काठमाडौँ — नयाँ संसद् भवनको निर्माण १६ असोज २०७६ मा ठेक्का भए अनुसार १६ असोज २०७९ भित्रै सक्नु पर्थ्यो । तर छैटौं पटक म्याद थप गर्ने तयारी हुँदै गर्दा पनि निर्माणको काम सकिएको छैन ।
सहरी विकास मन्त्रालयले २०७९ मा निर्वाचित हुने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने गरी नयाँ संसद् भवनको ठेक्का लगाएको थियो, तर २०८२ को निर्वाचनपछि नयाँ संसद् बैठक बस्ने बेलासम्म भवन पूर्णरुपमा तयार हुन सकेन ।
पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको अपुरो संसद् भवनमा आज २७५ जना सांसदले शपथ लिँदै छन् । संसद् भवनको अनुगमनमा राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन सभामुख देवराज घिमिरे लगायत धेरै पुगे। विषयगत संसदीय समितिका सभापति, सदस्यहरुले समेत संसद् भवनको स्थलगत अनुगमन गरेर छिटो काम सक्न निर्देशन दिएका थिए। सहरी विकास मन्त्री फेरिएपिच्छे पहिलो काम नै संसद् भवनको अनुगमन गरेर छिटो काम सक्न निर्देशन दिने नै हुन्थ्यो ।
तर न निर्माण व्यवसायीले टेरे, न काम नै सकियो । अहिलेसम्म प्रतिनिधि सभाको हल तयार भएन । हल तयार नहुँदा राष्ट्रिय सभाकाे बैठक पनि सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सभा सञ्चालन गरिएको छ ।
संसद् भवन तयार नभएपछि त्यही रहेको तीन सय क्षमताको बहुउद्देश्यीय हल रातारात तयार पारेर निर्वाचित सांसदलाई सपथ खुवाउन लागिएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभासहितका १२ वटा भवन तत्काल तयार हुने छाँटकाँट भने छैन । यो कुरामा संघीय संसद् सचिवालयले समेत हार खाइसकेको छ ।
जसोतसो चलाउनेगरी हल तयार भएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए । ‘२ सय ७५ जनाकै शपथ यही हलमा हुन्छ,’ उनले भने, ‘अहिलेलाई यसको विकल्प छैन,केही समय संसद्को काम कारबाही यही हुन्छ ।’ अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिन भित्र वा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान भएपछि मात्र संसद् अधिवेशन सुरु हुन्छ ।
‘अहिलेसम्म अधिवेशन आह्वान भइसकेको छैन,’ उनले भने, ‘त्यसकारण कहिले पहिलो बैठक हुन्छ भन्न सकिएन ।’ शपथकालागि भने हल तयार पारीसकिएको छ । दसैंलगत्तैबाट संसद् भवन निर्माणको काम छिटो सक्न दबाब दिँदै आए पनि त्योअनुसार काम हुन नसकेको संसद् सचिवालयका सहसचिव प्रवक्ता गिरीको भनाइ छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले भवन निर्माणको काम पूरा भएपछि हस्तान्तरण चाँडै हस्तान्तरण गरिने बताए।‘जेठको पहिलो हप्तासम्म संसद् भवन तयार पारेर हस्तान्तरण गरिसक्छौं,’ उनले भने, ‘इन्टेरियरतर्फ फलसिलिङको काम भइरहेको छ, रंगरोगन र भवन परिसरमा सडक कालोपत्रको काम पनि गर्दैछौं ।’
उनका अनुसार भवनको मुख्य–मुख्य काम सकिसकेको छ । पहिला ६०/६५ जनाले काम गर्दा निर्माणको गति सुस्त रहेपनि अहिले ४ सय ३० जनाले काम गरीरहेको उनले जानकारी दिए।
संसद् भवन निर्माणको ठेक्का मात्र ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा बनाइसक्ने गरी तुन्दी–सेक जेभीले लिएको हो । सुरुको म्यादभित्र काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो, तर काम सकिएन ।
दोस्रो पटक १९ असोज २०८० सम्म, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौं पटक १६ पुस २०८२ सम्म म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम नसकिएपछि फेरि छेटौं पटक थोरै समयका लागि म्याद थप्ने तयारी हुँदै छ ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवनको निर्माण गरिएको हो । नयाँ भवन पाँच तलासम्मका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, ‘सेन्ट्रल लबी’, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ ।
संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसद् सचिवालय भवन, चमेनागृह, प्रेस र छपाइ भवन छुट्टै बनाइएका छन् । चार सय ७६ वटा चारपांग्रे र आठ सय वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्ने गरी पूर्वाधार तयार पारिँदै छ ।
सुरक्षाकर्मी बस्ने भवन पनि निर्माण गरिएको छ । ‘रुफिङ’ को छुट्टै ठेक्का चेनलिंक इन्जिनियरिङ कम्पनीले ३ करोड ७९ लाख रुपैयाँमा लिएको छ । २७ फागुन २०८० मा भएको ठेक्काअनुसार म्याद माघ मसान्तसम्म भए पनि काम सकिएको छैन ।
‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले लिएको थियो । यसमा ठेक्का रकम २ अर्ब ३४ करोड ५४ लाख छ । यसको काम असार २०८१ भित्र सक्ने गरी १७ असार २०८० मा सम्झौता भएको थियो ।
पछि समय थप गरेर १६ चैत २०८१ सम्म पुर्याइए पनि काम नसकिएपछि पुनः १६ पुस २०८२ सम्म म्याद थपियो । तर काम नसकिएपछि म्याद थप्ने तयारी हुँदै छ । यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २४ भदौमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । त्यसपछि संसद् सचिवालयले केन्द्रसँगको सम्झौता नवीकरण गरेन । अहिले उक्त अवन अलपत्र अबस्थामा छ। कान्तिपुर
प्रतिक्रिया