काठमाडौं । करिब २ दशकदेखि केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्कासन गरेको छ । गृहमन्त्रालयले उनलाई आज साँझ फ्रान्स पठाउने तयारी गरेको छ । उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी गृहमन्त्रालयले निष्कासन गरेको हो ।
अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार शोभराजलाई विसं २०८९ सम्म नेपाल आउन नपाउने गरी उनको देश फ्रान्स पठाउने निर्णय गरेको हो । गृहको यो निर्णयसँगै शोभराज शुक्रबार नै फ्रान्स पठाइने टुंगो लागेको हो ।
त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीले समन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको छ ।
बुधबार सर्वोच्च अदालतले शोभराजलाई जेलमुक्त गर्न निर्देशन दिएको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो ।
उनलाई अहिले कागजी प्रक्रियाका लागि अध्यागमन विभागमा राखिएको छ । कागजी प्रक्रिया पूरा भएपछि अध्यागन विभागले उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट निस्कासन गर्नेछ ।
२ जनाको हत्या आरोपमा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो । शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
२०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो ।
कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले २०७५ मंसिर २५ गते बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए । उनले आफूले ७० वर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया