काठमाडौं। नेपालको सहकारी क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले सहकारी अभियानले महिलाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
महासंघद्वारा आयोजित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारीमार्फत महिलाहरूले कृषि, घरेलु तथा साना उद्योग स्थापना गरी उत्पादन, बजारीकरण र आयआर्जनमा उल्लेखनीय प्रगति गरेको बताए ।
उनका अनुसार हाल सहकारीका कुल सदस्यमध्ये ५६ प्रतिशत महिला आबद्ध छन्। त्यस्तै, सञ्चालक समितिमा ४० प्रतिशत र व्यवस्थापन तहमा २० प्रतिशत महिलाको सहभागिता रहेको छ। सहकारी क्षेत्रबाट सिर्जना भएका रोजगारीमध्ये करिब ५० प्रतिशत महिलाले प्राप्त गरेका छन्।
डा. थापाले सहकारीमार्फत ४ सयभन्दा बढी उद्योग सञ्चालन भइरहेको जानकारी दिँदै महिलाहरूमा वित्तीय पहुँच, सम्पत्तिमाथिको अधिकार तथा पारिवारिक निर्णय प्रक्रियामा प्रभावकारी भूमिका बढेको बताए। महिलाहरू आर्थिक रूपमा सक्षम बन्दै जाँदा परिवारको आयस्तरमा सुधार हुनुका साथै बालबालिकाको शिक्षा र जीवनस्तरमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ थियो।
उनले सहकारी क्षेत्रको थप विकासका लागि नीतिगत तथा कानुनी संरचना बलियो बनाउन आवश्यक रहेको औँल्याए। सहकारीमैत्री कानुनको अभाव, प्रभावकारी नियमनको कमी, नियामक निकायबीच समन्वयको अभाव तथा सदस्यहरूमा सहकारी शिक्षा र कानुनी ज्ञानको कमीका कारण सहकारी क्षेत्र अपेक्षित रूपमा व्यवस्थित हुन नसकेको उनले बताए।
नेपालमा हाल ३२ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै उनले ती संस्थाहरूले करिब १० खर्ब रुपैयाँ पुँजी संकलन गरी ९ खर्बभन्दा बढी रकम परिचालन गरिरहेको जानकारी दिए।
सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले ऋण लगानी गर्दा ऋणीको व्यवसायिक क्षमता, परियोजनाको सम्भाव्यता तथा आवश्यक कागजातको पर्याप्त मूल्याङ्कन गर्नुपर्ने सुझाव दिए। सदस्यहरूले जम्मा गरेको बचत सुरक्षित र प्रभावकारी रूपमा परिचालन गर्न समग्र जोखिम विश्लेषण आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा महासंघकी सल्लाहकार डा. उषा झाले सहकारी क्षेत्रले महिलालाई नेतृत्व विकास, अनुभव आदानप्रदान तथा निर्णय प्रक्रियामा सहभागी हुने महत्वपूर्ण अवसर प्रदान गरेको बताइन्। उनले महिलामैत्री वातावरण निर्माण गर्दै नेतृत्व तहमा महिलाको सहभागिता अझ बढाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार सहकारी क्षेत्रमा ४० प्रतिशत महिला नेतृत्वको उपस्थिति आफैंमा महत्वपूर्ण उपलब्धि हो। सम्मेलनले देशभरका महिलाहरूलाई एकै स्थानमा भेला गराई अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै उनले यसलाई महिला सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिन आग्रह गरिन्।
प्रतिक्रिया