काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।
सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराउनेछन् । कांग्रेसका समानुपातिकतर्फका सांसद केसीलाई राष्ट्रपतिले बुधबार शपथ गराएका थिए ।
प्रतिनिधिसभाको सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया