(Tuesday , 23 June,2026)

भट्टलाई व्यावसायिक लाभ हुने गरी सघाएको आरोपमा पूर्वअर्थमन्त्री पौडेल पक्राउ

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथां पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘दीपक भट्टको व्यवसायलाई लाभ पुर्‍याउने गरी काम गरेको देखिएको छ । त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पूर्वअर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ ।

सस्तोमा सेयर बिक्री गरेबापत मलाई के लाभ हुन्छ ? भन्ने व्यापारीको प्रश्नमा पूर्वअर्थमन्त्री पौडेलले चार वटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन् । आश्वासन दिएकोमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेलामा सम्पन्नसमेत गरेका रहेछन् । केही पूरा नभएको भन्ने बयान नै प्राप्त भएको छ । त्यसका आधारमा उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो ।’

अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति ‘पार्किङ’ पनि गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् । ‘भट्टको कम्पनीलाई सस्तोमा सेयर प्राप्ति, त्यसबापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा जेन–जी आन्दोलन भएको देखिन्छ,’ ती अधिकारीले भने, ‘त्यसका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ ।’


स्रोतका अनुसार पौडेलले अनुसन्धान भइरहेको जानकारी पाएपछि केही सरकारी अधिकारीलाई भेटेर प्रस्ट्याउने प्रयास गरेका थिए । ‘यो कुरा प्रधानमन्त्री कार्यालयसम्म पुग्यो,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘त्यसपछि रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार दुई घण्टाभित्र पौडेललाई पक्राउ गर्न निर्देशन दिए ।’ सोही निर्देशनका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतस्थित प्रहरीलाई पत्राचार गर्‍यो ।

पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए । सोही समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो । कर्णाली प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले पौडेललाई गाडीबाटै काठमाडौं लगिरहेको बताए । अपराह्न सवा ५ बजे पक्राउ परेका पौडेललाई नेपालगन्जबाट जहाजमा पठाउने तयारी गरे पनि उडानको समय नभ्याउने भएकाले गाडीबाट लगिँदै गरेको उनले जानकारी दिए ।

सरकारले विभिन्न आर्थिक अपराधविरुद्ध भट्ट र शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकलगायत विभिन्न व्यापारीविरुद्ध २८ जेठमा एकै दिन तीन अदालतमा मुद्दा दायर गरिसकेको छ । जिल्ला अदालत काठमाडौंमा धितोपत्र कसुरमा ८१ र बिमा कसुरमा ४२ जनाविरुद्ध मुद्दा चलाइएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा ३९ जनाविरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र शाहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टविरुद्ध चारवटै कसुरमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिमा ऐनअन्तर्गतको कसुरमा ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २७, धितोपत्र ऐनबमोजिम कसुरमा १ अर्ब १४ करोड ८६ लाख ९ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।

विशेष अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा भट्ट र सुलभ अग्रवाललगायत ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । यही कसुरमा पूर्वअर्थमन्त्री पौडेल पनि अनुसन्धानको दायरामा तानिएका हुन् । ‘उनले मध्यस्थता गरेको भन्ने विवरण व्यापारीहरूकै बयानबाट खुलिसकेको छ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेल ३१ असार २०८१ मा आठौं पटक मन्त्री बनेका थिए । पाँच पटक अर्थ मन्त्रालय सम्हालेका पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् । पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थमन्त्री बनेका थिए । यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथो पटक ०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेका पौडेल पछिल्लो पटक असार २०८१ मा अर्थमन्त्री बनेका हुन् । पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए ।

६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेलले ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थ मन्त्रालय मात्रै सम्हाले ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस् वा गठबन्धन सरकारमा होस् मन्त्री बन्ने अवसर पाइरहे । पौडेल एमालेको तीन वर्षअघि भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रूपन्देहीबाट निर्वाचित हुँदै आएका थिए । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए ।

पौडेलको पक्राउप्रति एमालेले विज्ञप्ति निकालेर विरोध जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै ‘पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति निन्दा र भर्त्सना‘ गरेको छ । ‘नेकपा (एमाले) सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ ।

वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’ एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख रहेको आरोपसमेत लगाएको छ । ‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौं– विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुरबाट सभार 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal