(Thursday , 26 November,2026)

लैङ्गिक हिंसा अन्त्य गर्न सरकार र संयुक्त राष्ट्रसंघको जोड, निष्क्रियताले वार्षिक ३ अर्ब ६० करोडसम्म आर्थिक क्षति

संवाददाता

संवाददाता

काठमाडौं-  लैङ्गिक हिंसा अन्त्य गर्न तथा हिंसाबाट प्रभावित व्यक्तिलाई न्याय र संरक्षण सुनिश्चित गर्न नेपाल सरकार र संयुक्त राष्ट्रसंघले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र नेपालस्थित संयुक्त राष्ट्रसंघले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुननेपालमा कानुनी तथा संस्थागत सुधारमा प्रगति भए पनि महिला तथा बालिकामाथि हुने हिंसा अझै गम्भीर चुनौतीका रूपमा रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारीरिक हिंसा भोगेका छन् भने ८ प्रतिशतले यौन हिंसा भोगेका छन्।

त्यस्तै, शारीरिक वा यौन हिंसा भोगेका ५८ प्रतिशत महिलाले आफूले भोगेको हिंसाबारे कसैलाई जानकारी नदिएको वा सहयोग नमागेको पाइएको छ।

लैङ्गिक हिंसाले महिला तथा बालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा मात्र नभई शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरतामा समेत असर पुर्‍याइरहेको छ। प्रारम्भिक अनुमानअनुसार हिंसाका कारण आयआर्जन हुने काममा अवरोध पुग्दा नेपालले वार्षिक करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नुपर्ने देखिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रत्येक महिला तथा बालिकालाई हिंसा र डरबिना बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले कानुनी तथा संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दै हिंसाबाट प्रभावित व्यक्तिलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गरिन्।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पनि कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाबाट प्रभावित व्यक्तिलाई समयमै न्याय र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

यस वर्षको विश्वव्यापी ‘UNiTE’ अभियान ‘न्याय सुनिश्चित गरौँ, हिंसाबाट प्रभावित व्यक्तिको संरक्षण गरौँ र दण्डहीनता अन्त्य गरौँ’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ। अभियानले न्यायमा पहुँचका अवरोध हटाउने, सम्बन्धित निकायको जवाफदेहिता बढाउने तथा डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसालगायत हिंसाका सबै स्वरूपलाई सम्बोधन गर्ने विषयलाई प्राथमिकता दिएको छ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका कार्यवाहक आवासीय संयोजक याको डु तुवाले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत सुधारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले न्याय क्षेत्रमा कार्यरत निकायको क्षमता अभिवृद्धि, कानुनी सहायता तथा पीडितमैत्री सेवामा पहुँच विस्तार गर्नुपर्ने उल्लेख गरे।

उनले सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने, महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाको नेतृत्व सुदृढ गर्ने र हिंसालाई प्रोत्साहन गर्ने सामाजिक मान्यतामा परिवर्तन ल्याउनुपर्नेमा समेत जोड दिए।

१६ दिने अभियानको शुभारम्भका अवसरमा मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको सहकार्य र नेपालस्थित संयुक्त राष्ट्रसंघको सहयोगमा काठमाडौंमा उच्चस्तरीय राष्ट्रिय संवाद आयोजना गरेको थियो।

संवादमा सरकार, न्याय क्षेत्र, नागरिक समाज, हिंसाबाट प्रभावित व्यक्तिका अधिकारका लागि कार्यरत अभियन्ता, निजी क्षेत्र तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूले लैङ्गिक हिंसाका कारण व्यक्ति, परिवार र राष्ट्रले बेहोर्नुपर्ने सामाजिक तथा आर्थिक क्षतिबारे छलफल गरेका थिए। साथै न्यायमा पहुँचका विद्यमान अवरोध हटाउने व्यावहारिक उपायबारे पनि विचार आदानप्रदान गरिएको थियो।

मन्त्रालय र संयुक्त राष्ट्रसंघले लैङ्गिक हिंसा अन्त्यको अभियानलाई १६ दिनमा मात्र सीमित नराखी ठोस प्रतिबद्धता, प्रभावकारी सहकार्य र मापनयोग्य उपलब्धिसहित निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal