(Saturday , 21 November,2026)

३ महिलाको आर्थिक नेतृत्व बढाउन जेन्डर स्मार्ट फाइनान्स ल्याब’ सुरु

संवाददाता

संवाददाता

ललितपुर । महिलाको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच तथा नेतृत्वदायी भूमिकामा सहभागिता बढाउने उद्देश्यले नेपालमा ‘जेन्डर स्मार्ट फाइनान्स ल्याब’ सुरु गरिएको छ। यूएन वुमन नेपालद्वारा बिहीबार ललितपुरस्थित होटल हिमालयमा आयोजित सन् २०२६ को महिला सशक्तीकरण सिद्धान्त (डब्लूईपीएस) मञ्चमा उक्त ल्याबको शुभारम्भ गरिएको हो।

व्यवसाय, वित्त र प्रभाव’ मूल नाराका साथ आयोजित मञ्चमा सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार तथा महिला उद्यमीहरूको सहभागिता थियो। कार्यक्रममा महिलाको वित्तीय पहुँच विस्तार, बजारमा सहभागिता, मर्यादित रोजगारी र नेतृत्वका अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै यूएन वुमन नेपालकी आवासीय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले महिलाको आर्थिक सहभागितालाई नेतृत्वमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। महिलाले सम्पत्तिको स्वामित्व लिन, आर्थिक निर्णय गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले महिलाको आर्थिक नेतृत्व सुनिश्चित गर्न वित्तीय पहुँच, बजार विस्तार, हेरचाह सेवा तथा सार्वजनिक सेवामा समन्वित नीति र व्यावहारिक सहयोग आवश्यक रहेको बताइन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नेपालको अर्थतन्त्रमा महिलाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउने प्रयासलाई नेतृत्व र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्ने बताए।

उनका अनुसार महिलालाई सम्पत्तिको स्वामित्व, नवप्रवर्तन, विश्वव्यापी मूल्य शृङ्खलामा सहभागिता र संस्थागत नेतृत्वमा अघि बढाउन सरकार, निजी क्षेत्र तथा समाजबीच सहकार्य आवश्यक छ।

मञ्चमा नेपालको आर्थिक अवस्था, महिला आर्थिक सशक्तीकरण, लैंगिक उत्तरदायी खरिद प्रणाली तथा निजी क्षेत्रको भूमिकाबारे विभिन्न विषयगत छलफलसमेत गरिएको थियो। सहभागीहरूले महिलाको वित्तीय पहुँच, बजार विस्तार, व्यवसाय वृद्धि र नेतृत्वका अवसरमा देखिएका चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा नेपालमा लैंगिक उत्तरदायी वित्तीय सेवा तथा लगानी प्रवद्र्धन गर्दै महिलाको नेतृत्वमा सञ्चालित उद्यमलाई सहयोग पु¥याउने उद्देश्यले जेंडर स्मार्ट फाइनान्स ल्याब सुरु गरिएको हो।

समापन मन्तव्य राख्दै नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीले महिला आर्थिक सशक्तीकरणका लागि तालिम र व्यवसाय सुरु गर्न सहयोग गर्नु मात्र पर्याप्त नहुने बताए। महिलालाई वित्तीय स्रोत, बजार, मर्यादित रोजगारी तथा नेतृत्वका अवसर उपलब्ध गराउने अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

उनले महिला आर्थिक सशक्तीकरणका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै लगानी, साझेदारी र व्यावसायिक अभ्यासमा देखिने परिवर्तनमार्फत उपलब्धि मापन गर्नुपर्ने बताए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले अन्तरक्रियात्मक कार्यशालामार्फत महिला सशक्तीकरण कार्ययोजना (डब्लूईपीएस कार्यसूची) सहनिर्माण गरेका थिए। उक्त कार्यसूचीमार्फत सरकार, व्यवसाय, वित्तीय संस्था तथा विकास साझेदारबीच सहकार्य बढाउँदै महिलामैत्री, समावेशी र दिगो अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यूएन वुमन र संयुक्त राष्ट्रसंघीय ग्लोबल कम्प्याक्टद्वारा स्थापित महिला सशक्तीकरण सिद्धान्तले कार्यस्थल, बजार र समुदायमा लैंगिक समानता प्रवद्र्धन गर्न व्यवसाय तथा संस्थाहरूलाई मार्गदर्शन प्रदान गर्दै आएको छ। विश्वभर १३ हजारभन्दा बढी कम्पनी यस सिद्धान्तमा आबद्ध छन् भने नेपालमा ७० भन्दा बढी कम्पनीले यसको समर्थन गरेका छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal