(Thursday , 05 March,2026)

सूचना प्रविधिको प्रयोग सामाजिक रूपान्तरण हुने ः मन्त्री शर्मा

mountainejournal.com

mountainejournal.com

 काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताइन् ।      

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सूचना प्रविधिमा महिलालेआयोजना गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले विज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने उनको भनाइ थियो ।  उनले भनिन्, “समयको गतिसँगै विज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्छ ।”    
    
उनले पछिल्लो समयमा यो क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता बढेकामा खुसी व्यक्त गरिन् ।  सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाले सूचना सञ्चारको क्षेत्रमा भइरहेको तीव्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाले सक्रिय भूमिका खेल्न सक्ने कुरामा आधार बढ्दै गएको उनको भनाइ थियो ।    
    
विगतको जनयुद्धमा बन्दुक र बच्चा साथसाथै बोकेर महिलाले गणतन्त्र ल्याएको स्मरण गराउँदै माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्माले भनिन्, “अब संविधान र कानूनले सुनिश्चित गरेका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।” आफूले मन्त्रालय सम्हालेपछि राजनीतिक र कानूनी साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यसलाई कार्यक्रमिक रूप दिने बताइन्       
    
प्रविधिको प्रयोगले महिलाको जीवन सहज बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिकै दुरुपयोगबाट महिलाले आफ्नो जीवन गुमाउने अवस्था पनि कायमै रहेकाले प्रविधिको सदुपयोग र साइबर नैतिकतामा जोड दिइन् ।      
    
मन्त्री शर्माले पितृसत्तात्मक सोचका कारण संविधान र कानूनमा व्यवस्था गरिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न चुनौती भएको बताइन् । उनले भनिन्, “महिला हामी आफैँले पैतृक सम्पत्ति लिन हिच्किचाउँछौँ । छोरीहरू पैतृक सम्पत्ति लिने कि माइती रोज्ने भन्ने बाध्यतामा पर्छन् । त्यसैले पनि महिला अधिकारलाई व्यावहारिक कार्यान्वयन गर्न सोहीअनुसारको कार्यक्रम ल्याउन आवश्यक छ ।”    
    
सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेका एक सय एक जना महिलाको सफलताको कथा समेटिएको पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा सूचना प्रविधिमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान पनि गरिएको थियो ।    
  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal