(Sunday , 19 April,2026)

सय किलो सुन तस्करी प्रकरण: नौ जना पक्राउ, छानबिन समिति गठन

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर निस्किएको ट्याक्सीलाई सिनामंगलमा खानतलासी गर्दा ठूलो परिमाणमा सुन फेला पारेको छ । बाहिर सवारीधानको ब्रेक शु लेखिएको प्याकेटमा सुन भेटिएको हो ।

यो सुन हङकङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । यसरी अवैध रुपमा भित्र्याइएको सुनको परिमाण सय किलो अनुमान गरिएको छ । बरामद सबै सामान राष्ट्र बैंकको टक्सार विभागमा जोख्दा १५५ किलो पुगेको छ । यसमा प्याकभित्र भएको ब्रेक शुको तौल घटाउँदा सुनमात्रै सय किलोजति हुने अनुमान विभागले गरेको छ । एक अर्बभन्दा बढी मूल्य पर्ने यो सुन कसको हो भन्ने खुलेको छैन ।

हालसम्म दोलखा घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका छन् । उनीहरूले बयानका क्रममा अरु कसैको नाम लिएको प्रहरीले बताएको छैन । समातिएका ६ जना भरिया हुन् वा कारोबारी हुन् भन्ने पनि यकिन खबर बाहिर आइसकेको छैन । बिहीबार नै एक चिनियाँ नागरिक पनि समातिएका छन् । उनी तिब्बत जान लाग्दा विमानस्थलबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई बिहीबार नै अदालतमा पेश गरिएको छ । उच्च अदालत पाटनले अभियुक्तहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यही प्रकरणमा बिहीबार राति दुई जना कार्गो सञ्चालक पनि पक्राउ परेका छन् । ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालयबाट सुन बाहिरिनुको कारण पत्ता लगाउन भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठित समितिलाई पाँच दिनको समय दिइएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । ‘विभागका कर्मचारीले आवश्यक चेकजाँच गरे पनि कहिलेकाहीँ प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिन सक्ने भएकाले छानबिन समिति गठन गरिएको हो,’ खड्काले भने ।

छानबिन टोलीले गोदाममा थप सामान भए–नभएको, भन्सार प्रक्रियाको त्रुटि, जाँचपासमा खटिएका कर्मचारीले मालवस्तुको एक्सरे परीक्षण गरे–नगरेको, त्यसमा खटिएका कर्मचारी, मालवस्तुको भन्सार मूल्यांकन गर्ने कर्मचारी, पास गर्ने अन्तिम निर्णय गर्ने अधिकारी तथा सिसिटिभी फुटेज इत्यादिको अध्ययन गर्नेछ । विमानस्थलबाट बरामद सुनको परिमाण हालसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ किलोसम्म बरामद भएको राजस्व अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एक क्विन्टल सुन बरामद भएर केही मानिस पक्राउ परे पनि यसअघि यस्तैगरी सुनको कारोबार भएको हुन सक्नेबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् । अनुसन्धानपछि सुन तस्करको गिरोहबारे थप जानकारी बाहिर आउने उनको भनाइ छ । उनले भने, ‘अनुसन्धान भर्खरै सुरु भएकाले धेरै कुरा बाहिरिएका छैनन् । सुन बरामद गरिएको छ । केही मानिस पक्राउ परेका छन् । थप छानबिनपछि सबै कुरा खुलस्त हुन्छ ।’ भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा पर्ने उनको भनाइ छ ।

प्रहरी र भन्सारका अधिकारीहरुसँग गृहमन्त्रीको छलफल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र भन्सारका उच्च अधिकारीहरुसँग यसबारे छलफल गरेका छन् । प्रहरी, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागका प्रमुखलाई उनले गृह मन्त्रालयमा बोलाएका हुन् ।

छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, एआईजी मीरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललगायत सहभागी थिए ।

मल्होत्राले भने– मेरो संलग्नता छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब सय किलो सुन प्रकरणमा नाम जोडिएपछि व्यापारी दीपक मल्होत्राले त्यसमा आफ्नो संलग्नता नभएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन् ।

उनले भने, ‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन । मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु ।’ उनले आफ्नो नाम जोडेर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको दाबी गरे । उनले आफूलाई कुनै जानकारीका लागि सोधपुछ नगरिएको समेत बताए । उनले भने, ‘अनुमानको भरमा स्रोतको हवाला दिँदै पत्रकारले समाचारमा मेरो नाम मुछेका छन् । तस्बिरसमेत राखेर मेरो सार्वजनिक जीवनमा प्रहार गर्न खोजेका छन् ।’ मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे ।

’एक सामान्य नागरिकसरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ । यस पृष्ठभूमिमा मलाई एकपटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानुनी क्रियाकलापमा मेरो तस्बिरसहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गम्भीर चोट पु¥याउने र मर्माहत गर्ने कार्य भएको छ,’ उनले भनेका छन् ।

यस्तो छ सुन तस्करीको श्रृंखला
पछिल्ला नौ वर्षमा तस्करीबाट भित्रिएको साढे ६ सय किलोभन्दा बढी सुन बरामद भएको छ । आर्थिक वर्ष २०७१/७२ यता स्थल र हवाई मार्गबाट अवैध रुपमा भित्रिएको ६ सय ६५ किलो सुन सुरक्षा निकाय तथा भन्सार र राजस्व प्रशासनका विभिन्न निकायले बरामद गरेका हुन् । नेपालमा हङकङ, दुबई, चीनलगायत मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका नाका हुँदै अवैध सुन भित्रिने गरेको छ ।

यसअघि २०७४ भदौमा काठमाडौं प्रहरीले रसुवागढी नाका हुँदै ल्याइएको ८८ किलो सुनसहित एक भरियालाई पक्राउ गरेको थियो । सुन कारोबारमै संलग्न काठमाडौंका केही सुनचाँदी व्यापारी पनि पक्राउ परेका थिए । तर, विदेशबाट सुन पठाउने मुख्य गिरोह र त्यसलाई व्यवस्थापन जिम्मा पाएका नेपालमा सक्रिय एजेन्टसम्म प्रहरी पुग्न सकेको छैन ।


नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला नौ वर्षमा सबैभन्दा बढी आव २०७४/७५ मा २ सय किलोभन्दा बढी सुन बरामद भएको छ । यसैगरी आव २०७१/७२ मा १७९ किलो तस्करीको सुन बरामद भएको थियो ।

आव २०७२/७३ मा ७२ किलो, २०७३/७४ मा ६४ किलो, २०७५/७६ मा ५२ किलो, २०७६/७७ मा ३० किलो, २०७७/७८ मा ३२ किलो, २०७८/७९ मा २४ किलो र २०७९/८० मा ११ किलो सुन बरामद भएको तथ्यांक छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal