को गन्तव्य मुलुक अमेरिकासँग नेपालको व्यापार घाटा ७ अर्ब ८८ करोड पुगेको छ । अमेरिकाबाट वैशाखसम्म २२ अर्ब ३१ करोडको आयात भएकोमा नेपालले १४ अर्ब ४३ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ ।
निर्यात भएका प्रमुख वस्तु
भटमास तेलः ७८ अर्ब ७५ करोड
धागोः १९ अर्ब ५० करोड
आइरन एन्ड स्टीलः १२ अर्ब २१ करोड
सनफ्लावर तेलः १० अर्ब ९ करोड
गलैंचाः ९ अर्ब ८६ करोड
अलैंचीः ६ अर्ब ६६ करोड
फेल्टः ४ अर्ब
पाम आयलः १ अर्ब
प्रतिक्रिया