(Monday , 04 November,2024)

खाद्यले ७३ हजार टन धान खरिद गर्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष २ अर्ब ६५ करोड रुपैयाँ खर्चेर ७३ हजार ६ सय २० टन धान खरिद गर्ने भएको छ । कम्पनीले यो धान २४ जिल्लामा खरिद गर्नेछ । गत वर्ष कम्पनीले ५० हजार २ सय टन धान खरिद गर्ने भन्दै १ अर्ब ७४ करोड रुपैयाँ छुट्ट्याएको थियो । तर, कम्पनीले करिब ४ हजार ५ सय टनमात्र धान खरिद गरेको थियो ।

कम्पनीले चालु आवमा भने धान खरिदको परिमाण र रकम दुवै बढाएको छ । कम्पनीले गत वर्षका तुलनामा धान खरिद गर्ने लक्ष्य २३ हजार ४ सय २० टन बढाएको हो । यस्तै बजेट पनि ९१ करोड रुपैयाँ बढाएर राखिएको छ । धान खरिदलाई प्रभावकारी बनाउन यो वर्ष कम्पनीले केन्द्रीय कार्यालयबाट २४ जिल्लामा २४ टोली खटाएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार यो वर्ष ७३ हजार ६ सय २० टन धान खरिद गर्ने र यसका लागि २ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । विगतमा सम्बन्धित कार्यालयबाट मात्र धान खरिद टोली बनाउने गरिएको थियो । यस पटक स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयबाट धान खरिद टोली बनाएर चौबीसै जिल्लामा पठाएको सूचना अधिकारी न्यौपानेले बताइन् । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्नेछ ।

सरकारले चालु आवका लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ निर्धारण गरेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ र मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । यो वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढेको हो । गत वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा व्यापारीले धेरै मूल्य दिएका थिए ।

यही कारण कम्पनीले धान खरिद गर्न सकेको थिएन । गत वर्ष कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसके पनि यसपटक ७३ हजार ६ सय २० टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । यसपटक सरकारले किसानलाई धानबाली लगाउन अनुदान दिएका जोन, सुपर जोन र पकेट क्षेत्रबाट धान खरिद गर्ने तयारी गरेको उनले बताए ।

कम्पनीले कृषि मन्त्रालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहसँगको समन्वयमा धान खरिद गर्ने तयारी गरेको आचार्यले जानकारी दिए । ‘कम्पनीले लिएको लक्ष्यबराबर धान खरिद गर्ने प्रयास गरिनेछ,’ उनले भने, ‘कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्ने हो । त्योभन्दा बढी व्यापारीले दिए किसानलाई फाइदा पुग्नेछ ।’ उनका अनुसार कम्पनीले मुख्य रूपमा सरकारले अनुदान दिएर उत्पादन भएको धान खरिद गर्ने योजना बनाएको छ ।

धान खरिदका लागि कम्पनीले विभिन्न स्थानीय तहमा टोली खटाइसकेको उनले बताए । उनका अनुसार सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न कृषक समूहसँग प्रत्यक्ष सरोकार राख्ने तराईका जिल्लामा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यालयमा पत्राचार गरिएको छ । धान खरिदमा समन्वय गर्न कृषि मन्त्रालयलाई समेत आग्रह गरिएको छ ।

कुन जिल्लामा कति धान खरिद गर्ने ?
१. कञ्चनपुर- १,५०० टन
२. कैलाली- ५,५०० टन
३. बर्दिया- १०,००० टन
४. बाँके- ५,००० टन
५. दाङ- १,८०० टन
६. कपिलवस्तु- २,००० टन
७. रुपन्देही- १,८०० टन
८. नवलपरासी- (पश्चिम/पूर्व) २,००० टन
९. चितवन- १,००० टन
१०. मकवानपुर- १,००० टन
११. पर्सा- ४,५०० टन
१२. बारा- २,००० टन
१३. रौतहट- २,००० टन
१४. सर्लाही- २,००० टन
१५. महोत्तरी- ३,००० टन
१६. धनुषा- ४,५०० टन
१७. सिराह- ४,००० टन
१८. सप्तरी- १,५०० टन
१९. सुनसरी- ३०० टन
२०. मोरङ- ३,००० टन
२१. झापा- ५,००० टन
२२. जुम्ला- २० टन
२३. उदयपुर- ८०० टन
२४. कास्की- ५० टन
कुल जम्मा : लक्ष्य ७३,६२० टन धान खरिद गर्ने

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal