(Wednesday , 10 June,2026)

२ किलो चिनीका लागि २ घण्टा लाइन

संवाददाता

संवाददाता

काठमाडौं ।  नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं र तिहारको मुखमा चिनी हाहाकार भएको छ । बजारमा अभाव हुँदा सरकारले उपलब्ध गराउने दुई किलो चिनीका लागि उपभोक्ताले दुई घण्टा लाइन बस्नुपरेको छ ।

पछिल्लो समय बजारमा चिनी अभाव देखाएर व्यापारीले मूल्य बढाएका छन् । अहिले खुद्रा पसलमा प्रतिकिलो १५०-१६० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ । त्यो पनि भनेजति पाइने अवस्था छैन । साल्ट ट्रेडिङ कर्पोरेशनले भने प्रतिकिलो ९७ रुपैयाँमा चिनी दिइरहेको छ । साल्ट टेडिङले प्रतिपरिवार दुई किलो चिनी दिएको छ । त्यही चिनी लिन सर्वसाधारण दुई घण्टा लाइनमा बस्न बाध्य छन् ।

बजारमा चिनी नपाएपछि धादिङ धुनीबेशीबाट साल्ट टे«डिङमा दुई किलो चिनी लिन आएको राजु खकुरेलले बताए । बालबच्चाले चिनीबिना खाना खान नमानेपछि उनीहरुकै लागि पनि काठमाडौं आएको खकुरेलले सुनाए । यस्तै, कपनबाट आएका किश्वर शेर्पाले बजारमा चिनी नपाएपछि साढे दुई घण्टा लाइन बसेर दुई किलो चिनी किनेको बताए । चाडपर्वको मुखमा घरमा आउने पाहुनालाई चिया दिन चिनी नपाएपछि खोज्दै साल्ट टेडिङको कालिमाटी कार्यालयमा आएको शेर्पाले सुनाए । उनी काठमाडौंका धेरै ठाउँमा चिनी खोज्दा नपाएपछि यहाँ आइपुगेका हुन् ।

साइरस अंग्रेजी बोर्डिङ स्कुलमा ९ कक्षामा पढ्दै गरेका विद्यार्थीसमेत चिनी लिन लाइन बसेका थिए । कलंकी बस्दै गरेकी मनिषा अधिकारी बजारमा चिनी महँगो भएपछि साल्ट टेडिङमा लिन आइकी थिइन् । उनको घरमा चिया पसल छ । चिनी नभएर चिया बिक्री गर्न नपाएपछि स्कुलबाट साल्ट टेडिङ आएको उनले कारोबारसँग बताइन् । मनिषासँगै एउटै स्कुलमा पढ्ने चार जना अन्य विद्यार्थी पनि लाइनमा बसेका थिए ।

लैनचोरदेखि दुई किलो चिनी लिन आएका ६५ वर्षे रामजी सापकोटाले भने आफू वृद्ध भएकाले धेरै समय लाइन बस्नु नपरेको बताए । आधा घण्टा लाइन बसेर चिनी, तेल र एक किलो चिउरा लिएको सापकोटाले जानकारी दिए ।

साल्ट टेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बजारमा नपाएर चिनीमात्र लिन आउनेको बिहान १० बजेदेखि साँझ ६ बजेसम्म लाइन हुने जानकारी दिए । बजारमा अभाव हुँदा सबैलाई सहज आपूर्ति गर्न प्रतिपरिवार दुई किलोमात्र दिने गरेको उनले बताए । तर, कतिपय परिवारका धेरै सदस्यले लाइन बसेर चिनी लिने गरेका कारण व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । एउटै परिवारको हो भनेर पहिचान गर्न नसकिने हुँदा एउटै परिवारका २-४ जनाले लिने गरेको उनले बताए ।

सरकारले चिनी आयातका लागि साल्ट टेडिङलाई अनुमति दिएको भए दसैंको मुखमा यस्तो समस्या नहुने उनको भनाइ छ । सरकारले समयमा चिनी आयातका लागि अनुमति नदिँदा उपभोक्ताको मागअनुसार चिनी आपूर्ति गर्न साल्ट ट्रेडिङलाई समस्या भएको उनले बताए । बजारमा चिनीको मूल्य १५०-१६० भए पनि साल्ट टेडिङले प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए ।

सरकारको अकर्मण्यताका कारण प्रतिकिलो ८० रुपैयाँमा पाउनुपर्ने चिनीलाई उपभोक्ताले १५०-१६० रुपैयाँ तिर्नुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनका अनुसार समयमा साल्ट टेडिङलाई चिनी आयातको अनुमति दिएको भए अहिले दसैंको मुखमा उपभोक्ताले १६० रुपैयाँ तिर्नुपर्ने अवस्था आउने थिएन । साल्ट टेडिङसँग मौज्दात नभएका कारण बजारमा व्यापारीले कृत्रिम अभाव देखाएर कालोबारी गरेको अध्यक्ष महर्जनको भनाइ छ ।

सरकार उपभोक्ताप्रति जिम्मेवार नहुँदा चाडपर्वका मुखमा अत्याश्वयक वस्तुको आपूर्तिमा असहजता देखिएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । चाडपर्वको मुखमा अत्यावश्यक वस्तु चिनीलगायत खाद्यवस्तु सहज रुपमा आपूर्ति गर्नुपर्नेमा बजारमा चिनीकै हाहाकार भएको उनको भनाइ छ । ‘सरकारले दसैं सुरु हुने ६ दिन अघिमात्र चाडपर्व लक्षित सहुलियत पसल गर्छ । यो नाटकमात्र हो । सहज आपूर्तिका लागि चाडपर्व आउनुभन्दा तीन महिनाअघि नै सहुलियत पसल सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।

सरकारसँग स्वदेशी उत्पादन र खाद्यान्नको माग तथा आपूर्तिको वैज्ञानिक तथ्यांक नहुँदा चाडपर्वमा अत्यावश्यक वस्तुमा व्यापारीले कालोबारी गरेको अध्यक्ष तिमल्सिनाले बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक तीर्थराज चिलुवालले चिनीमा कृत्रिम अभाव गरी बढी मूल्य लिएर बिक्री गर्नेलाई कारबारी गर्ने गरेको बताए । ‘कुनै पनि वस्तुमा कालोबजारी गर्नेलाई कालोबजारी ऐनबमोजिम सिडियो कार्यालयले कारबाही गर्ने गरेको छ । विभागले पनि तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर वस्तु बिक्री गरी उपभोक्ता ठग्नेलाई कारबाही गरिरहेको छ,’ उनले भने, ‘बजारमा चिनीको अभाव छ ।

चिनी उद्योगीसँग विवरण माग्दा स्वदेशी उत्पादन २ वटा चिनी मिलसँग उद्योगीलाई बिक्री गरिसकेको १ लाख ८८ हजार क्विन्टलमात्र चिनी छ । यो चिनीलाई बजारमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, चिनी मिल र व्यापारीसँग छलफल हुँदैछ ।’

बिक्री गरेको केही परिणाम बजारमा पठाएपछि चाडपर्वमा चिनी केही सहज हुने उनले बताए । बजारमा चिनी सहज होस् भनेर केही दिनअघि व्यापारीले लुकाएर राखेको ७० हजार किलो चिनी साल्ट टेडिङलाई बिक्रीका लागि दिएको उनले जानकारी दिए । बजारमा चिनीको सहज आपूर्तिका लागि विशेष गरेर विभागले चिनीको विषयलाई केन्द्रित गरी अनुगमन गरिरहेको उनको भनाइ छ । चाडपर्वमा आम उपभोक्तालाई चिनीको सहज आपूर्तिका लागि भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । ५० हजार टन चिनी दिन भारत सरकारलाई अनुरोध गरेको उनले बताए । तत्कालका लागि १० हजार टन चिनी भए पनि चाडपर्वलाई सहज हुने प्रवक्ता ठाकुरले जानकारी दिए ।

उनका अनुसार वार्षिक नेपालमा चिनी खपत ३ लाख टन हाराहारी छ । यसमा ७५-८० प्रतिशत उद्योगमा प्रयोग हुन्छ । घरायसीका लागि २०-२५ प्रतिशत उपभोग हुन्छ । माग अनुसार स्वदेशी उत्पादन नहुँदा चिनीमा समस्या आएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal