काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ ।
आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै सिआइबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिए ।
यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर विभागले थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरेको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने जनाइएको छ ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजीरी जवानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।
यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नाका क्रममा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज गृह मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।
विवादस्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा काठमाडौँ प्रहरी परिसर टेकु अगाडि धर्ना दिइएको थियो । सोही धर्नाका क्रममा झडप हुँदा केही घाइते भएका थिए ।
सोही दिन पक्राउ परेका अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौँको आदेशले रिहा भएका थिए । गृहमन्त्री श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा राखिएका व्यक्तिलाई यातना दिने र दिन आदेश गर्ने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा पीडितलाई उचित क्षतिपूर्ति एवं उपचारको माग गरिएको छ ।
प्रतिक्रिया