जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले धापासी निमावि, फैमालचुली केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले आफैंलाई मत हाल्न भने पाउने छैनन् ।
नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन् । ओलीले दिउँसो साढे ११ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ । ओली गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन् । त्यसैले उनले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् ।
ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । उनले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्ने छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान ७ बजे मतदान गर्न जाने उनको सचिवालयले जनाएको छ ।
यसैगरी रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गर्ने छन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले पनि आफूलाई मतदान गर्न पाउँदैनन् ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ । उनले पनि आफैंलाई मतदान पाउँदैनन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
नेकपा सहसंयोजक माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्दैछन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज बिहान ७ बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया