(Thursday , 07 May,2026)

बेवारिसे चार वटै मोबाइल भ्यान चले

एक महिनामै १४०३ खाद्य उद्योग र व्यवसायी कारबाहीमा

mountainejournal.com

mountainejournal.com

काठमाडौं  । पाँच वर्षसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा आएका छन् । विभागले असोज १६ देखि २ वटा मोबाइल फुड ल्याव भ्यान सञ्चालनमा ल्याएको थियो । २ वटा बाँकी भ्यान मर्मत गरी कात्तिक ११ बाट चार वटै मोबाइल फुड ल्याव भ्यानहरु सञ्चालन ल्याएको हो । विभिन्न प्रकारका खाद्य तथा पेयजन्य पदार्थको अनुगमन स्थलमै विश्लेषण गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले विभागले २०७५ वैशाखमा ४ वटा प्रयोगशालासहितको मोबाइल भ्यान खरिद गरेको थियो ।

यी भ्यान २८ करोड रुपैयाँमा खरिद गरिएको थियो । भ्यान सञ्चालनमा आएको करिब एक वर्षपछि खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतो भई २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्तासमेत गरी १३ जनाविरुद्ध ५ असार २०७६ मा मुद्दा दायर गरेपछि मोबाइल भ्यान विभागको चौरमा बेवारिसे बनेका थिए ।

अदालतको आदेश र मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आएकी जोशीलाई गत भदौ १८ गते मन्त्रीस्तरीय निर्णय गरी कृषिमन्त्री रामनाथ अधिकारीले विभागको जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेका थिए । मन्त्री अधिकारीले उनको स्थानमा सहसचिव सञ्जिवकुमार कर्णलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । कर्णले महानिर्देशकको जिम्मेवारी सम्हाले लगत्तै बजार अनुगमन गर्न र बजारमा बिक्री हुने अखाद्य वस्तु नियन्त्रण गर्न थन्क्याइएका भ्यान मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।

महानिर्देशक कर्णले चार वटा मध्ये २ वटा बाँकी रहेका भ्यान पनि मर्मत गरी कात्तिक ११ वटा सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार अनुसार चार वटा भ्यान मध्ये एउटा काठमाडौं उपत्यकाका लागि सञ्चालन हुने भएको छ । अन्य तीन वटा बाह्य जिल्ला पठाइनेछन् । चाडपर्वसम्म विभागले चारै वटा भ्यान काठमाडौं उपत्यकामा सञ्चालन गर्ने उनले जानकारी दिए । छठपर्वपछि बाहिर जिल्ला पठाउने विभागले तयारी गरेको महानिर्देशक कर्णले बताए ।

उनका अनुसार काठमाडौं बाहिर पठाउन तयार गरेका तीन वटा भ्यान विराटनगर, भैरहवा र पोखरा वा धनगढीमा लगिने छ । पोखरा पठाउने कि धनगढी पठाउने त्यसको टुंगो लगाउन बाँकी रहेको महानिर्देशक कर्णले बताए । मोबाइल फुड ल्याव भ्यानसहित बजार अनुगमन गर्दा बजारमा बिक्री हुने अखाद्य वस्तु नियन्त्रण धेरै सहज भएको उनको भनाइ छ ।

१४०३ व्यवसायीमाथि कारबाही
विभागले लामो समयदेखि बेवारिसे मोबाइल भ्यान सञ्चालन गरी एक महिनामा १ हजार ४ सय ३ वटा खाद्य उद्योग व्यवसायलाई कारबाही गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कारोबार गर्ने खाद्य उद्योग तथा व्यवसायहरुलाई विभागले कारबाही गरेको हो । विभागले असोज १६ बाट २ वटा मोबाइल फुड ल्याव भ्यान मर्मत गरी बजारमा अनुगमन सुरु गरेको थियो ।

विभागका अनुसार असोज १६ देखि कात्तिक १२ सम्म बजार निरीक्षण अनुगमन गरी खाद्य ऐन विपरीत कारोबार गर्ने १ हजार ४ सय ३ वटा खाद्य उद्योग व्यवसाय फर्मलाई कारबाही गरेको हो । विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोलीहरु खटाइ खाद्य उद्योग तथा व्यवसायहरुको अनुगमन गर्दै आएको छ ।

विभागका अनुसार असोज १६ देखि कात्तिक १२ गतेसम्म १ हजार ४ सय ३ वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन गरी कारबाही गरेका मध्ये ६ सय २९ वटा खाद्य बजार छन् भने ३७५ वटा खाद्य उद्योग र ४ सय वटा होटल तथा रेस्टुरेन्टहरु निरीक्षण अनुगमन गरी कारबाही गरेको छ ।

यसैगरी विभागका अनुसार देशैभरबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ३९ वटा नमूना र खाद्य स्वच्छता सर्भिलेन्सका लागि २१२ वटा नमूना गरी ३५७ सय वटा खाद्य पदार्थका नमूनाहरु संकलन गरिएको छ । निरीक्षण अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेवल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका करिब २८ लाख ४१ हजार ५६५ मूल्यबराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal