काठमाडौं । माघे संक्रान्ति नेपालीहरूको एक पर्व नै हो । माघे संक्रान्तिमा तरुल र विभिन्न कन्दमुल उसिनेर खाने परम्परा छ । माघे संक्रान्तिमा विभिन्न खालको कन्दमुल उसिनेर खाने परम्परा भएकै कारण स्थानीय बजारमा कन्दमुलको माग पनि बढ्ने गर्छ । विगतमा स्वदेशी उत्पादनले स्थानीय बजारमा माग आपूर्ति गर्न नसक्ने हुँदा व्यापारीहरूले माघे संक्रान्तिलाई नै लक्षति गरी ठुलो मात्रामा भारतबाट कन्दमुलहरू आयात गरेर बजारमा विक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय नेपाली कृषकहरूले पनि तरुल खेती गर्न थालेपछि माघे संक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने गरेको व्यापारीहरू बताउँछन् ।
पछिल्लो समय माघे संक्रान्तिको लागि भारतबाट तरुल आयात गर्नु नपरेको कालिमाटी तरकारी तथा फुलफुल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले जानकारी दिए । उनले स्वदेशमै उत्पादन भएको तरुलले बजारको माग धानेको उनको भनाइ छ । ‘ विभिन्न जिल्लाका कृषकले तरुल खेती गर्ने गरेका छन् ।’ अध्यक्ष आचार्यले भने, ‘स्वदेशमै तरुल खेती हुन थालेपछि माघे संक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु पर्दैन । स्वदेशी उत्पादन नै पर्याप्त छ ।’
सर्लाही, नवलपरासी, मकावनपुर, काभे्र, धादिङ, चितवन, पाल्पा लगायतका जिल्लामा तरुल खेती हुन्छ । सबै भन्दा धेरै सर्लाहीमा तरुल उत्पादन हुन्छ । बजारमा भएको सबै तरुल नेपाली उत्पादन नै भएको आचार्यले जानकारी दिए । ५÷६ वर्ष अघि देखि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आएको उनको दावी छ । थोक बजारसंघका अध्यक्ष आचार्यका अनुसार थोक बजारमा सेतो तरुल प्रतिकेजी ६० देखि ८० रुपैयाँ पर्छ । सिमालको जरा प्रतिकेजी ६० देखि ७० रुपैयाँ, वनतरुल २ सयदेखि २५० रुपैयाँ, हात्तितरुल २ सय देखि २५० रुपैयाँ, पातले तरुलको १६० देखि २ सय रुपैयाँमा बिक्री भएको उनले जानकारी दिए ।
कालिमाटी फलफुल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघे संक्रान्तिका लागि पछिल्लो समय खासै आयात नहुने गरेको जानकारी दिए । केही मात्रमा सखरखण्ड मात्र आयात हुने गरेको उनले बताए । नेपाली कृषकले खेतीको रूपमा तरुल लगाउन थालेपछि स्वदेशी उत्पादन तरुल नै पर्याप्त हुने गरेको जानकारी दिए । कालिमाटी बजारमा पुस महिनामा १ सय ५० टन विभिन्न तरुल भित्रएकोमा भारतबाट जम्मा १३ टन आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो समय ९२ प्रतिशत स्वदेशी तरुल ८ प्रतिशत भारतबाट आउने गरेको उनले बताए ।
पछिल्लो समय स्वदेशमै ठुलो मात्रामा तरुल उत्पादन हुने हुँदा केही मात्रा भारतबाट तरुल आउने गरेको उनको भनाइ छ । नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त हुने सूचना अधिकारी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कालिमाटी बजारमा सबै भन्दाा धेरै सर्लाही तरुल आउने गर्छ । बजारमा आएको तरुल मध्ये ४५ प्रतिशत तुरुल सर्लाही हो ।
यस्तै, धादिङको, सुनसरीको,चितवनबाट करिब १० देखि १३ प्रतिशत तरुल कालिमाटी बजारमा भित्रिएको छ । यस्तै, नवपरासी मकावनपुर, कार्भे, झापाको तनहुन, गोर्खा लगायतका जिल्लाबाट केही मात्रामा आउने गरेको उनले बताए । गवतर्षको भन्दा यसपटक ५ देखि १० प्रतिशत मूल्यमा तलमाथि रहेको उनले बताए । उनका अनुसार प्रतिकेजी ६० देखि ३०० रुपैयाँसम्मको तरुल विक्री भएको छ । सबै भन्दा महँगी हात्तीपाइल र बन तरुल हो ।
प्रतिक्रिया